बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब्बल बन्दै गुल्मी अस्पताल, बढ्दै बिरामी

मङ्गलबार, १४ असार २०७९, ०८ : ४३
मङ्गलबार, १४ असार २०७९

सोमबार गुल्मी सदरमुकाम तम्घासमा झिमझिम पानी परिरहेको थियो । टाढा टाढाबाट उपचार गर्न गुल्मी अस्पताल पुगेका बिरामीहरु गएका बिरामीहरु हालै निर्माण भएको प्रतिक्षा कक्षमा कुर्सीमा बसेर पालो कुरीरहेका थिए । त्यही पंक्तिमा अशक्त जस्तो देखिने एकजना महिला लौरो कुर्चि छेउमा अडाएर आफ्नो पालो कुरेर बसिरहेकी एकजना महिलाले भन्दै थिइन्, ‘पहिले त चर्को घाम र झरि नभनी उभिनुपर्थाे, अहिले त अर्कै बनाएछन् ।’

गत ८ वर्षदेखि सुगर र प्रेसरको विमारले पीडित भएको बताउने अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ भगवती गाउँकी उनले सँगै बसेकाहरूसँग उनले घर अर्घाखाँची भएपनि जन्मेदेखि अहिलेसम्म तम्घास अस्पतालकै भर पर्नुपरेको बताइन् । ६० वर्ष उमेर पुगेकी उनले पहिलाभन्दा अलि भिड बढेको सुनाइन्।  माइकमा आफ्नो टोकन नम्बर सुनेपछि सहयोगी सहित उनी ओपिडी तर्फ लागिन् । यतिबेला त्यस अस्पतालमा टोकन सिस्टम लागू भएको हुनाले बिरामीहरु पालैपालो टिकट पाउने गर्छन ।

बिरामी प्रतिक्षा कक्षमा  कुर्सीमा उप्परखुट्टी लगाएर बसेका गुल्मीको निकै दुर्गम गाउँ मालिका गाउँपालिका १ नेटाका भारतीय सेनाका पेन्सनर ७७ वर्षीय बृद्ध धनबहादुर पुन उनी हिन्दी लवजमा ‘कुछ सुध्रेछ’ भन्दै थिए । के सुध्रियो बुबा भनेर सोध्दा उनले २०७२ सालदेखिको भोगाइ सुनाए। विगतमा घण्टौंसम्म लाइनमा बस्ने पछि आउने टाठा बाठा चाहिँ पहिल्यै जँचाएर जाने गरेको भोगाइ उनले सुनाए ।

अबेरसम्म पनि जँचाउन आउनेको भिड थियो । कुनै समय गरिबहरुको मात्रै अस्पताल हो भन्ने मानसिकता तोड्ने मध्येका एक पात्र थिए उनै पेन्सनवाला लाहुरे धनबहादुर पुन । त्यसो त सदरमुकाम तम्घासकै व्यापारी व्यवसायीहरु पनि उपचार गराउन आइरहेका थिए । निर्माण व्यवसायी राजु पाण्डे श्रीमतीलाई सुत्केरी व्यथा लागेर ल्याएको बताउँदै थिए ।

केही समय यता गुल्मी अस्पतालमा बिरामीहरुको भिड बढेको अस्पताल प्रशासन बताउँछ । आजभोली दैनिक देखि  ३ सय  देखि ५ सय  सम्म  बिरामी बहिरंग विभाग (ओपिडी)मा आउने गरेका छन् ।

निकै सुधार भएको पाएँ : वडाध्यक्ष पन्थी

गुल्मी अस्पतालमा विगतमा जँचाउने, निःशुल्क औषधी भए दिने नत्र ल्याब टेष्टका लागि नीजि क्लिनिक वा बाहिर जिल्ला जानुपर्ने बाध्यता रहेको अस्पतालमा अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा जत्तिकै ल्याब परिक्षण गर्ने सुविधा छ ।

अस्पतालमा टोकन प्रणाली अनुसार बिरामीले टिकट लिने व्यवस्था छ । अस्पताल परिसर चिटिक्क सफा सुग्घर छ । स्वास्थ्य बीमा र सामाजिक सेवा एकाइको सेवाका लागि टिकट काउण्टर नजिकै व्यवस्था गरिएको छ । जसले गर्दा पुरानो साँघुरो भवनमा पनि प्रभावकारी उपचार सेवा पाएको महसुस बिरामीले गरेका छन् ।

आफूले अहिले अस्पताल परिसरको सरसफाई, उपचार जाँच सेवा, बेडहरुको व्यवस्थापन राम्रो रहेको पाएको रेसुङ्गा नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामप्रसाद पन्थी बताउँछन् । ‘मैले आजभोली सरसफाईँ, उपचार सेवा देखि स्वास्थ्यकर्मीले बिरामी र कुरुवासँग गर्ने व्यवहार, विरामीलाई दिने सल्लाह र परामर्शसम्म निकै राम्रो भएको पाएको छु’, उनले भने, ‘म आफन्तको उपचारको क्रममा १०÷१२ दिन दैनिक जसो अस्पताल पुग्दा विगतमा पाल्पा, बुटवल जानुपर्ने बिमारीहरु पनि यहीँ नै राम्रोसँग उपचार भएको देख्दा यो अस्पताल लुम्बिनी प्रदेशमै अब्बल छ जस्तो लाग्यो ।’

वडाध्यक्ष पन्थीले आयआर्जन कम भएका सिटामोल किनेर खान नसक्नेहरुलाई त सरकारी अस्पतालको विकल्प नै छैन, पहिला पहिला उपचारका लागि निजी क्लिनिकहरूमा जानेहरूसमेत अहिले सरकारी अस्पतालमै भिड लाग्ने गरेको आफूले देखेको बताए । ‘मैले पनि बाहिर उपचारका लागि जान चाहनेलाई एकपटक गुल्मी अस्पतालमा देखाउन सुझाव दिने गरेको छु’, उनले भने, ‘सरकारी अस्पतालमा अव सिटामोल र निःशुल्क औषधीका लागि मात्र जाने होइन, राम्रो उपचारका लागि पनि जाने वातावरण बनेको छ ।’  

पछिल्लो समय सुधारको क्रममा रहेको गुल्मी अस्पतालमा गत चैतमा पत्रकारिता क्षेत्रबाट अध्यक्ष नियुक्त भएर आएपछि अस्पतालमा उल्लेख्य सुधार र परिवर्तन देखिएको स्थानीयको भनाई छ । ‘समाजमा सकारात्मक सुधार हुनुपर्छ भनेर कलम चलाएको व्यक्ति आएर पनि होला, पत्रकार अध्यक्ष भएपछि अस्पतालमा सुधारका धेरै कुरा देखिएका छन्,’ रेसुङ्गा नगरपालिका २ का खड्ग श्रेष्ठले भने ।

लुम्बिनी प्रदेशमै उत्कृष्ट ल्याब सेवा
सरकारबाट ५० सैयाको अस्पतालको अनुमति पाएपनि नयाँ भवन नभएकोले गुल्मी जिल्ला अस्पतालले पुरानो साँघुरो भवनमा सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ । तर पनि विभिन्न मूल्यांकनहरुमा लुम्बिनी प्रदेशमै उत्कृष्ट मध्येमा रहेको गुल्मी अस्पताल ल्याब परिक्षण सेवामा पनि उत्कृष्ट रहेको ल्याब शाखा प्रमुख लक्ष्मण पन्थीले बताए । ‘हामीकहाँ रगत मार्फत शरीरको कुनै भागमा भएको ट्युमरको जाँच, ठूलोआन्द्राको ट्युमर, बाथरोग जाँच, प्रजनन क्षमता सम्बन्धि हर्मोनको जाँच, रक्तअल्पता सम्बन्धि जाँच लगायतको  परिक्षण हाम्रोमा हुन्छ’, उनले भने, ‘लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच हुने मासु काटेर गरिने परिक्षण बाहेक अरु सबै परिक्षण हामीले गर्छौ, अन्य जाँच प्रादेशिक अस्पतालमा भन्दा पनि धेरै छ ।

उनका अनुसार विशेष परीक्षणमा रक्तअल्पता, सम्बन्धी विशेष परीक्षण, ट्युमर मार्कर (क्यान्सर सम्वन्धि जाच) जसमा कलेजोको ट्युमर पत्ता लगाउने जाच, पाठेघर को ट्युमर पत्ता लगाउने जाच, ठुलो आन्द्राको ट्युमर सम्वन्धि जाच, प्रोस्टेट को ट्युमरको जाच, पिट्युटरी ग्रन्थीको ट्युमर सम्वन्धी जाच उपलब्ध छन् । त्यस्तै थाइराइड रोग सम्वन्धी जाच, थाइराइड बढ्नुको कारण पत्ता लगाउनु गरीने जाच, प्रजनन क्षमता जाच, जसमा विभिन्न हर्मोनको परिक्षण, भिटामिनको कमि भए नभएको परीक्षण,  बाथरोग सम्वन्धी विशेष परीक्षण, मधुमेह सम्वन्धी विशेष जाच, नियन्त्रणमा नराखिएको मधुमेहले मृगौलामा असर के कति पु्र्याएको छ भनि थाहा पाउनु गरिने विशेष परीक्षण, शरीरमा रगत बढी जमेर नजम्ने समस्याको कारण पत्ता लगाउनु गरीने विशेष जाच हुने गर्दछ ।

त्यस्तै इन्फेक्सन भए नभएको पत्ता लगाउनु गरीने विशेष परीक्षण, गर्भ रहे नरहेको पत्ता लगाउनु गरिने रगत परीक्षण, इन्फेक्सन गराउने जिवाणु पत्ता लगाएर त्यस जीवाणुलाई कुन औषधिले निर्मुल पार्न सकिन्छ भनेर छुट्ट्याउनको लागी गरीने परीक्षण, हैजा सम्वन्धी परीक्षण, ग्याष्ट्रीक गराउने व्याक्टेरीयाको कारण ग्याष्ट्रीक भएको हो वा अरू कारणले छुट्याउनु गरीने परीक्षण हुने गर्दछ । 

अध्यक्षबाट सहयोग मिलेको छ : मेसु डा. पच्या
अस्पतालका प्रमुख मेसु डा. उत्तम पच्याले आफूहरुले गर्न थालेको काम र विरामीलाई सेवा दिने विषयमा विसका समितिका अध्यक्षबाट राम्रो सहयोग र समन्वय भएको बताए । व्यवस्थापकीय पक्ष, जनशक्ति व्यवस्थापन, प्रदेशसँगको समन्वय लगायतका विषयमा गहन छलफल हुने र समस्या समाधानका लागि पहल भएको उनको भनाई छ । उनले प्रदेशका स्वास्थ्यमन्त्री सँग पनि यो समस्या राखेको बताए ।

अस्पतालमा केहीदिन अघिमात्र ३ जना मेडिकल अधिकृत (एमबीबीएस) थपिएको र विशेषज्ञ डाक्टरको अभाव कायमै रहेको बताउँदै उनले संघ र प्रदेशमा त्यसका लागि आफूहरुले पहल गरेको बताए । जसमध्ये ३ जना लुम्बिनी प्रदेशबाट छात्रवृत्ति करारमा र ३ जना गुल्मी अस्पतालबाटै करारमा नियुक्त भएका छन् ।

केहीदिन अघि अस्पतालको अनुगमनका लागि आएका लुम्बिनीका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले व्यवस्थापकीय पक्षमा गुल्मी अस्पताल उत्कृष्ट भएको बताउँदै विशेषज्ञ डाक्टर उपलब्ध गराउने आश्वासन दिएका थिए । ‘विशेषज्ञ डाक्टर पाउन गाह्रो भैरहेको छ, फकाउनै पर्ने अवस्था छ’, हामीले पनि पनि उचित सेवा सुविधा दिएर विशेषज्ञ पठाउन पहल गर्छौ, स्थानीय स्तरबाट पनि प्रयास गर्नुपर्छ।’

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेय सकेसम्म गुल्मी जिल्लाका बिरामीलाई सामान्य उपचारको लागि बाहिर जिल्ला जान नपरोस् र संविधानले व्यवस्था गरे अनुसारको आधारभूत स्वास्थ्य सेवाबाट जनता बञ्चित हुनु नपरोस भनेर आफूहरु लागि परेको बताए । गत चैतमा अध्यक्ष नियुक्त भएदेखि यहाँको जनशक्तिको भरपूर उपयोग गरी प्रभावकारी र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि लागिरहेको उनको भनाई छ ।

पाण्डेको नियुक्तिपछि अस्पतालमा टोकन प्रणाली लागू भएको छ भने बिरामीलाई प्रतिक्षा कक्ष स्थापना गरीएको छ । त्यस्तै अस्पतालको सरसफाइलाई प्रमुख प्राथमिकतामा राखेको र बीमा तथा सामाजिक सेवा इकाइमा जानुपर्र्ने बिरामीलाई अप्ठ्यारो नहोस भनेर टिकट काउण्टर नजिकै कोठा निर्माण गरी सेवा उपलब्ध गराउन थालिएको छ ।

‘बिरामीलाई गुणस्तरीय उपचार सेवा सहज रुपमै उपलब्ध गराउने व्यवस्था गर्नु समितिको दायित्व हो, त्यसकै लागि म लागिपरेको छु’, उनले भने, ‘अब जनशक्ति व्यवस्थापन गरी आईसीयु सेवा सञ्चालन, विशेषज्ञ सेवा, डायलाइसिस सेवा र ओपिडीमा जाँचका लागि टाढाबाट आएका बिरामीलाई सोही दिनै घर उपचार गरेर घर फर्कन सक्ने व्यवस्था गर्नका लागि लागिरहेका छौँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप