शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल बालकलाकारहरु : कोहीलाई घर, कोही सडकको भर

मङ्गलबार, १४ असार २०७९, २३ : १७
मङ्गलबार, १४ असार २०७९

पछिल्लो समय मिडियादेखि सामाजिक सञ्जालसम्म बालगायक सचिन परियार भाइरल बनेका छन् । चर्चाको विषय भने गायन नभएर उनको अहिलेको अवस्था बनेको छ । उनको मानसिक अवस्थासमेत पहिलेझैँ नरहेको भन्दै माग्दै हिँडेको भिडियो समाचार केही युट्युबरले बनाएका थिए । उनको त्यो अवस्थाको जिम्मेवारको रूपमा लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’, उनको दोहोरी तथा अन्तर्वार्ता राख्ने युट्युब र उनका बुबा तेजेन्द्र सामाजिक सञ्जालको तारो बनेका छन् ।

हुन त इन्द्रेणी कार्यक्रमले सचिनलाई काठमाडौँ पढ्ने र बस्ने व्यवस्था समेत मिलाएको थियो । त्यो समेत छुटाएर पिता तेजेन्द्रले माग्न लगाएको धेरैको आरोप छ । सचिनको पछिल्लो अवस्था हेर्दा समेत त्यो झल्किन्छ । सचिनका बुबा तेजेन्द्र भने छोराको अवस्था बाहिर आएजस्तो नभएको बताउँछन् । 

दुई वर्ष अगाडि लोकदोहोरी गाएर चर्चामा छाएका सचिनको पछिल्लो अवस्थालाई लिएर धेरैले बालगायक, गायिकाको अवस्था सचिनझैँ हुन सक्ने अनुमान गर्छन् । यद्यपि भाइरल भएका सबैको अवस्था भने त्यस्तो छैन । भाइरल बालगायकहरुको कसको अवस्था कस्तो छ ? रातोपाटीले खोतलेको छ । 

आयुशा गौतम:

७ वर्षको उमेरमा गीत गाएर चर्चामा छाएकी आयुशा गौतम अहिले अध्ययन र गीत, संगीतलाई एकसाथ अगाडि बढाइरहेकी छन् । काठमाडौँ, गोठाटारस्थित अक्षरिका स्कुलमा कक्षा ५ अध्ययनरत उनी  गायनको अलावा म्युजिक भिडियोमा समेत अभिनय गर्दै चारैतिर हाइहाइ छिन् । 

पहिलो प्राथमिकता अध्ययन र त्यसपछि बचेको समय गीतसंगीतलाई दिने गरेको उनका बुबा लेखनाथ गौतम बताउँछन् । ‘छोरीले अहिलेसम्म देखाएको प्रतिभा नेचुरल हो । अब संगीत पनि सिक्नुपर्छ भनेर सिकाउने तयारीमा छु’ लेखनाथले भने । 

आयुशा अहिले १० वर्षकी भएकी छन् ।  यस बिचमा ३० बढी गीत गाएकी उनले म्युजिक भिडियोमा अभिनयको २० देखि २५ हजार र गायनको १० हजारसम्म पाउने गरेकी छिन् । इन्द्रेणीमार्फत् १२ कक्षासम्म पढ्न स्पोन्सर पाएकी उनले कमाएको पैसा सबै उनको नाममा बचत गरिदिएको बुबा लेखनाथ बताउँछन् । 

अशोक दर्जी:

झापाको दमक नजिकै भालुखोलाको गरिब परिवारमा जन्मिएका अशोक दर्जी एक समय गीत गाएर भाइरल भएका थिए । ३ वर्षको उमेरदेखि नै गाउन थालेका उनी आर्थिक अवस्थाका कारण सडक छेउमा गाएर पैसा संकलन गर्थे । स्कुलसमेत छाडेर स्थानीय बजारमा गाउँदै हिँड्ने उनी अहिले करिब ५ वर्षदेखि गायक तथा संगीतकार टंक बुढाथोकीको घरमै संरक्षणमा छन् । 

टंककै ‘मन बिनाको धन ठूलो कि’ गीत गाएर सर्वत्र चर्चा कमाएका उनी अहिले काठमाडौँ, तीनकुनेको एप्पल इन्टरनेशनल स्कुलमा कक्षा ५ अध्ययनरत छन् । अशोकको मात्र हैन, उनको परिवारको समेत अहिले अवस्था राम्रो भएको संगीतकार बुढाथोकी बताउँछन् । ‘मसँग भएपछि गीतसंगीतमा राम्रो त हुने नै भयो,’ बुढाथोकीले भने ‘अध्ययन समेत राम्रो छ अहिले ।’ दर्जीको आफूले संरक्षण लिएको समय कुरा काट्नेहरु अहिले प्रसंशा गर्न थालेका छन् । त्यो देख्दा खुसी लागेको बुढाथोकीले सुनाए ।

कमला घिमिरे:

केही वर्ष अगाडि दोहोरी गाएर भाइरल भएकी थिइन् धादिङकी बालिका कमला घिमिरे । ११ वर्षकी हुँदा भाइरल भएकी उनी अहिले १४ वर्ष पुगेकी छन् । उनी अहिले धादिङको डामगाडे माविमा कक्षा ९ मा पढ्दैछिन् । गीतसंगीतबाटै कमलाको अवस्था राम्रो भएको उनकी आमा देवकी घिमिरे बताउँछिन् ।

उनी अहिले गीतसंगीत, म्युजिक भिडियो र अध्ययन एकसाथ अगाडि बढाएकी छिन् । अध्ययनले गर्दा भिडियो सुटिङ युनिट स्थानीय स्तरमै पुगेर उनलाई बिदाको दिनमा काम गराउन गरेका छन् ।

‘अध्ययनबाट बचेको समय उनी गीत संगीतमा दिन्छिन्’ देवकीले भनिन्, ‘उनले कमाएको पैसा हामीलाई चाहिएको छैन । उनी आफ्नै अध्ययन र आवश्यकतामा खर्च गर्छिन् ।’ शनिबारको समय भने मेला महोत्सव र गीत रेकर्डिङमा दिने गरेकी कमलालाई पारिश्रमिक समेत राम्रै प्राप्त हुने उनको आमाको भनाई छ । 

प्रेम परियार:

१३ वर्षको उमेरदेखि धादिङको मलेखु सडकमा गीत गाउँदै हिँड्थे प्रेम परियार । केही संगीतकर्मीले उनलाई काठमाडौँ ल्याए । 

यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ

देखाउन पो त गाह्रो  जीवनमा तिमी छ्यौ,

‘नाइँ नभल्नु ल २’ को गीत उनलाई निर्देशक विकास आचार्य र संगीतकार वसन्त सापकोटाले गाउन लगाएका थिए । त्यसपछि रातारात हिट भएका उनले अध्ययन, गायन दुबैमा अवसर पाए ।

अहिले २३ वर्षको भएका छन् प्रेम । हल्का फुल्का गीतहरू गरिरहेको बताउने उनी स्नातक अध्ययनरत छन् । पढाइका कारणले काम थोरै गरिरहेको बताउने उनले करिब १५ वटा गीत गाएका छन् । पछिल्लो समय आफै कमाउँदै अध्ययन गरिरहेको उनले सुनाए । ‘पहिले जस्तो मेरो क्रेज छैन । त्यो क्रेज फर्काउन एउटा गीत ल्याउँदैछु,’ उनले थपे ।

विक्रम कार्की:

केही वर्ष अगाडि गीत गाएर भाइरल भएका थिए विक्रम कार्की । भाइरल हुँदा उनी १३ वर्षको थिए । अहिले भने १९ वर्षको भएका छन् । बेबीलोन इन्टरनेशनल स्कुल शान्ति नगरबाट एसईई दिएर बसिरहेका उनले गायन छाडेका छैनन् । सानोमा विभिन्न कार्यक्रममा गीत गाउँदै हिँड्दा युट्युबरहरुको नजरमा परेर भाइरल भएका उनको ५ गीत रेकर्ड भएका छन् । 

‘फिल्म र बाहिरका गीतको अहिले धेरै अफर आउन थालेको छ,’ कार्कीले भने, ‘कलेजसँगै अव गायनलाई समेत निरन्तरता दिने छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप