बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विश्वराजलाई म्याद तामेल गर्ने तयारी, राष्ट्र बैंकलाई मौद्रिक नीतिको दबाब

मङ्गलबार, १४ असार २०७९, २१ : ०२
मङ्गलबार, १४ असार २०७९

आज २०७९ असार १४ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजको मुख्य समाचारहरुमा वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा, तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै नेपाल आयल निगम, डुबानका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित, एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’, मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक लगायत रहेका छन् ।

१. वामदेवको नयाँ पार्टी

वामदेव गौतम नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरिएको छ।  मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ।  पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी  दिइएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जनकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्ने गरी सदस्य राखिने गौतमले जानकारी दिए । 

२. समाजवादी केन्द्रको बहस

कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा केन्द्रीत गर्ने उद्देश्यले पुनः समाजवादी केन्द्र बनाउने बहस सुरु भएको नेताहरुले बताएका छन् । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख व्यवस्था हुने परिकल्पनासँगै कम्युनिस्ट पार्टीहरू समाजवादी केन्द्र बनाउनेतिर लागेका हुन् । समाजवादी केन्द्र बनाउने बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छलफल र बहसमा जुटेका हुन् ।

३. एकीकृत समाजवादीको बैठक

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । 

४. टाट पल्टियो आयल निगम

भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम पूर्णरूपमा टाट पल्टेको छ । लामो समयदेखि घाटामा पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेको निगम पूर्णरूपमा टाट पल्टिएको हो । यससँगै, केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने भएको छ । खासगरी, अर्थ मन्त्रालयले निगमलाई सोधभर्ना गर्नुपर्ने ३ अर्ब रुपैयाँका लागि निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा बैंकमा धितो राख्न लागेको हो ।

५. विश्वराज पोखरेल थप संकटमा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका  छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।

६. मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भएसँगै यता राष्ट्र बैंकमाथि पनि मौद्रिक नीतिको दबाब बढेको हो । मौद्रिक नीतिकै लागि अहिले राष्ट्र बैंकले सरोकारवाला पक्ष, निकाय तथा व्यक्तित्वहरुसँग राय, सल्लाह सुझाव माग गरिरहेको छ । तर, मौद्रिक नीतिकै लागि भनेर अहिले नै कुनै औपचारिक छलफल तथा भेटघाट भने भइनसकेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन् । 

७. खाद्यान्नको महँगी घट्ला ?

सरकारले पछिल्लो समय निरन्तर उकालो गतिमा रहेको पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार कर कटौती गर्ने सर्तसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्य घटाउने घोषणा गरेको हो ।


८. वामदेवको नयाँ पार्टी

सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । 

९. विराटनगर डुबानमा

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । 

१०. जेल गइन् भावना

हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप