बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाका स्थानीय तह विपद् पूर्वतयारीमा जुट्दै

बुधबार, १५ असार २०७९, ०७ : ४१
बुधबार, १५ असार २०७९

जुम्लाका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका हुन् । 

जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाख देखि ५० लाख सम्म बजेट विनियोजन गरेका छन् ।  जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा जुम्लाका आठै स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।

पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए। उनले भने 'विगतमा समन्वय नहुँदा जोखिम न्यूनीकरण तथा राहत उद्धारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुत देखिएन । मनसुन भित्रिन थालेको छ । योजना सहितको पूर्वतयारीमा सबै स्थानीय तह एकजुट हुनु आवश्यक देखिएको छ ।'

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद् पूर्वतयारी सँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए । जुगाड खोला सरसफाई देखि बाढी पहिरो लगायतका घटनाबाट प्रभावितको राहत उद्धारमा नगर तयार रहेको उनको  भनाइ छ । 

विपदबाट हुने जनधनको क्षति कम गर्न मजबुत पूर्वतयारी प्रतिकार्य योजना आवश्यक देखिएको  हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । यता तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले विपद् व्यवस्थापनले आफ्नो पालिकाले ४५ लाख छुट्याइएको जनाए । आठै पालिका र प्रहरी प्रशासनको सहकार्य बिना विपद् जोखिम न्यूनीकरण सम्भव नरहेको हातेमालो गर्नुपर्नेमा उनको जोड छ। 

नागरिक अगुवा राज बहादुर महतले बाढी पहिरो, सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत उद्धारका कार्य छिटो छरितो गर्नका लागि सडक, खाद्य,स्वास्थ्य, कृषि लगायतका सरोकारवाला निकाय तैनाथ हुनु पर्ने सुझाव दिए। जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै ५९ लाख बढी राहत वितरण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप