शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा पानीको बहाव १ लाख ४१ हजार क्युसेक पुग्यो

बुधबार, १५ असार २०७९, ११ : ५२
बुधबार, १५ असार २०७९

मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । 

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।
 
यस्तै मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए । यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ । सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएका छन् । आज राती कम पानी परेको कारण हिजो विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बिहानदेखि पुनः पानी पर्न सुरु गरेको छ । 

यता, सुनसरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएअनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजोभन्दा बढेको छ । हिजो साँझसम्ममा १ लाख २५ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले बिहान ८ बजेको मापनअनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ क्युसेक पुगेको छ ।
 कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिएको छ । 

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईले दिएको जानकारी अनुसार प्रदेश १ को उदयपुरको चौदण्डीगढी, धनकुटाको केही भित्री सडक तथा सुनसरीको वराहक्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ । अहिलेसम्म प्रदेशमा ५ सय घर परिवार विस्थापित भएको र पुनःस्थापित गराउने पहल भइरहेको उनले बताए ।

विपद् व्यवस्थापनको तयारी के छ ? 
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीका अनुसार प्रदेश १ सरकारले विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन सबैलाई सचेत गराएको छ । ‘स्थानीय तह, सुरक्षा निकाय, विपद् व्यवस्थापनमा काम गर्दै आएका रेडक्रस लगायतका संघ संस्थालाई तयार रहन भनिएको छ,’ कार्कीले भने, ‘विपद् व्यवस्थापनका लागि सबै जिल्लामा दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने र आवश्यक सूचना लिने काम भइरहेको छ ।’ 

यसअघि पनि प्रदेश सरकारले प्रत्येक जिल्लामा पुगेर दैवी प्रकोप उद्धार समितिको बैठक राखेर आवश्यक तयारी गरेको उनले बताए । प्रत्येक जिल्लामा बाढी तथा पहिरोको जोखिम क्षेत्रको नक्साङ्कन गर्ने, उनीहरुलाई अलर्ट गराउने, जोखिममा रहेका वस्तीलाई स्थानान्तरण गर्ने, उद्धार र राहतको व्यवस्थापन गर्ने, विपद् पछाडि विस्थापित भएकाको छिटो पुनःस्थापना, राहत र क्षतिपूर्तिको पहल गर्ने गरी काम अगाडि बढेको कार्कीको भनाइ छ । 

यस्तै विपद्को जोखिम क्षेत्रका वस्तीलाई स्थानान्तरण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा नयाँ वस्ती पनि निर्माण गरिने उनले बताए । ‘यो पटक हामीले नयाँ ढंगले गर्न कोशिष गरेका छौं, विपद् व्यवस्थापनका लागि आवश्यक कोष निर्माण गरेका छौं, सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ,’ कार्कीले भने, ‘त्रिपाल र खाद्यान्नलगायतका अति आवश्यक सामाग्रीको जोहो गर्न खाद्य संस्थान र साल्ड टेडिङलगायतलाई निर्देशन गरिएको छ ।’

बाढीका कारण विस्थापित भएका मोरङका पीडितलाई हिजो पनि त्रिपाललगायत राहत सामाग्री वितरण गरिएको छ । यसअघि ताप्लेजुङमा गएको पहिरोमा परेकाहरुलाई तुरुन्तै उद्धार र राहतको व्यवस्थापन गरिएको छ । ‘सकेसम्म सानातिना उद्धार र राहतको कार्यक्रम स्थानीय तहले गर्छ, स्थानीय तहले नसकेको खण्डमा हामी राहत र उद्धारको काम गर्छौं,’ कार्कीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप