शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : कार्यालय सहयोगीको भरमा सिङ्गो मन्त्रालय

स्थायी राजधानीमा सारिएका दुई मन्त्रालयको बिजोग
बुधबार, १५ असार २०७९, १२ : ०९
बुधबार, १५ असार २०७९

सुविधा सम्पन्न दुुई तले रातो भवन, जसको प्रवेशद्वारमा लेखिएको छ– पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश । प्रवेशद्वारको छेउमा अडिएको छ एउटा साइकल, उक्त साइकल मन्त्रालयका कार्यालय सहयोगीले चढ्ने गर्छन् । मन्त्रालय परिसरभित्र सवारी साधनका रुपमा उक्त साइकल र कर्मचारीका रुपमा कार्यालय सहयोगी बाहेक अरु केही छैन, अरु कोही पनि छैनन् ।

मन्त्रालयभित्रका आर्थिक शाखा, प्रशासन शाखा, सोधपुछ कक्षमात्रै होइन, मन्त्रीको कार्यकक्षमा पनि कुर्सी रित्तै छन् । कार्यालय समयमा मन्त्रालय खोल्ने र बन्द गर्ने बाहेक कार्यालय सहयोगीको अरु केही काम छैन । मन्त्रालयमा न कर्मचारी आउँछन्, न सेवाग्राही । हप्ता दिनमा कहिलेकाहीँ मन्त्री देखिन्छन् । त्योभन्दा अरु केही काम छैन । मन्त्रालय कार्यालय सहयोगीले चलाउँदै आइरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारले उक्त मन्त्रालय स्थायी राजधानी दाङमा स्थानान्तरण गरेको वर्षदिन बितिसकेको छ । तर मन्त्रालयका कर्मचारीहरु अझै आएका छैनन् । जसका कारण मन्त्रालय सुनसान छ । कार्यालय सहयोगीले बिहान मन्त्रालय कार्यालय खोल्ने र साँझ बन्द गर्ने बाहेक अरु कुनै गतिविधि हुँदैन त्यहाँ । मन्त्रालयका कार्यालय सहयोगी मिलन श्रेष्ठ भन्छन्, ‘सचिवज्यू घर जानु भा छ, आज आउँदै हुनुहुन्छ । मन्त्रीज्यू हिजो आउनु भएको थियो, अरु कर्मचारी उतै (बुटवल) बस्छन् । अरु धेरैजसो कामकाज बुटवलबाटै चल्छ ।’

मन्त्रालय स्थानान्तरण भए पनि सरकारले मन्त्रालयका कर्मचारी ल्याउन नसक्दा कार्यालय सहयोगीको भरमा सिङ्गो मन्त्रालय चल्दै आइरहेको छ । कर्मचारी अभावका कारण मन्त्रालय चल्न सकेको छैन । स्थायी राजधानीमै मन्त्रालय सरे पनि कर्मचारी सार्न नसक्दा मन्त्रालय नाम र बोर्डमा मात्रै सीमित हुुनु परेको छ । कर्मचारी अभावमा मन्त्रालय चल्न सकेको छैन । प्रादेशिक राजधानीमा मन्त्रालय रहे पनि प्रदेशवासी अझै अस्थायी राजधानी धाउनुपर्ने बाध्यतामा छन् ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयमात्रै होइन, स्थायी राजधानीमा सरकारले स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थानान्तरण गरेको पनि लामै समय बितिसकेको छ । सो मन्त्रालयको अवस्था पनि यस्तै छ । उक्त मन्त्रालय पनि कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने बाहेक अर्काे कुनै उपाय छैन ।

‘मन्त्रालय दाङमा, काम बुटवलमा’

दुई वटा मन्त्रालय स्थायी राजधानीमा सारिए पनि सबै कामकाज अस्थायी मुकाममै केन्द्रित छ । मन्त्रालय स्थायी राजधानी दाङमा, मन्त्रालयको काम अस्थायी मुकाम बुटवलमा गर्दै आइरहेकाले स्थायी राजधानीमा रहेका मन्त्रालयले कर्मचारी, सेवाग्राही पर्खेर बसिरहेको राप्ती गाउँपालिका वडा नं. ५ का सुन्दरलाल चौहानको भनाइ छ । उनले भने, ‘स्थायी राजधानीमा प्रदेशको मन्त्रालय आयो भनेर खुसी थियौं । तत्काल सरकारले दुुई मन्त्रालय त ल्यायो भन्ने थियो । सरकारले बोर्ड मात्रै सार्‍यो । काम त उतै राख्यो ।’

दाङमा सारिएका दुवै मन्त्रालयका मन्त्री दाङकै हुन् । त्यसैले पनि ती दुई मन्त्रालयलाई दाङ (स्थायी राजधानी) मै सारियो । तर मन्त्रालय सार्नबाहेक अरु केही काम नभएको उनी सुनाउँछन् । उनले थपे, ‘स्थायी राजधानीचाहिँ अस्थायीजस्तो बन्यो, अस्थायी राजधानी स्थायीजस्तै बनिरहेको छ ।’ मन्त्रालय आए राजधानीको चहलपहल बढ्छ, स्थानीय व्यापार व्यवसाय बढ्ला भन्ने आश खेर गएको उनी बताउँछन् ।

‘नाममा मन्त्रालय, काममा आवास’

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय जसको तल्लो तलमा मन्त्रालयको कार्यालय राखिएको छ । जो सधैँ रित्तै हुन्छ । मन्त्रालयका सबै कर्मचारी अस्थायी मुकामै छन् । स्थायी राजधानीको मन्त्रालय प्रदेश राजधानी कार्यान्वयन इकाईका कर्मचारीहरुले आवासीय सेवाका लागि प्रयोग गर्दै आइरहेका छन् ।

प्रदेश राजधानी कार्यान्वयन ईकाईका आर्किटेक इन्जिनियर उमा भडेलले भनिन्, ‘तल्लो तला मन्त्रालयको कार्यालय, माथिल्लो तला ईकाईका कर्मचारी राखिएको छ । हामी ईकाई कर्मचारी यही बस्छौं ।’

तर इकाईका कर्मचारी भने सो मन्त्रालय मातहतका होइनन् । जसका कारण मन्त्रालय कर्मचारीको आवासका रुपमा पनि परिणत भएको छ ।

‘मन्त्रीकै दोहोरो चरित्र’   

प्रदेश राजधानी प्रदेश सरकारले स्थानान्तरण गरेसँगै दुुई मन्त्रालय पनि सरकार तत्काल सार्‍यो । स्थायी राजधानीका लागि पूर्वाधार निर्माणको काम चलिरहेको छ । तर भएका मन्त्रालयहरु पनि कामबिहीन भएका छन् । सरकारभित्रका मन्त्रीहरुका दोहोरो चरित्रका कारण स्थायी राजधानीका मन्त्रालय कर्मचारी अभावमा रित्तै हुुनु परिरहेको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताए ।

सरकार र कर्मचारीले नै दोहोरो चरित्र निर्वाह गर्दा दाङमा रहेका मन्त्रालयमा कर्मचारी आउन सकेका छैनन् भने राजधानी व्यवस्थापन तथा पूर्वाधार निर्माणको काम समेत प्रभावित बनिरहेको उनी बताउँछन् ।

उनले भने, ‘स्थायी राजधानीमा सरकार सर्दैन भन्ने हल्ला पनि मन्त्रीहरुबाट चल्छ रे । जसले गर्दा स्थायी राजधानी मन्त्रालय सरे पनि बुटवलमै नगइ सुख छैन ।’ उनले आफ्नो मन्त्रालयका सचिव दाङकै रहेको बताए । उनले भने, ‘तर राजधानी व्यवस्थापनको जिम्मा लिएको मन्त्रालयले कर्मचारी पठाउँदैन । यो मन्त्रालयका लागि द्विविधाको कुरा हो ।’

‘प्रदेशसभापछि स्थायी राजधानीमा सरकार’

प्रदेशसभा र मुख्यमन्त्री कार्यालय स्थानान्तरणसँगै स्थायी राजधानीमा सबै मन्त्रालयसहित सरकार सर्ने पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीको भनाइ छ । राजधानीमा प्रदेश पूर्वाधार व्यवस्थापन तथा निर्माणको काम धमाधम भइरहेकाले आउँदो हिउँदे अधिवेशनबाट स्थायी राजधानीमा सरकार सर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘राजधानी निर्माणको क्रममा छ । सरकारको धेरै काम मुख्यमन्त्री कार्यालयमा भर पर्छ । दुुई मन्त्रालयका केही काम यतै हुन्छ । बाँकी धेरैजसो काम उतै हुने भएकाले यस्तो भएको हो ।’ प्रदेशसभा सहित मुख्यमन्त्रीको कार्यालय राजधानीमा सरे अन्य मन्त्रालय र कर्मचारीहरु पनि यहीँ सर्ने उनको भनाइ छ । उनले थपे, ‘मन्त्रालय यहाँ, प्रदेशसभा र मुख्यमन्त्री कार्यालय उता भएकाले यस्तो बाध्यता परेको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप