बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सुक्खा बन्यो सुक्खा बन्दरगाह, प्रचण्डमाथि घनश्यामको घोचपेच

बुधबार, १५ असार २०७९, २१ : ३०
बुधबार, १५ असार २०७९

आज २०७९ असार १५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजको प्रमुख समाचारहरुमा धान दिवस र असार १५ मनाइयो, निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको आदेशको पूर्णपाठ, मनसुनको कहर, विमला केसीको राजीनामा, मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान , तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह लगायत छन् ।

धान दिवस मनाइयो

असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि असार १५ का दिन हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।

सर्वोच्चको फैसला

निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । बुधबार प्रकाशित पूर्णपाठमा सर्वोच्चले विमानस्थल निर्माणको सम्बन्धमा पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।  विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्युनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि निर्देशन दिएको छ । 

एमालेमा माओवादको बिउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् । बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा वैचारिक रुपमा सचेत र जागरुक तुल्याएको जिकिर गरे ।

 

श्रीमतीलाई जबर्जस्ती करणी

मोरङ जिल्ला अदालतले वैवाहिक जबर्जस्ती करणी मुद्दामा आरोपित श्रीमानलाई ३ लाख नगद धरौटी राखी तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । नोबेल अस्पतालमा कार्यरत एक डाक्टरविरुद्ध उनकै श्रीमतीले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा मोरङ जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले आरोपित श्रीमानलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार धरौटीमा छाड्न आदेश दिएको हो ।

घण्टी नपाउने

गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

संक्रमण बढ्दै

पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

कुन पदमा कति मत बदर

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत बदर भएको छ भने वडाध्यक्षमा सबैभन्दा कम बदर भएको छ । निर्वाचन आयोगका अनुसार वडाध्यक्ष पदमा ८ दशमलव २६ प्रतिशत मत बदर हुँदा उपाध्यक्ष पदमा १८ दशमलव २३ प्रतिशत मत बदर भएको छ ।  

जसले दिलाए कैदीबन्दीलाई मताधिकार

उमेरले २० वर्ष पनि नकटेका दुई विद्यार्थी असार ९ गते बिहीबार हातमा ठूलै फाइल बोकेर सर्वोच्च अदालत पुगे । कलेज ड्रेसमै सर्वोच्च अदालत पुगेका उनीहरू कलेजको ल्याएको फिल्डवर्कमा आएका थिएनन् । बरु एउटा महत्त्वपूर्ण मुद्दा बोकेर मुद्दा दायर गर्ने प्रयोजनका लागि सर्वोच्च अदालत पुगेका थिए । ती दुई विद्यार्थी थिए, काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरमा अध्ययनरत निशान्त पोखरेल र प्रदीक्षा केसी । 

सुक्खा बन्यो चोभार सुक्खा बन्दरगाह

एक अर्ब ५३ करोड रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाहमा ४ महिनामा जम्मा १२ वटा कन्टेनर भित्रिएका छन् । विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर अर्बौँको लगानीमा बनाइएको बन्दरगाह चैतमा उद्घाटन भएदेखि अहिलेसम्मको अवधिमा जम्मा १२ वटा कन्टेनर सामान लिएर आएका हुन् ।

लाखौँ असुल्दै मेनपावर कम्पनी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जेठमा ७५३ वटै पालिकालाई एउटा परिपत्र गर्‍यो । स्थानीय तहहरूले मौसमी कामदारको रूपमा दक्षिण कोरिया कामदार पठाउन थालेपछि त्यसलाई तत्काल रोक्न भन्दै मन्त्रालयले परिपत्र गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप