मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियो: गभर्नर अधिकारी

बिहीबार, १६ असार २०७९, १२ : ०६
बिहीबार, १६ असार २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् । बुधवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् । 

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखा परेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले भने, ‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ । हामी सबैले फेस गरिरहेका छौँ । कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्ध त्यसपछि स्टेजको अर्थतन्त्रको फलस्वरुपमा मूल्यवृद्धिको प्रेसर यतिबेला ग्लोबल रूपमा भएको छ । यसको चुनौती विश्वभरले भोग्नुपरिरहेको छ । नेपाल त्यसबाट अन्यथा हुन सक्दैनौँ त्यस कारण यो अहिलेको चुनौती सामना गर्ने सिलसिलामा सबैको भूमिका जरुरी छ।’

त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्न संघ तयार रहने बताए । उनले चार्टड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समाधान गर्न सकिने बताए ।

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप