शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अटोमेटिक हतियार बोकेका ५८ कमान्डोले दिन्छन् मुकेश अम्बानीलाई सुरक्षा, इजराइलका २० तालिमप्राप्त नीजि गार्ड पनि तैनाथ

बिहीबार, १६ असार २०७९, १२ : १३
बिहीबार, १६ असार २०७९

भारतका शीर्ष व्यापारी मुकेश अम्बानीको जेड प्लस सुरक्षाको मामिलामा केन्द्र सरकारलाई त्रिपुरा उच्च अदालतमार्फत् जारी निर्देशनमा सर्वोच्च अदालतले २९ जुनमा रोक लगाएको थियो ।

विकास साहा नामका व्यक्तिले अम्बानीको जेड प्लस सेक्युरिटीविरुद्ध त्रिपुरा उच्च अदालतमा जनहित याचिका दायर गरेका थिए । यसमाथि, उच्च अदालतले केन्द्रबाट जवाफ माग्दै खतरा मूल्याङ्कनको विवरण मागेको थियो, जसको आधारमा अम्बानी र उनको परिवारलाई सुरक्षा दिइएको छ । यसबाट आक्रोशित भएपछि केन्द्र सरकारले सर्वोच्च अदालतको ढोका ढक्ढकाएको थियो ।

यसअघि, केन्द्र सरकारले सर्वोच्च अदालतसँगको अपिलमा कुनै पनि परिवारलाई दिइएको सुरक्षा सार्वजनिक हितको मुद्दा नभई अम्बानीको सुरक्षाको त्रिपुरासँग कुनै सम्बन्ध नभएको बताएको थियो ।

यस विषयमा सर्वोच्च अदालतको निर्णय आउन बाँकी नै छ । मुकेश अम्बानीको सुरक्षाबारे एक भारतीय सञ्चार माध्यमले पूर्ण विवरण पेश गरेको छ, यसलाई रातोपाटीले अनुवाद गरेर पेश गरेका छौँ ।

एक मिनेटमा ८०० राउन्ड गोली दाग्न सक्ने मेसिन गन बोकेका ५८  सीआरपीएफ कमान्डो

रिपोर्टका अनुसार मुकेश अम्बानी र उनको परिवारको सुरक्षाका लागि सीआरपीएफका करिब ५८ कमाण्डो २४ घण्टा तैनाथ हुन्छन् । अटोमेटिक हतियारले सजिएका यी हतियारधारी सिपाहीहरू जहाँ जाँदा पनि अम्बानी परिवारसँगै हुन्छन् ।

यी सैनिक  हेकलर एन्ड कोच एमपीफाइभ सब-मेसिन गनसहित थुप्रै आधुनिक हतियारले सुसज्जित छन् । हेकलर एन्ड कोच एमपीफाइभ सब-मेसिन गन जर्मनीमा निर्मित बन्दुक हो । यसबाट एक मिनेटमा ८०० राउण्ड गोली चलाउन सकिन्छ ।

अम्बानीको सुरक्षामा संलग्न हरेक सिपाही मार्शल आर्ट र निशस्त्र लडाई कौशलमा विशेषज्ञ छन् । अम्बानीको सुरक्षामा तैनाथ गरिएका सीआरपीएफ कमाण्डो फोर्समा सशस्त्र गार्डहरू, सँगै हिँड्ने सुरक्षाकर्मी, ड्राइभर, व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ), तलासी लिने टिम समावेश छन् ।

यी कमाण्डो दुई शिफ्टमा काम गर्छन् र तिनीहरू सीआरपीएफको इन्स्पेक्टर स्तरका अधिकारीको निरीक्षणमा काम गर्छन् ।

अम्बानीले यी कमाण्डहरूलाई आवास र खाना सहित अन्य सुविधाहरू प्रदान गर्छन् । सीआरपीएफका कर्मचारीहरूले अम्बानीको घर वरपरको शंकास्पद गतिविधि वा व्यक्तिहरूमाथि निगरानी  राख्छन् ।

उनको घर वरपरको सम्पूर्ण क्षेत्र उच्च रिजोल्युसन सीसीटीभी क्यामेराले कभर गरिएको छ । गेटमा, भवनभित्र र घरबाहिर पार्क गरिएका सवारीसाधनमा सशस्त्र सुरक्षाकर्मी तैनाथ छन् ।

इजरायलका तालिमप्राप्त २० व्यक्तिगत सुरक्षाकर्मी, जसले हतियार बिना सुरक्षा दिन सक्छन्

इजरायली कमाण्डो र सैनिकहरूले हतियार प्रयोग नगरीकनै दुश्मनमाथि हमला गर्छन् । यसका लागि, उनीहरु संसारको सबैभन्दा खतरनाक मार्शल आर्टमध्ये एक ( क्राव मगामा तालिम दिइएको छ । यस कारण इजरायली कमाण्डोहरू भीभीआइपीको सुरक्षाको लागि सर्वोत्कृष्ट मानिन्छन् ।

सीआरपीएफबाहेक, मुकेश अम्बानीसँग लगभग १५–२० व्यक्तिगत सुरक्षाकर्मी छन्, जो हतियारविहीन हुन्छन् । उनका नीजि सुरक्षाकर्मीलाई इजरायलको सुरक्षा फर्मबाट तालिम दिइएको छ ।

अम्बानी र उनको परिवारको सुरक्षाका लागि तैनाथ गरिएका यी निजी सुरक्षा गार्डहरूलाई पनि क्राभ मगाको तालिम दिइएको छ । यी गार्डहरू दुई शिफ्टमा काम गर्छन्, जसमा भारतीय सेना र एनएसजीका सैनिकहरू पनि समावेश छन् ।

अम्बानीले २.५ करोडको गाडीमा चढ्छन्, कार्केडका सबै गाडी बुलेटप्रुफ

मुकेश अम्बानी आफ्नो बुलेटप्रुफ बीएमडब्ल्यू वा मर्सिडीज कारमा यात्रा गर्छन्, जबकि उनका सुरक्षा गार्डहरू रेन्ज रोभरमा हिँड्छन् ।

हालै उनले आफ्नो कार्केडमा २.५ करोडको मर्सिडिज एएमजी जी ६३ मोडल समावेश गरेका छन् । अम्बानी हाल यो कारमा यात्रा गर्छन् ।

अम्बानीको कार्केडमा मर्सिडीज, बीएमडब्लू र रेन्ज रोभर कारहरू समावेश छन् । उनको कार्केडमा ६-८ वटा लक्जरी गाडी छन्, जसको मूल्य करिब १६ करोड भारु हो ।

अम्बानीको काफिलेमा सीआरपीएफ र निजी सुरक्षा गार्डहरूको ६–८ गाडी चल्छन्। तीमध्ये आधा गाडी अम्बानीको कारको अगाडि दौडिन्छन् भने बाँकी उनको कारलाई पछ्याउँछन् ।

यी गाडीमा सवार सबै सुरक्षाकर्मी वाकीटकीमार्फत् एकअर्कासँग जोडिएका हुन्छन् ।

जेड प्लस सेक्युरिटीको खर्च अम्बानी आफैले बेहोरेका छन्

मुकेश अम्बानी र उनको परिवारले प्राप्त गरेको जेड प्लस सुरक्षामा प्रत्येक महिना १५.२० लाख भारु खर्च हुन्छ । यी सबै खर्च अम्बानी आफैँले बेहोरेका छन् ।

मुकेश अम्बानी आफ्नो जेड प्लस सेक्युरिटीको खर्च आफैँले वहन गर्ने पहिलो व्यक्ति बने । धेरैजसो अवस्थामा, जेड प्लस सुरक्षाको लागत सरकारले वहन गर्छ ।

यो खर्चमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको तलब, उनीहरुको तैनाथी र सुरक्षामा खटिएका सवारी साधनको खर्च समावेश हुन्छ ।

सुरक्षा खर्चबाहेक, अम्बानीले सुरक्षाकर्मीहरूको लागि ब्यारेकहरू पनि उपलब्ध गराउनु पर्छ, जसमा उनीहरूको क्वार्टर, भान्छा र शौचालयहरू समावेश छन् ।

अम्बानी र उनको परिवारलाई प्रदान गरिएको जेड प्लस सुरक्षाबाहेक, उनको कम्पनी रिलायन्स इन्डष्ट्रिजको जामनगरस्थित रिफाइनरीको सुरक्षाको जिम्मा पनि केन्द्रीय औद्योगिक सुरक्षा बल  अर्थात् सीआईएसएफले सम्हाल्ने गर्छ ।

रिपोर्टका अनुसार रिलायन्सले यसका लागि सीआईएसइफलाई हरेक महिना ३४ लाख भारु भुक्तानी गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप