शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा यी हुन् मन्त्रीका आकांक्षी, कहिले हुँदैछ मन्त्री हेरफेर ?

बाबुरामको बहिर्गमन कुर्दै उपेन्द्र यादव
बिहीबार, १६ असार २०७९, १८ : २२
बिहीबार, १६ असार २०७९

जनता समाजवादी पार्टी नेपालले मन्त्री हेरफेर गर्ने निर्णय गरे पनि तत्काल मन्त्री फेर्न सकस हुने देखिएको छ । केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर तिनको ठाउँमा नयाँ अनुहार पठाउने निर्णय गरिसकेको छ ।

पछिल्लो समय पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई विपरीत दुई धारमा छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा पनि यिनै दुई शीर्ष नेताको पक्षमा नेताहरु विभाजित देखिएका छन् ।

स्रोतका अनुसार अहिले पार्टीमा उपेन्द्र यादवको पक्षमा पल्ला भारी छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै छुट्टिने समझदारी बनिसकेको छ । तत्काल मन्त्रीलाई फिर्ता बोलाएर तिनको ठाउँमा नयाँ मन्त्री पठाउँदा सरकारबाट फिर्ता भएकाहरु र सरकारमा जान नपाएकाहरुमा असन्तुष्टि बढ्ने र डा. भट्टराईको पक्षमा लाग्ने आकलन गरेर अध्यक्ष यादवले तत्काल मन्त्री हेरफेर नगर्ने रणनीति बनाएका छन् ।

जसपा नेपालभित्र सरकारमा जाने आकांक्षीहरुको दौडधुप सुरु भएको छ । जसपाका कार्यकारिणी सदस्य एवं सांसद महिन्द्र राय यादव, रेणु यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ गरी अहिले चार जना अहिले मन्त्री छन् । चारै जनालाई फिर्ता बोलाएर तिनको स्थानमा अन्य चार जना पठाउने तयारी जसपाको छ ।

मन्त्रीको आकांक्षीमा राष्ट्रिय सभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, सांसद एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादव, केन्द्रीय सदस्य एवं प्रमुख सचेतक प्रमोद साह, कार्यकारिणी सदस्य एवं सांसद अमृता अग्रहरी, संसद एवं मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, रेणुका गुरुङ, नरमाया ढकाल छन् ।

यसअघि पनि चुलिएको थियो असन्तुष्टि

शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि मन्त्री पठाउँदा पनि जसपा नेपालभित्र असन्तुष्टि चुलिएको थियो । सरकारमा जान नपाएकामध्ये कसैले पार्टी कार्यालयमा आन्दोलन नै गरेका थिए भने कहीले गुट परिवर्तन गरेका थिए ।

प्रदीप यादवले मन्त्री बन्न नपाएको झोकमा पार्टी कार्यालयमै आन्दोलन गराएका थिए । त्यसरी आन्दोलन गरेको कारण उनी केही दिनका लागि कारवाहीमा परेका थिए । अहिले उनको कारवाही फिर्ता भएको छ ।

राष्ट्रिय सभाका सदस्य मृगेन्द्रसिंह यादव पनि मन्त्री नबनाएको भन्दै अध्यक्ष यादवप्रति रुष्ट भएर बसेका थिए । अघिल्लो पटक ६ महिनाका लागि चार जनालाई पठाउने र ६ महिनापछि अर्को चार जनाको टीम पठाउने निर्णय पार्टीमा भएको थियो । सो निर्णय कार्यान्वयन गराउन मृगेन्द्रसिंह यादवले पटक पटक पार्टीमा आवाज उठाएका थिए । तर त्यसको सुनुवाइ भएको थिएन ।

यता, इस्तियाक राइ पहिलो चरणमै मन्त्री बन्ने लाइनमा थिए । तर उनी मन्त्री बन्न नपाएपछि उपेन्द्र यादवको विपक्षमा उभिएका थिए । उपेन्द्र यादवले पहिलो लटमै प्रमोद साहको नाम मन्त्रीका लागि पठाएका थिए तर अन्तिम समयमा उनको नाम काटेर महिन्द्र राय यादवलाई सरकारमा पठाइएको  थियो । त्यतिबेला प्रमोदलाई ६ महिनापछि फेरिने मन्त्रीमण्डलमा पठाउने आश्वासन दिइएको थियो ।

अमृता अग्रहरी पनि मन्त्रीका जबर्जस्त दावेदार हुन् । मन्त्री बन्न नपाएको झोंकमा उनी पछिल्लो समय बाबुराम पक्षमा लागेकी छन् । अहिले उनलाई मन्त्री बनाए उपेन्द्र यादव पक्षतिर आउन सक्ने सम्भावना रहेको एकजना कार्यकारिणी सदस्यले बताए ।

मन्त्रीका लागि आकांक्षी धेरै भएका कारण उपेन्द्र यादव तत्कालै मन्त्री हेरफेरको मुडमा छैनन् । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनको साथमा को को जान्छन्, त्यो अवस्था हेरेरमात्र मन्त्री हेरफेर गर्ने उनी निकट एक नेताले बताए ।

अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराईबीच भएको ‘भद्र सहमति’ अनुसार बाबुराम अलग भएपछि उनीसँगै जाने सांसदलाई जसपा नेपालले कारवाही गर्ने छैन । तत्काल मन्त्री फेरबदल गर्दा अहिले उपेन्द्र यादवको पक्षबाट मन्त्री बन्नेहरु नै भोलि बाबुरामको पक्षमा लागेको खण्डमा त्यस्तालाई कारवाही गर्न नसकिने भएकाले अध्यक्ष यादव अहिले बाबुरामको बहिर्गमनको प्रतीक्षामा बसेका छन् । बाबुराम भट्टराई अलग भइसकेपछि मात्र मन्त्री हेरफेर गर्ने तयारीमा उनी रहेको निकट स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप