शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा गठबन्धन भत्काउने एमालेको रणनीति : जसको सरकार बनेपनि विश्वासको मत दिने

बिहीबार, १६ असार २०७९, १८ : ४५
बिहीबार, १६ असार २०७९

बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने बताएको छ । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ । 

नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले रातोपाटीसँग भने । 

सत्ता गठबन्धनभित्र नेतृत्वको विषयमा विवाद चलिरहेको बेला एमालेले गठबन्धन फुटाउने रणनीतिका साथ जसको नेतृत्वमा सरकार बनाएपनि विश्वासको मत दिने बताएको हो । पूर्व सहमतिअनुसार भन्दै काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै हस्ताक्षर संकलन गर्न थालेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहज रुपमा सत्ता छाड्न नमानेपछि काँग्रेसले माओवादीसँग मिलेर हस्ताक्षर संकलन थालेको हो । मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् ।  रातोपाटीसँग कुरा गर्दै बानियाँले सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।

‘प्रक्रियागत विषय मिलाउन हस्ताक्षर संकलन गरिएको हो’, उनले भने, ‘संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ ।’ उनका अनुसार हालसम्म काँग्रेसका २२ र माओवादी केन्द्रका २३ सांसदको हस्ताक्षर संकलन भइसकेको छ ।  बागमतीमा बहुमतको सरकार बन्नका लागि भने ५४ सांसद चाहिन्छ । नेकपा एकीकृत समाजवादीबाट हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे र उनका पार्टी नेतृत्व परिवर्तन गर्न सहमत रहेको बानियाँको जिकिर छ । 

पूर्व सहमतिअनुसार नै काँग्रेसले नेतृत्व लिनेगरी अघि बढिएको भन्दै उनले समाजवादीका सांसदको पनि हस्ताक्षर संकलन गर्दै बहुमत जुटाएर प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाइने उनले बताए । यता मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको बैठकबाट हुने बताएका छन् । बागमती प्रदेशमा सरकार परिवर्तनको कसरत सुरु भएसँगै मुख्यमन्त्री पाण्डेले सो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मुख्यमन्त्री पाण्डेले गठबन्धनको  मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने समेत बताए । उनले भनेका छन्, ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रिय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप