शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकार आजभोलि नै परिवर्तन हुन सक्छ : दुलाल

बिहीबार, १६ असार २०७९, १९ : ४४
बिहीबार, १६ असार २०७९

नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ले प्रदेश सरकार परिवर्तन हुने भएको खण्डमा आजभोलि नै हुनसक्ने बताएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा सरकार परिवर्तन हुने भएको खण्डमा केही दिनमै हुने अन्यथा परिवर्तन नहुने बताए ।

‘सरकार परिवर्तनको छलफल सुरु भएको छ । परिवर्तन भएको खण्डमा आजभोलि नै हुन्छ, यसको मतलब २/३ दिनभित्रै हुन्छ । नभए सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘यही सरकार निरन्तर जान्छ ।’ उनले सरकार परिवर्तनका लागि प्रदेशस्तरमा तीव्र रुपमा छलफल भए पनि केन्द्रले पनि त्यसमा प्रत्यक्ष रुपमा भूमिका खेल्ने भएकाले निर्णयका लागि केन्द्रको निर्देशन पर्खनुपर्ने बताए ।

उनले गठबन्धनको सरकारमा आवद्ध भएपछि सहमति र सहकार्यको निरन्तरता नै मुख्य विषय हुने भएकाले त्यसलाई प्रभावित पार्ने काम गर्न नहुने प्रस्ट पारे । सांसदहरुको हस्ताक्षर संकलनको विषयमा उनले विगतको सहमति अनुसार मुख्यमन्त्री परिवर्तनका लागि प्रक्रियागत कुराहरु मिलाएर तयारी अवस्थामा राखिएको बताए ।

हस्ताक्षर संकलन अभियानभन्दा पनि सहमति र सहकार्य कार्यान्वयनको विषय मुख्य भएको उनको भनाइ छ । ‘गठबन्धनमा रहेर काम गरेपछि सहमति कार्यान्वयन गर्नु पर्छ,’ उनले भने, ‘हस्ताक्षरभन्दा पनि मुख्य विषय सहमति अनुसार मुख्यमन्त्री परिवर्तन हो ।’

मुख्यमन्त्री परिवर्तनको विषय कुनै एक पार्टीको बलले नहुने भएकाले चार पार्टीको सहमति आवश्यक रहेको उनको भनाइ छ । चार दलको सहमति बिना कुनै पनि प्रक्रिया अघि नबढ्ने उनले बताए । उनले मुख्यमन्त्री परिवर्तनको विषयमा पूर्वसहमति अनुसार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप