शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शनिबार पोखरा स्पोर्टस अवार्ड, को को छनोट भए खेलाडी ?

शुक्रबार, १७ असार २०७९, ०९ : ३१
शुक्रबार, १७ असार २०७९

शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले छैटौं संस्करणको अवार्ड आयोजना गरेको हो । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । 

मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरिने गर्दैछ । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान हुने अध्यक्ष दिननाथ बरालले बताए ।

यो वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गर्न लागिएको छ । अन्य विधाका खेलाडीहरुको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का छनोटमा परेका छन् । उनीहरूमध्ये एकजनाले पुरस्कार पाउनेछन् । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिष उपाध्याय र करातेका सरगम कुमाल मनोनयनमा परे ।

उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा परेका छनोट समितिले जनाएको छ । 

वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्रान्डका टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पाउनेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजारका दरले सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने अध्यक्ष बरालले बताए । मञ्चले २०७२ सालदेखि अवार्ड आयोजना गर्दै आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप