शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाटो हिँड्दा शोभालाई लाग्ने त्यो लाञ्छना :  ‘ऊ त्यो हत्याराकी स्वास्नी हो’

शुक्रबार, १७ असार २०७९, १० : ४३
शुक्रबार, १७ असार २०७९

रोहितले बिहे गरेको अर्को वर्ष अर्थात् २०४१ साल भदौ ९ गते जेठा छोराका रूपमा सुवेगको जन्म भयो; साथै २०४५ पुस ३ गते कान्छा छोरा सुवानको जन्म भयो । कान्छा छोराको जन्मताका चाहिँ रोहित नक्खु जेलमा जीवन बिताइरहेका थिए । रोहितका दुवै छोरा घर व्यवहार, पढाइ, जनसम्पर्क अनि समाजसेवामा पनि आफ्नो गच्छे अनुसार खट्ने गर्छन् । यी दुवै शिक्षा आर्जन गरी पेसागत काममा नै समर्पित भए । यी दुवै छोरा वैवाहिक जीवनमा पनि बाँधिएँ । जेठा छोरा सुवेगचाहिँ साहित्यिक रूपमा पनि अग्रसर भइरहे । उनी लेखन र पठनपाठनमा पनि त्यतिकै सक्रिय छन् । उनले जापानबाट ‘उपत्यकामा भूकम्पीय प्रभाव’ विषयमा पिएचडी गरे । त्यसपछि उनी भक्तपुरको खोप इन्जिनियरिङ कलेजमा प्राध्यापनमा लागे । कान्छा छोरा सुवानले पनि अर्थशास्त्रमा एमए पास गरेका छन् ।   

रोहितकी पत्नी शोभाले जीवनमा थुप्रै हन्डर खादै आइन् । खास गरेर वैवाहिक जीवनमा उनिएपछि उनको जीवन काँडाघारीको यात्राझै बित्न लाग्यो । शोभाको जीवनमा सबैभन्दा ठूलो पीडा कुनै समय यस्तो पनि आयो जुन समयमा उनी बाटोमा हिँड्दा अरूहरूले ‘ज्यानमाराकी स्वास्नी’ भनेको पनि सुन्नु पर्थ्यो । यो उनका लागि अत्यन्त दुखद आरोप थियो । उनी स्कुलकी शिक्षिका भए तापनि श्रीमान्का कारणले उनीमाथि लाञ्छना लगाइएको थियो । भक्तपुरमा कर्ण ह्योजूको हत्यापछि रोहितले त्यसै अभियोगमा जेल जानु नै उनी र उनको समग्र परिवारका लागि ज्यादै दुःखद सन्दर्भ बन्न पुगेको थियो । त्यस प्रसङ्गमा शोभा विजुक्छेँले सधैं भनिरहिन्— ‘म बाटो हिँडिरहेकी हुन्थेँ, तीनचार जनाको समूहबाट एउटा आवाज निस्कन्थ्यो— ‘ऊ त्यो हत्याराकी स्वास्नी हो ।’ वास्तवमा ती शब्दले म मर्दै बाच्ने गर्थें । मेरो जीवनका अतिशय पीडादायी लाञ्छनाका ती संवाद म कहिल्यै बिर्सन्न ।’
विवाह गरेको केही वर्षमा जेल परेका कारण रोहितले आफ्नो जीवनका दुक्खसुख्ख आफ्नी पत्नीलाई केही भन्नै पाएका थिएनन् । त्यसैले जेलमा पुगेपछि उनले चिठीद्वारा पत्नीलाई आफ्नो जीवनका यथार्थ घटनाहरू लेख्ने गर्थे ।



रोहितकी पत्नी शोभा विजुक्छेँ पनि पार्टीमा सक्रिय रूपमै लागेकी थिइन् । उनी घर र स्कुलको काम सकेपछि उब्रिएको समय राजनीतिलाई दिने गर्थिन् । उनी ‘नेपाल क्रान्तिकारी महिला सङ्घ’मा आबद्ध भएर नारी जागरणमा लम्किरहेकी थिइन् । नेपाल मजदुर किसान पार्टीका विविध सभासम्मेलनहरुमा उनी सक्रियतापूर्वक भाग लिन्थिन् । तर उनी सल्लाहकार, सहयोगी र मद्धतकारीका रुपमा मात्र उभिन्थिन् । नेपालका अरुहरु पार्टीमा लोग्नेस्वास्नी छोराछोरी चेप्ने सिद्धान्तका यी दम्पतीले कहिले सिको गरेनन् । यस मामलाका यी दुवै विरोधी थिए । त्यसैले शोभा सधैँ भूमिगत बसेर नै पार्टीमा सेवारत भइन् । राजनीतिमा प्रखर भएर पनि उनले बाँचुञ्जेल कर्म गरेर आफ्नो धर्म मात्र निभाइन् । कहिले पनि पद र प्रतिष्ठा प्राप्तिका लागि उनी अघि सरिनन् । उनी नेपाली नारी जातिमा धेरै माथिकी गौरवी नारी थिइन् । उनले झन्नै चार दशक स्कुलमा पढाइन् तर उनी स्कुलमा पुगेपछि पूर्ण शिक्षिकाकै स्वरुपमा बाँधिन्थिन् । भनौँ उनले शिक्षक र विद्यार्थी माझ कहिले पनि राजनीतिको रङ पोखिनन् । वास्तवमा उनी एउटी असल गुरुआमा थिइन् । त्यसैले उनले अवकाश लिँदा स्कुलका प्राय: सारा शिक्षक र विद्यार्थीले रुवावासी गरेका थिए ।


आफ्नो जीवनयात्रामा क्रियाशील भइरहेकै बेला शोभा क्रमश: थला पर्न थालिन् । खास गरेर २०५६ सालमा उनलाई स्तन क्यान्सर भएको ठहर भयो । उनको त्यो क्यान्सरको शल्यक्रिया पनि भयो । त्यसपछि उनी नआत्तिइकन आफ्नै कर्तव्यमा सक्रियतापूर्वक जुटिरहिन् । त्यसको २३ वर्षपछि उनको पाठेघरमा पनि क्यान्सर भएको थाहा भयो । त्यसको पनि शल्यक्रिया भयो । यति हुँदाहुँदै पनि उनी आफ्ना क्रान्तिकारी कदममा रमिरहिन् ।  
धेरै कष्ट हुन थालेपछि शोभालाई नेपाल क्यान्सर अस्पताल ललितपुरमा पुर्याइएको थियो । त्यहाँ उनको उचित उपचार भइरहेकै थियो । २०७९ साल असार ८ गतेको कुरा हो— विजुक्छेँ दम्पतीले अस्पतालकै शैय्यामा निक्कैबेर बात मारेका थिए । सधैँकी हँसिली, उज्याली र चमकदार अनुहारकी धनी शोभाको मुहार त्यस दिन झन् धपक्कै बलेको थियो । लोग्नेस्वास्नी माझ कुरा भएको एकै घन्टाभित्र रोहित समक्ष दैवको चट्याङ बजारिएको थियो । भनौँ त्यस घडी नारायणमान विजुक्छेँ ‘रोहित’की आँसु र हाँसोकी साथी शोभा विजुक्छेँले संसारबाट विदा लिएकी थिइन् ।         

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप