शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका

शुक्रबार, १७ असार २०७९, ११ : ००
शुक्रबार, १७ असार २०७९

कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हथौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँलो, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौंठेजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजो आज उनीहरूको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ । यसरी नै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ ।

अन्य जिल्लाकै जस्तै मुगुका विद्यालयमा पनि पाठ्यपुस्तक आइपुगेको छैन । पुस्तकको अभावले विद्यालय जानुपर्ने बालबालिका खोलामा दिन बिताउने गर्छन् । पुस्तकमात्र होइन घरमा बिहान–बेलुका छाक टार्ने अन्न पनि छैन ।  कापी कलम किन्ने पैसा छैन । जसकारण विद्यालय जानुपर्ने उनीहरू गिट्टी कुटेरै घरको आर्थिक अभाव पूरा गर्न अभिभावकलाई सघाउने गर्छन् । 

बुबा आमाको आयस्रोत नभएपछि यहाँका विपन्न, गरिब, दलित परिवारका बालबालिकाको अध्ययन प्रभावित भएको छ । ‘पैसा नहुँदा पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ,’ प्रभात माध्यमिक विद्यालय रोवाका  कक्षा ४ मा अध्ययनरत छात्र १३ वर्षीय बिर्खराज बुढाले बताए । 

खान लाउन आर्थिक समस्या भएपछि गिट्टी कुट्न आएको उनी बताउँछन् ।  लगातार गिटी कुट्दा महिनामा दुई हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताए । 

बिर्खराज मात्र होइनन्, १४ वर्षीय मनोज ऐडीको अवस्था पनि उस्तै छ । उनको घरमा उमेर ढल्लेका बुबा छन् । बुबा मजदुरी गर्छन् । तर, बुबाको आम्दानीले मात्रै दैनिकी चल्दैन । गिटी कुट्ने काम पनि मुस्किलले पाइने उनको गुनासो छ । 

प्रभात माविमा अध्ययनरत यी बालबालिका उदाहारण मात्र हुन् । यहाँका अधिकांश विपन्न, गरिब र दलित बालबालिकाको अवस्था यस्तै छ । पढाई खर्चसँगै विद्यालय निर्माणमा आवश्यक पर्ने गिट्टी कुटिरहेको शिक्षक हरिबहादुर विश्वकर्माले बताए । गिट्टी कुटे बापत उनीहरूले प्रति बोरा ६० रुपैयाँमा पाउँछन् । 
न्युन कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप