शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनका चार सय एघार उम्मेदवारले बुझाए  निर्वाचन खर्च विवरण

शुक्रबार, १७ असार २०७९, १६ : २४
शुक्रबार, १७ असार २०७९

स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि चितवनमा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । 

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिकामा २८४ मध्ये आठ जनाले मात्रै खर्च विवरण बुझाएको उनले जानकारी दिए । राप्ती नगरपालिकाका २६१  उम्मेदवारमध्ये १०, कालिका नगरपािलकाका २१३ उम्मेदवारमध्ये ६६, माडी नगरपालिकाका १५७ मध्ये १२५ र इच्छाकामना गाउँपालिकाका ९४  उम्मेदवारमध्ये चार जनाले मात्र खर्च विवरण बुझाएका छन् । 

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसूची ३० बमोजिम निर्वाचनको अन्तिम मत परिणाम आएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । विवरण नबुझाउने उम्मेदवारलाई आयोगले सङ्घीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिए । नियमावली अनुसार महानगर प्रमुख र उपप्रमुखले सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यले तीन लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले   तीन लाख ५० हजार वडाध्यक्ष र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप