शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय फोटो पत्रकार चौधरीलाई छुटाउन नेपाली पत्रकारहरुले आर्थिक संकलन गर्ने

शुक्रबार, १७ असार २०७९, १८ : ०२
शुक्रबार, १७ असार २०७९

झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आर्थिक संकलन गर्ने भएको छ ।  खोटा मुद्रा बोकेको कसुरमा विगत साढे ७ महिनादेखि जेलमा रहेका चौधरीको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक संकलन गर्न लागिएको हो ।   

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागेको जानकारी दिए ।  नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसुरमा झापा जिल्ला अदालतले भारतीय फोटो पत्रकार चौधरीलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । 

असार ९ गते सजाय ठहर गर्दै असार १६ गते गरिएको कसूर निर्धारण अनुसार चौधरीलाई १५ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद तोकिएको छ । मलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समय बाहेक बाँकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि फोटो पत्रकार समूहले सहयोग रकम संकलन सुरु गर्न लागेको हो । 

संहिताको दफा १५५ (५) मा एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय पाई थुना वा कैदमा रहे बसेको विदेशी नागरिकले कैदको सट्टा रकम तिरी कैदबाट छुटकारा पाउन निवेदन दिन सक्ने व्यवस्था रहेको छ । विदेशी नागरिकको हकमा प्रतिदिन ५ सय रुपैयाँका दरले हुन आउने रकम एकमुष्ठ तोकी त्यस्तो रकम बुझाएपछि थुनामुक्त हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।  

चौधरी हालसम्म ७ महिना १५ दिन कैदमा बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिवाना वापतको १५ हजार रुपैयाँ गरी कुल ८२ हजार पाँचसय रुपैयाँ संकलन गर्न लागिएको समूहका अध्यक्ष वन्तले बताए । 

‘सम्भव भएसम्म पाँच दिनभित्र नै उक्त रकम संकलन गरी कारागार कार्यालय झापामार्फत् झापा जिल्ला अदालतमा बुझाउन लागेका छौं,’ अध्यक्ष वन्तले भने । फोटो पत्रकारितामार्फत जिविकोपार्जन गर्दै आएका चौधरी आर्थिक रुपमा समेत कमजोर रहेकाले रिहाइका लागि समूहले निरन्तर रुपमा सहयोग साथै मिडियामार्फत  आवाज उठाउँदै आएको छ । समूहको निरन्तर प्रयासपछि झापा जिल्ला अदालतले अग्राधिकारमा राखेर मुद्धालाई किनारा लगाएको  थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप