शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमआरआई मेसिनमा खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

शुक्रबार, १७ असार २०७९, २० : २५
शुक्रबार, १७ असार २०७९

काठमाडौंको सिभिल अस्पतालले २२ करोडमा किन्न लागेको एमआरआई मेसिन कर्णाली प्रदेश अस्पतालले २९ करोडमा किन्न थालेको भन्दै प्रदेश लेखा समितिले छानबिन सुरु गरेको छ । लेखा समितिका सदस्य गुलाबजंग शाहले खरिद सम्बन्धीका डकुमेन्ट लिइएको बताए ।

‘छानबिनका लागि हामीले डकुमेन्ट लिएका छौं,’ उनले भने, ‘यहाँ ठुलो चलखेल देखिन्छ ।’ एउटै कम्पनीको र एउटै गुणस्तर भएको उक्त एमआरआई मेसिन खरिदमा झण्डै ७ करोड बढी रकम अनियमितता गर्न लागिएको आशंका गरिएको छ । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाएको छ । उक्त अस्पतालले गत जेठ २५ गते ‘थ्री टेस्ला’ क्षमताको एमआरआई खरिदको जिम्मा ‘ईष्ट वेस्ट कन्सर्न प्रालि’लाई दिने निर्णय गरेको शाह बताउँछन् ।

प्रदेश अस्पताल सुर्खेतले पनि सोही ‘थ्री टेस्ला’ क्षमताकै एमआरआई मेसिन खरिदको जिम्मा सोही प्रालिलाई दिएको छ । तर प्रदेश अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिदको जिम्मा दिएको छ । शाहले यसअघि नै सामाजिक विकास मन्त्रालयका सचिवलाई समेत बोलाएर यसबारे छलफल गरिएको बताए । दुवै अस्पतालले साना र ठूला गरी ३०० भन्दा बढी बुँदामा ‘स्पेसिफिकेसन’ बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रदेश अस्पतालले ३० वटा बुँदागत ‘स्पेसिफिकेसन’ बनाएको छ ।

‘त्यसमा अधिकांश बुँदा मिल्न पुगेका छन्,’ लेखा समितिका सभापति करविर शाही भन्छन्, ‘१२ गते नै हामीले कागजपत्रहरु मागेका थियौं । एउटा पत्रिकामा समाचार आएकाले हामीले एक्सन लिन खोजेको हो ।’ शाहीले अब त्यसबारेमा अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्पष्टिकरण सोधिने समेत बताए ।

सिभिलको भन्दा ‘हाई क्वालिटी’ को मेसिन हो : निर्देशक खड्का

यता प्रदेश अस्पतालले भने अहिलेसम्मकै ‘हाई क्वालिटी’को एमआरआई मेसिन खरिद गर्न लागेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्का अस्पतालले खरिद गर्न लागेको मेसिन अहिलेसम्म नेपालमा नआएको बताउँछन् । उनले भने, ‘बजेट भएकाले बेस्ट क्वालिटीको मेसिन ल्याउँ भनेर हामी लागेका हौँ । यहाँ ठेकेदारहरु आएका थिए । त्यसमा सबैभन्दा बेष्ट खालको मेसिन बनेको छ भनेका कारण हामीले ल्याउन खोजेका हौं । कसलाई के चित्त बुझेन, एउटालाई टेन्डर पर्दा अर्कोले कम्प्लेन गर्छन् । हामीले ल्याउन लागेको मेसिन सिभिलको भन्दा पनि हाई क्वालिटीको हो ।’

खड्काले सिभिलको ६२ र प्रदेश अस्पतालले खरिद गर्न लागेको एमआरआई ६४ च्यानलको भएको बताए । ‘सिभिलको र हाम्रोमा त क्वालिटी नै फरक प¥यो,’ उनले भने, ‘यस्तो खालको मेसिन त थुप्रै ठाउँमा होला तर, हाई क्वालिटीको मेसिन हामीले ल्याउन लागेको हो ।’

के हो एमआरआई ?

एमआरआई सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गर्ने गरिन्छ । यो मेसिनले चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गहरुको विस्तृत अध्ययन गर्न सकिन्छ । यसमा चुम्बकीय माध्यमबाट मानव शरीरमा रेडियो तरङ्ग प्रशारण गरेर शरीरका अङ्ग तथा शारीरिक प्रक्रियाको अध्ययन गर्न सकिन्छ । यसमा एक्स रे, सिटी स्क्यानमा जस्तो विकिरणको प्रयोग नहुने विशेषता हुन्छ । एमआरआईको शक्ति टेस्लामा मापन गरिन्छ । त्यो नेको एमआरआईमा प्रयोग हुने चुम्बकको शक्ति हो । जति बढी चुम्बकको शक्ति भयो, उतिनै शरीरका अङ्गहरुको स्पष्ट तस्वीर प्राप्त गर्न सकिन्छ भने रोग पहिचानमा पनि सहज हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप