आइतबार, ०२ वैशाख २०८१
ताजा लोकप्रिय

जय पृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला

शनिबार, १८ असार २०७९, ०६ : ५५
शनिबार, १८ असार २०७९

सरकारले यही असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना पुगेका छन् ।

यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, राम शाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, राजा त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर शाख्वा, पासाङ ल्हामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरिसकिएको थियो । 

त्यसो त २०२४ सालमै राष्ट्रिय विभूतिका लागि जय पृथ्वीबहादुर सिंहको नाम सिफारिस गरिएको थियो । बझाङमा जन्मिएर नेपाली भाषा, व्याकरण, शिक्षा, न्याय र दर्शनका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्व हुन् उनी । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएको योगदानबारे खोज, अनुसन्धान र प्रकाशन नगरिएकाले ओझेलमा पर्दै आएका थिए ।

बझाङका राजा भनेर चिनिने उनी बझाङकै राजा विक्रमबहादुर सिंहकी चारवटी रानीमध्ये जेठी रुद्रकुमारीका सुपुत्र हुन् । जङ्गबहादुरका छोरीपट्टिका नाति तथा चन्द्र शमशेरका ज्वाइँ पनि हुन् उनी । जङ्गबहादुरको नाति भएकै कारण उनी आठ वर्षको उमेरमा काठमाडौँ आएर दरबार हाई स्कुलमा अध्ययन गर्न पाएका थिए ।

शिक्षाको राम्रो अवसर पाएका उनले ‘अक्षराङ्क शिक्षा’ लेखेका थिए । त्यो पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यो समयमा यो नै नेपाली भाषा अध्ययन गर्ने मानक पुस्तक थियो । ‘प्राकृत व्याकरण’ उनको अर्को पुस्तक हो । गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको यो पुस्तकले नेपाली भाषा कुन संरचनामा लेखिन्छ भनेर मानक आधार स्थापना गरेको थियो । यसमा देवनागरी लिपिका साँवा अक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम समावेश थिए । यसै गरी बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि यसमा उल्लेख भएको बताइन्छ ।

विभूति घोषणा गराउन फाउन्डेसन

नेपाली शिक्षा र कानुनका क्षेत्रमा विशद् योगदान दिने व्यक्तिको अध्ययन, अनुसन्धानको अभावले ओझेलमा परेका थिए उनी । तर मीनबहादुर सिंहले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भनेर २०५१ सालमा जयपृथ्वी फाउन्डेसन नै स्थापना गरे । उनी स्थापनाकालदेखि अध्यक्ष भई जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ भनेर निरन्तर लागे ।

अभियन्ता सिंह भन्छन्, “विसं २०२४ मा राजा महेन्द्रले बालकृष्ण समको अध्यक्षतामा राष्ट्रिय विभूति घोषणा गर्ने समिति बनाएका थिए, त्यतिबेलै जय पृथ्वीबहादुर सिंहलाई पनि घोषणा गर्नुपर्ने थियो तर गरिएन ।” जय पृथ्वीबहादुर सिंह नाताले जङ्गबहादुरका नाति, चन्द्र समशेरको ज्वाइँ हुन् तर पनि उनको योगदानका बारेमा अध्ययन, अनुसन्धान भएनन् । बालकृष्ण सम राणा भएर पनि उनले सिफारिस गरेको देखिएन । त्यसपछिका सरकारले पनि मूल्याङ्कन नगरेको सिंहको भनाइ छ ।

“जय पृथ्वीबहादुर सिंहले गरेका योगदानको अनुसन्धान गर्‍यौँ ।” अभियन्ता सिंहले भने, “गोरखापत्रको स्थापना, नेपाली भाषाको पाठ्यपुस्तक लेखेर नेपाली भाषाको पढाइलेखाइ गर्नुपर्छ भनेर आफैँले अक्षराङ्क, व्यवहार माला, शिक्षा दर्पण, स्रेस्ता दर्पणलगायत पुस्तक लेखी प्रकाशनमा ल्याएका थिए ।” स्रेस्ता दर्पणभन्दा पहिले नेपालमा तमसुक लेख्ने तरिका कसैलाई थाहा नै थिएन, कसैले लेखेकै थिएन । स्रेस्ता दर्पण लेखेर कानुनी शिक्षाको पठनपाठन सुरु भयो । त्यसपछि नेपाली भाषामा पठनपाठन सुरु भयो । उनकै पालादेखि नेपाली भाषाको र कानुनी विषयको पढाइ सुरु भएको सिंहको भनाइ छ ।

जय पृथ्वीबहादुर सिंहको प्रतिभाको कदर गरेर चन्द्र शमशेरले न्याय हेर्ने सम्पूर्ण जिम्मेवारी दिएका थिए भन्छन् सिंह । त्यही संस्था पछि आएर सर्वोच्च अदालत बनेको हुनाले जय पृथ्वीबहादुर सिंहलाई नेपालको पहिलो प्रधानन्यायाधीश मान्छन् उनी ।

जय पृथ्वीबहादुर सिंहले नेपाली वकिल भएर कलकत्तामा पनि काम गरेका थिए ।

यसै गरी सन् १९१४ मा सुरु भएको विश्वयुद्धको दर्दनाक अवस्था देखेर जय पृथ्वीबहादुर सिंहले ‘सत्व प्रशंसा’ पुस्तक लेखे । त्यो पुस्तक मानवतावादी विषयमा केन्द्रीत भएकाले पछि व्याख्या गरेर बेङ्लोरबाट ‘ह्युमानिजम’ नामले अङ्ग्रेजीमा प्रकाशित भएको रहेछ । त्यो किताब विसं १९७० मा नेपालमै छापिएको थियो तर त्यसको प्रचार प्रसार हुनै सकेन ।

जय पृथ्वीबहादुरले १९६३ मा बझाङमा अदालतको स्थापना गरेका थिए । कसैलाई अन्याय छ भने यो अदालतमा आउनु, दायर गर्नु भनेर त्यहाँ उर्दी जाहेर गरेर गाउँ गाउँमा गएर सूचना जारी गराउने काम गरेका थिए भन्छन् अभियन्ता सिंह । यस हिसाबले उपत्यका बाहिरको पहिलो न्यायालय त्यसैलाई मान्न सकिने देखिन्छ ।

जय पृथ्वीबहादुर सिंहले नेपालमै पहिलो पटक बझाङमा भूमि सुधार पनि लागू गरेका थिए । बझाङमा राजाहरूका नाममा भएका जग्गा रैतीका नाममा दर्ता गराएका थिए । “उनी त्यो बेलाको नीतिनिर्माता भएकाले रैतीका नाममा गर्नुपर्छ भनेर चन्द्र शमशेरलाई पनि सुझाव दिएका थिए”, अभियन्ता सिंह भन्छन्, “चन्द्र समशेरका पालामा जय पृथ्वीबहादुर सिंह नीतिनिर्माण गर्ने व्यक्ति थिए ।” त्रिचन्द्र कलेज खोलेको पनि जय पृथ्वीबहादुर सिंहकै प्रेरणाले रहेछ । नागरिकलाई शिक्षा दिनुपर्छ भनेर सरकारलाई दबाब दिने सिंहले त्यही समयमा ‘शिक्षा दर्पण’ किताब पनि लेखेका थिए । त्यो पुस्तक जय पृथ्वी फाउन्डेसनले पुनः प्रकाशन र त्यसलाई अङ्ग्रेजी भाषामा पनि प्रकाशित गर्नेे भएको  छ ।

नारायणचौर, नक्सालमा नेपाली भाषाको पहिलो पाठशाला सत्यवादी पाठशाला पनि जय पृथ्वीबहादुर सिंहकै पहलमा स्थापना भएको थियो । “दरबार हाई स्कुलमा त अङ्ग्रेजीमा पढाइ हुन्थ्यो, त्यसले कलकत्ता विश्वविद्यालयको सम्बन्धन लिएको थियो,” अभियन्ता सिंह भन्छन्, “त्यो बेलाको नियममा पढाइ चाहिँ दरबार हाई स्कुलमा हुने, परीक्षा दिन कलकत्ता विश्वविद्यायलमा जानुपर्ने हुन्थ्यो ।” यसैले नेपालमै दर्ता भएर नेपाली पढाइ भएको विद्यालय होइन, दरबार हाई स्कुल । किनभने त्यसको प्रश्नपत्र निर्माण गर्ने, परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका जाँच्नेलगायत सम्पूर्ण कार्य कलकत्ता विश्वविद्यालयबाटै हुन्थ्यो भन्छन् उनी । जय पृथ्वीबहादुरले पनि त्यहीँबाट अध्ययन गरेका थिए । 

अङ्ग्रेजीबाट मात्र पढाएर भएन, नेपालीबाट पनि पढाउनुपर्छ भनेर जय पृथ्वीबहादुर सिंह र मोतीराम भट्टले देव शमशेरलाई सल्लाह दिएको अभियन्ता सिंह बताउँछन् । त्यहाँ पढ्नका लागि पाठ्यपुस्तक अक्षराङ्क र व्यवहारमाला जय पृथ्वीबहादुर आफैँले लेखेका थिए । ती पुस्तक पुनः प्रकाशित भइसकेका छन् ।

त्यसपछि जय पृथ्वीबहादुर नेपाल र नेपालीका लागि मात्र काम गरेर भएन भनेर विश्वकै मानिसका लागि मानववादी आन्दोलन र प्रसार प्रचारमा लागिपरे । उनले आफ्ना सबै जिम्मेवारी अरूलाई हस्तान्तरण गरेर, राजा पद पनि त्यागेर देहरादुनको नैनीताल गई सात वर्ष बसेका थिए । अभियन्ता सिंह भन्छन्, “ सत्व प्रशंसा पुस्तकमा मान्छे मान्छे भएर शान्तिपूर्वक बस्न पाउनुपर्छ भनेर शान्ति स्थापना कसरी गर्नुपर्छ भनेर व्याख्या गर्दै तीन भागमा लेखेका छन् । त्यसको प्रचार र व्याख्या गर्दै हिँडे ।” यसका तीन भागलाई कम्पाइल गरेर जय पृथ्वी फाउन्डेसनले ६२४ पृष्ठको पुस्तक एउटै भागमा अहिले प्रकाशित गरेको छ ।

“जय पृथ्वीबहादुर सिंहलाई चन्द्र शमशेरले नारायणचौरको नक्साल छेउमा ६३ रोपनी जग्गा दिएका रहेछन् । त्यहीँ उनले दरबार पनि बनाएका थिए । राणाहरूको चलनअनुसार सन्तान भएनन् भने दाइजो दिएको जग्गा फिर्ता गर्ने रहेछ,” अभियन्ता सिंह भन्छन्, “मोहन शमशेरले त्यो जग्गा फिर्ता लगेछन् । उनले बेङ्लोर गएर जय भवन पनि निर्माण गरेका रहेछन् । निकै ठूलो त्यो जय भवन पनि फिर्ता लिइएछ र एउटा संस्थालाई बिक्री गरिएछ । खोजी गर्दै म त्यहाँ पनि पुगेको थिएँ । भारतीय सरकारसँग नेपाल सरकारमार्फत् खोजी गराउने विचार मेरो छ ।”

जय पृथ्वीबहादुर सिंहले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएका योगदानका बारेमा राज्यलाई जानकारी दिने मान्छे  नभएर राष्ट्रिय विभूति घोषणा गर्न रोकिएको रहेछ । “२४ सालमै त्यतिबेला बाबुराम आचार्यले जय पृथ्वीबहादुरले यो यो राष्ट्रिय योगदान गरेका हुन्, यिनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भनेका भए त्यतिबेलै हुने थिए ।” अभियन्ता सिंह भन्छन्, “त्यसपछिका सरकारलाई पनि राज्यका लागि तथा अन्तर्राष्ट्रिय जगतमा उनको योगदानबारे जानकारी दिने र राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भन्ने मान्छे नभएर ढिलासुस्ती भएको रहेछ ।”

अभियन्ता सिंहले जय पृथ्वीबहादुर सिंहका बारेका सम्पूर्ण तथ्य राखेर नेपाल प्रज्ञा प्रतिष्ठानमा निवेदन दिएका थिए । त्यो निवेदन प्रज्ञाले प्रज्ञा परिषद्मा निर्णय गराई संस्कृति मन्त्रालयमा पेस भयो । अनि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमा सिफारिस गर्‍यो र गृह मन्त्रालयले मन्त्री परिषद्मा पेस गरी राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गराएको हो । 

थप सम्मान 

राष्ट्रिय विभूति घोषणा भइसकेपछि अब सरकारले के गर्छ भन्ने थाहा नभएको बताउँछन् अभियन्ता सिंह । तर राष्ट्रिय विभूति घोषणा भएपछि तिनका बारेमा अध्ययन, अनुसन्धान बृहत् रूपमा हुँदै जान्छ । विभिन्न तहमा अध्ययनका लागि पाठ्यक्रममा पर्छ । यसले दीर्घकालसम्म जय पृथ्वीबहादुर सिंहको चर्चा हुन्छ ।

 जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गराउने अभियन्ता सिंहले २०५१ सालदेखि भगीरथ प्रयास गरेका छन् । तपाईं र जय पृथ्वीबहादुरको नाता पो छ कि भन्ने प्रश्नमा उनी भन्छन्– “उनको र मेरो खासै नाता छैन तर वंश भने एउटै हो । मलाई खट्केको कुरा चाहिँ जय पृथ्वीबहादुर सिंहको ह्युमानिजम भन्ने जुन दर्शन छ, त्यो दर्शन ओझेलमा पर्‍यो, बाहिर आएन भनेर यतातर्फ लागेको हुँ ।”

धेरै नेपाली विद्वानहरू त्यो दर्शनबारे अनभिज्ञ रहेको उनी बताउँछन् । यो किताबमा जय पृथ्वीबहादुरको ह्युमानिजम फिलोसोफी छ, उनको दर्शन नै ओझेलमा पर्‍यो । “विश्वमा मान्छे मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने त्यत्रो कुराको दर्शन दिँदादिँदै पनि ओझेलमा परे,” अभियन्ता सिंह भन्छन्, “सन् १९२८ मा युरोप, अमेरिकामा त्यो किताब बारेको उनको अन्तरवार्ता छापिएको रहेछ । त्यहाँ प्रचार प्रसार भएछ तर नेपालमा चाहिँ त्यो किताब कसैले पढ्न पाएनछन् ।”

अन्ततः सरकारले गत असार ९ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । सर्वसाधारणले अब उनले लेखेका कृतिको अध्ययन, अनुसन्धान र प्रचार प्रसार गरोस् भन्छन् अभियन्ता सिंह । सरकारले ती पुस्तक विद्यालय र कलेजमा पाठ्यसामग्रीका रूपमा लागू गरेको हेर्न चाहन्छन् उनी । त्यसो गरेमा जय पृथ्वीबहादुर सिंहको ह्युमानिजम दर्शनको महत्त्व सबैले बुझ्ने उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप