शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रक्सौल नाकाबाट इन्धनको आयात बन्द, बरौलीबाट ल्याउँदा लागत बढ्ने

आइतबार, १९ असार २०७९, १२ : ४८
आइतबार, १९ असार २०७९

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले सुरक्षा स्थितिमा चासो देखाएपछि नेपाल आयल निगमले रक्सौल नाकाबाट हवाई इन्धनको आयात बन्द गरेको छ । निगमलाई आइओसीले पटक–पटक रक्सौल नाकाबाट हवाई इन्धन आयात बन्द गर्न दबाब दिएपछि बरौली नाकाबाट आयात सुरु भएको छ ।

यसअघि, निगमले रक्सौल नाकाबाटै डिजेल, पेट्रोल र हवाई इन्धन लगायतका सबै पेट्रोलियम पदार्थ आयात गर्थ्यो । नेपाल–भारत पेट्रोलियम पाइपलाइन बनेपछि डिजेल आयात पाइप लाइनबाट हुन थाल्यो । त्यसपछि, आइओसीले पेट्रोलको आयात पनि बरौलीबाट गर्न भन्दै रक्सौलबाट हुने आयात बन्द गर्न पटक–पटक दबाब दिएको थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतको अनुरोधपछि यसअघिदेखि नै पेट्रोलको आयात बरौलीबाट सुरु भइसकेको बताए । उनले हवाई इन्धनको आयात पनि बरौलीबाट सुरु भएको बताए । ‘भारतले सुरक्षामा चासो देखाएपछि आयात बरौली नाकाबाट सुरु भएको छ,’ उनले भने, ‘रक्सौलबाट आयात गर्नुभन्दा बरौलीबाट आयात गर्दा लागत थप बढ्छ ।’

काठमाडौं उपत्यका लगायत, गण्डकी, प्रदेश १, मधेश प्रदेश लगायतका क्षेत्रलाई लक्षित गरेर ल्याइने इन्धनको लागत बढ्ने उनले बताए । यस हिसाबले हवाई इन्धनको ढुवानी लागत बढ्ने र यसको भार निगमलाई पर्ने उपाध्यायको भनाइ छ ।

खासगरी, भारतले रक्सौल क्षेत्र बढी चहलपहल हुने क्षेत्र र त्यस क्षेत्रका बस्ती झुपडीबाट बनेकाले इन्धन ढुवानीमा जोखिम औंल्याएको छ । यस्तै, रक्सौल क्षेत्रको पानीको निकासमा समेत समस्या देखाउनुका साथै त्यस क्षेत्रको भण्डारण क्षमता सानो भएकाले बरौलीबाट आयात गर्न भनिरहेको थियो ।

हवाई इन्धनको मूख्य खपत क्षेत्र काठमाडौंमा दैनिक साढे ३०० किलोलिटर खपत हुने गरेको छ । एक किलोलिटरमा १००० हजार लिटर हुन्छ । यस हिसाबमा काठमाडौं उपत्यकामा दैनिक ३ लाख ५० हजार लिटर हवाई इन्धन खपत हुँदै आएको निगमको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप