शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार अबु अक्लेहको हत्यामा प्रयोग भएको गोली प्यालेस्टाइनद्वारा अमेरिकालाई हस्तान्तरण

आइतबार, १९ असार २०७९, २१ : ०९
आइतबार, १९ असार २०७९

प्यालेस्टिनी अथोरिटीले ख्यातिप्राप्त प्यालेस्टिनी–अमेरिकी पत्रकार शिरिन अबु अक्लेहको हत्यामा प्रयोग भएको गोलीलाई फोरेन्सिक परीक्षणको लागि अमेरिकी अधिकारीलाई हस्तान्तरण गरेको छ । 

कतारी टेलिभिजन च्यानल अल जजिराकी पत्रकार पत्रकार अबु अक्लेह मे ११ मा नियन्त्रित वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा इजरायली आक्रमणको रिपोर्टिङ गर्ने क्रममा मारिएकी थिइन् । 

उनको मृत्युपछि प्यालेस्टाइनी आक्रोश र अन्तर्राष्ट्रिय आलोचना सिर्जना भएको थियो । ‘प्यालेस्टाइन राज्यका सम्बन्धित पक्षले अमेरिकालाई बुलेटको अनुसन्धान गर्न सहमति दिएको छ,’ प्यालेस्टाइन अथोरिटीका महान्यायाधिवक्ता अकरम अल–खातिबले एक विज्ञप्तिमा भने । विज्ञप्ति प्यालेष्टाइनको सरकारी समाचार एजेन्सी डब्लुएएफएले प्रकाशित गरेको थियो । 

जेरूशेलमस्थित अमेरिकी कूटनीतिक अधिकारीहरूले भने यसमा तत्काल कुनै टिप्पणी गरेनन् ।  इजरायली पक्षले पनि यस विषयमा केही नबोले पनि रक्षामन्त्री बेनी गान्ट्जले गत मे महिनामा इजरायलले ‘अन्तर्राष्ट्रिय शक्तिसँग पत्रकार अबु अक्लेहको हत्याको अनुसन्धान गर्न तयार रहेको’ प्रतिक्रिया दिएका थिए ।  आफ्नै अनुसन्धानपछि प्यालेस्टाइनी अथोरिटीले पत्रकार अबु अक्लेहलाई इजरायली सैनिकले ‘नियतवश गोली हानी हत्या’ गरेको बताएको छ ।

इजरायलले यो आरोप अस्वीकार गर्दै आफू पनि अलग रुपमा हत्याको अनुसन्धान जारी राखेको बताएको थियो ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई १३–१६ मा यस क्षेत्रको भ्रमणको क्रममा प्यालेस्टिनी र इजरायली नेताहरूसँग अलग–अलग भेट गर्ने अपेक्षा गरिएको छ । भ्रमणमा अबु अक्लेहको हत्याको मुद्दा पनि उठ्न सक्छ । 

भिडियो फुटेजमा ५१ वर्षीया अबु अक्लेहले गोली हानेको बेलामा स्पष्ट रूपमा ‘प्रेस’ चिन्ह लगाइएको नीलो भेस्ट लगाएको देखिन्छ ।  हत्याको समयमा अबु अक्लेहसँग रहेको दुई सहकर्मीहरूका अनुसार कुनै सैन्यको नजिक नहुँदा हँुदै पनि आफूहरुलाई इजरायली स्नाइपरले गोली हानेको बताएका छन् । श्रोत- रोयटर्स
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप