शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीको दान पेटिका खोलियो, रकम गन्न ४ दिन लाग्ने

आइतबार, १९ असार २०७९, २२ : १३
आइतबार, १९ असार २०७९

बुद्ध जन्मस्थल लुम्बिनीको दान पेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको स्रोत मानिने दान पेटिकामा जम्मा भएको रकम गन्न ४ दिन लाग्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दान पेटिका खोलिएको हो । दान पेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सीसीटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ ।

कोषाध्यक्ष भट्टराईले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दान पेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनुसार आइतबार एउटामात्रै दान पेटिका खोलिएको हो । चार वटा दान पेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने विकास कोषले जनाएको छ ।

विगतमा दान पेटिका पटकपटक चोरी हुने गरेकोमा अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको उनले बताए । यसअघि २०७८ चैत १८ गते दान पेटिका खोलिएको थियो । १५/१५ दिनमा दान पेटिका खोल्नुपर्ने भए पनि दान पेटिका भरिएपछि मात्रै खोल्ने गरिएको विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ । जसले गर्दा दान पेटिका रकम पनि वृद्धि भएको अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप