शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धौलागिरि अस्पतालको ओसिएमसी सेवा प्रभावकारी

सोमबार, २० असार २०७९, ०६ : ३३
सोमबार, २० असार २०७९

धौलागिरि अस्पतालमा रहेको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट विगत दस वर्षमा ९०२ ले सेवा लिएका छन् । यसमा महिलाको सङ्ख्या ७९७ र पुरुषको १०५ छ । उक्त आँकडाबाट पुरुषभन्दा झण्डै आठ गुणा बढी लैङ्गिक हिंसापीडित महिलाले सेवा लिएको देखिन्छ ।

विसं २०६८ देखि सुरु भएको केन्द्रले लैङ्गिक हिंसापीडितलाई निःशुल्क उपचार, कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको छ । केन्द्रले पीडितको कानुनी उपचार र पुनःस्थापनामा पनि सघाउने गर्छ । पहिलो वर्ष २२ महिला र तीन पुरुषले सेवा लिएकामा सबैभन्दा बढी आव २०७५÷०७६ मा ११६ महिला र २० पुरुष केन्द्रबाट लाभान्वित बनेका छन् ।

चालु आवमा भने लैङ्गिक हिंसापीडित ८१ महिला र छ पुरुषले मात्र सेवा लिएको केन्द्रका ‘फोकल पर्सन’ देवी भट्टराईले जानकारी दिनुभयो । तीमध्ये बलात्कारका घटनामा २०, यौनजन्य दुव्र्यवहारमा १४, शारीरिक दुव्र्यवहारमा आठ, मानसिक दुव्र्यवहारमा ३४ र घरेलु हिंसाबाट ११ जना पीडित बनेका थिए ।

“पुरुषको तुलनामा लैङ्गिक हिंसामा पर्ने महिलाको सङ्ख्या ज्यादै ठूलो छ, पछिल्लो समय यौनजन्य हिंसाका घटना बढी देखिन थालेका छन्”, उनले भने, “केन्द्र खुलेपछि पीडित सेवा लिन आउने क्रम बढेको छ, हिंसा सहेर बस्ने, लुकाउने प्रवृत्तिमा पनि कमी आएको छ ।”

अस्पतालमा आधारित उक्त केन्द्रबाट पाउने उपचार, परामर्श सेवाले न्यायको लागि काुूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको उनको भनाइ छ । बढीजसो यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् ।

बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयासजस्ता घटनाका पीडित पनि केन्द्रमा आउँछन् । लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिन सरकारले ‘ओसिएमसी’ सेवा सुरु गरेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरेलले बताए ।

“यहाँबाट प्रदान हुने सबै सेवा निःशुल्क हुन्छ, लैङ्गिक हिंसामा परेको जुनसुकै व्यक्ति सोझै केन्द्रमा आएर सेवा लिन सक्छ”, उनले भने, “हिंसाका घटना व्यवस्थापनदेखि रोकथाम तथा नियन्त्रणमासमेत केन्द्रको भूमिका रहन्छ ।” प्रमुख चिकित्सक पोखरेलका अनुसार अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको छ । अन्य अस्पतालसम्म पुग्नलाई यातायात खर्चसमेत केन्द्रले उपलब्ध गराउँछ । 

केन्द्रमा बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाबाट समेत लैङ्गिक हिंसापीडित आउने गरेका छन् । लैङ्गिक हिंसाबाट पीडित बनेर आउनेमा बढीजसो १५ देखि ४९ वर्ष उमेर समूहका छन् । तीन वर्षको बच्चादेखि ९६ वर्षको वृद्ध महिलासम्म सेवा लिन ‘ओसिएमसी’मा आएको अस्पतालले जनाएको छ । केन्द्रमा एक जना पीडितलाई तीनदेखि पाँच दिनसम्म राखेर उपचार, कानुनी, मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराइन्छ ।

जटिल र संवेदनशील अवस्थामा भने बढी समयसम्म पनि राखेर उपचार गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय, अल्पकालीन सेवा केन्द्र, बाल कल्याण समिति र अस्पतालकै अन्य विभागबाट समेत पीडित ‘ओसिएसी’को सम्पर्कमा आइपुग्छन् । 

कतिपय पीडित भने सिधै ‘ओसिएमसी’मा आउने गरेका छन् । केन्द्रले पीडितलाई खाना, आवास, सुरक्षा, कानुनी परामर्शलगायतका सेवा उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालयलगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ । अस्पतालको छुट्टै कक्षमा ‘ओसिएमसी’ सञ्चालित छ । 

अस्पताल भवन निर्माणाधीन भएकाले अहिलेलाई एउटै कोठाबाट सेवा सञ्चालन भइरहेको छ । केन्द्रमा एक जना नर्सलाई पूर्णकालीन सेवामा राखिएको छ भने अरु स्वास्थ्यकर्मी÷चिकित्सकले आवश्यकताअनुसार सेवा दिँदै आएका छन् । सरकारले लैङ्गिक हिंसाविरुद्धको कार्य योजना–२०१० का आधारमा विभिन्न जिल्लामा ‘ओसिएमसी’ सेवा सञ्चालनमा ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप