शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग :  मनका गरीबी बढी पीडादायक हुन्छ

सोमबार, २० असार २०७९, ११ : २३
सोमबार, २० असार २०७९

कुनै दिन एकजना साधु कतै जाँदै थिए । बाटामा एउटा सुनको सिक्का फेला पारेछन् । हेरे, आपूmलाई त्यसको आवश्यकता थिएन । त्यसैले कुनै गरीबलाई दिनुपर्ला भनेर राखेका रहेछन् । समय बित्दै गयो तर खोजेजस्तो गरीब फेला परिरहेका थिएनन् । यस्तैमा एकदिन देशका राजा दलबल सहित छिमेकी देशमा आक्रमण गर्न हिँडेको देखेर सिक्का त्यतै हुत्याइदिए । आफूजस्तो राजाका अघि जोगीले सिक्का फ्याँकेको उनलाई मन परेन र गाली गर्दै भने–

‘यो के गरेको ? संन्यासी भएर पनि यसरी जिस्क्याउन लाज लाग्दैन ? शरीर हेर्दा वृद्ध देखिन्छौ व्यवहार हेर्दा बालक । कि काम गरेर खान गाह्रो लागेर संन्यासीको खोल ओडिबसेका हौ ?’

‘जिस्क्याएको होइन महाराज ! दान गरेको ।’

‘यस्तो पनि दान हुन्छ ? फेरि दान गर्ने तरिका पनि कस्तो हेर न कस्तो ।’

‘खोइ महाराज ! त्यो त थाहा भएन तर मैले त दानै गरेको हुँ ।’

‘म जस्तो राजालाई एउटा सिक्का दान ?’

‘साथमा त्यति नै थियो ।’

‘किन गर्नुपरेको थियो त ? थोरै माग्न आएको थिएँ ।’

‘माग्नुभयो भनेर दिएको होइन महाराज !’

‘किन दिएको त ?’

त्यसपछि साधुले बेलीबिस्तार लगाउँदै भने–

‘यस सिक्कालाई कुनै दिन बाटामा भेटेको हुँ । आफ्ना कामको नभएकाले कुनै गरीबलाई दिउँला भनेर राखेको थिएँ तर भनेजस्तो गरीब फेला परेका थिएनन् तर तपाईँलाई देख्नासाथ मनले भन्यो यीभन्दा गरीब अर्को भेटिन्न ।’

‘मलाई त्यस्तो गरीब देख्नुको कारण ?’

‘यसमा ठूलै कारण छ ।’

‘जस्तै ?’

‘जस्तै यही कि यतिबेला तपाईँभन्दा ठूलो गरीब संसारमै कतै छैन ।’

‘म यसै देशको राजा हुँ भन्ने थाहा छैन ?’

‘हो, थाहा छ ।’

‘अनि कसरी त्यस्तो गरीब देख्यौ त ? राजा पनि गरीब हुन्छ कतै ?’

‘गरीब नभए किन छिमेकीको सम्पत्तिमा आँखा गाड्दै हुनुहुन्छ त महाराज !’

साधुको कुरा सुनेर राजा झस्के र तत्कालै सेना फिर्ता गरी घरतिर लागे । त्यस दिनदेखि कहिल्यै अर्काे राज्यमाथि आक्रमण गरेनन् ।

यो एउटा दृष्टान्त हो । जहाँ पनि लालची मानिसको अवस्था यस्तै हुन्छ । गरीब हुनु भनेको धन नहुनु मात्र होइन । मानिसलाई धनले भन्दा बढी गरीब मनले बनाउँछ । मन गरीब भए संसारभरीकै सम्पत्ति पाए पनि कुनै अर्थ रहन्न । होइन मनलाई नियन्त्रणमा राख्न सक्ने हो भने जे मिल्छ त्यसैमा चित्त बुझाएर सुखी हुन सकिन्छ ।

यसको अर्थ धनसम्पत्तिको अर्थ छैन भन्ने पनि होइन र धनसम्पत्ति कमाउन खोज्नुहुन्न भन्ने पनि होइन । धनसम्पत्ति कमाउनुपर्छ, कमाउनुपर्छ मात्र होइन बढी नै कमाउनुपर्छ, कमाउन खोज्नुपर्छ । यो विना त व्यवहार नै चल्दैन तर त्यति मात्र कमाउनुपर्छ वा कमाउने ईच्छा गर्नुपर्छ जति आफ्नो क्षमताले धान्न सक्छ । त्यसैले पैसा कमाउने ईच्छा हुनेले पहिले क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्छ । अर्काको सम्पत्ति खोस्दैमा कोही पनि ठूलो मानिस हुँदैन । यस्ता मानिस चोर हुन्, लुच्चा हुन्, लुटाहा हुन्, जो न कहिल्यै धनी हुन सक्छन् न दानी र मानी नै ।

यसै पनि आफ्नो भनेको पेटमा गएको जति मात्र हो । त्यो पनि पेटले पचाउन सकेको जति मात्र । राम्रो देख्दैमा र मीठो लाग्दैमा पेटले पचाउन सक्नेभन्दा बढी खाने हो भने जसको हो उसैले फिर्ता लान्छ अर्कै तरिकाले । जसरी धेरै खान चाहनेले पहिले पाचन शक्ति बढाउनुपर्ने हुन्छ त्यसैगरी धनसम्पत्ति कमाउन चाहनेले पहिले कमाउने तरिका सिक्नुपर्छ, क्षमता बढाउनुपर्छ । सामान त्यति मात्र उठाउन सुहाउँछ भाँडो जत्रो छ । होइन भने कुनै पनि बिस्फोट हुन्छ र भएको पनि पोखिन सक्छ । 

भागवतमा एउटा कथा छ, व्यासजीले भनेका । प्राचीनकालमा ययाति नामका राजा थिए । उनी यति बढी कामुक थिए कि साथमा विवाहित पत्नी हुँदाहुँदै दाशीलाई पनि भित्र्याए । तैपनि उनको मनले सन्तुष्टि दिएन र कान्छो छोरा पुरुसितसमेत जावानी साट्न पुगेका थिए, जसले गर्दा पछि गएर यति बढी दुःख पाउनुपर्‍यो कि स्वर्ग, मत्र्य, पाताल यहाँसम्म कि नरकमा समेत बास नपाएर अन्तरिक्षमा झुण्डिनुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप