शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्थ क्यारिलोना र ड्यालसमा नेपालीको भेला : काँग्रेस महामन्त्री शर्मा र नेता रिजाल सहभागी

राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश दुईतिर बाँडियो
मङ्गलबार, २१ असार २०७९, १२ : ४६
मङ्गलबार, २१ असार २०७९

अमेरिकाको नर्थ क्यारिलोना र ड्यालसमा अमेरिकामा बस्ने नेपालीहरुको सम्मेलन भइरहेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) को नर्थ क्यारिलोना र एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को ड्यालसमा सम्मेलन जारी छ । 

पछिल्लो समय एनआरएनए एनसीसी विभाजित भएपछि दुईवटा सम्मेलन आयोजना गरिएको थियो । नर्थ क्यारिलोनामा आइतबार र सोमबार एनआरएनए एनसीसीको ११ औं वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेन भइरहेको छ ।
यता एनआरएनए एनसीसी अमेरिकासँग असन्तुष्ट समूहको  पनि सम्मेलन ड्यालसमा चलिरहेको छ  । जहाँ एनआरएनए एनसीसी मात्र विभाजित भएको छैन नेपाली काँग्रेसका नेताहरु पनि विभाजित देखिएका छन् । एनआरएनए एनसीसीको ज्ञान सम्मेलन तथा साधारण सभामा काँग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको टोली सहभागी छ ।

शर्माको टोलीमा काँग्रेसका केन्द्रीय सदस्य प्रतिमा गौतम, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा नेताहरु मनोजमणि आचार्य, शंकर डांगी, बंसलाल तामाङ, अमृत भट्टचन र महेश खनाल  छन् । साथै शर्मा पत्नी कविता शर्मा पनि सोही सम्मेलनमा सहभागी छिन् । 

नर्थक्यारिलोना सम्मेलनमा एनआरएनएका अध्यक्षद्वय  कुल आचार्य र रविन थापा, महासचिवद्वय केशव पौडेल र गौरी जोशी पनि सहभागी छन् । महामन्त्री शर्माको प्रमुख आतिथ्यमा दुई दिनसम्म चल्ने उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत प्रस्तुत गरिनेछ ।

साधारणसभामा महासचिव र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमाथि छलफल भइ पारित गरिनेछ । गैरआवासीय नेपाली नागरिकता, विधान संशोधन र संस्थाले एक वर्ष बीचमा गरेका कार्यक्रमको समीक्षा साथै भावी कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको छ ।

यता टेक्सस ड्यालसमा एएनएको सम्मेलन काँग्रेस नेता डा.मिनेन्द्र रिजालले उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी थिए । दुई दिने उक्त सम्मेलनमा अमेरिका र क्यानडामा रहेका नेपालीहरुको सहभागिता थियो । 

एएनएका अध्यक्ष विजयराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय अर्भिङ सिटीका मेयर रिक स्टोफर, कोपेलका मेयर वेज मेयस, टेक्ससको तल्लो सदनकी सदस्य टेरी मेजा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएका महासचिव गौरीराज जोशी, एएनएका प्याट्रोन अञ्जन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पठाएको शुभकामना सन्देश समेत पढेर सुनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप