शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभाजनको धम्कीपछि इस्तियाक समूहलाई ‘लट्री’ !

सोमबार, २० असार २०७९, २२ : १०
सोमबार, २० असार २०७९

जनता समाजवादी पार्टी(जसपा) पार्टी विभाजनको धम्की दिएर मोहम्मद इस्तियाक राई समूहले तीन वटा मन्त्री पद हत्याउन सफल भएको छ । पार्टी नै विभाजन गरेर जाने धम्की दिएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई मन्त्री बनाएर थामथुम पार्न बाध्य बनेका हुन् ।

इस्तियाक समूहबाट उनीसहित प्रदीप यादव र मृगेन्द्र सिंह यादव मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राईलाई भौतिक पूर्वाधार, प्रदीप यादवलाई वन तथा वातावरण र मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपक्षी मन्त्रीको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीले आज चार बजे शीतल निवासमा गराउने भएकी छिन् ।

इस्तियाक राई पहिलो पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका थिए । ओलीको दोस्रो कार्यकालमा पनि उनले मन्त्री हुनका लागि निक्कै जोडबल गरेका थिए । तर उपेन्द्र यादव आफै नेतृत्व गरेर सरकारमा गएका कारण इस्तियाक समूह सरकारमा जान पाएन । सरकारमा जान नपाएपछि इस्तियाकसहित प्रदीप यादव,मृगेन्द्रकुमार सिंह, रेनु यादव,सुरेन्द्र यादव लगायतले सो समूहले ओलीलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन आग्रह गरेका थिए । उनकै जोडबलमा ओलीले अध्यादेश ल्याए पनि तत्कालीन नेकपामा अप्ठ्यारो पारेकाले उनी सो अध्यादेश फिर्ता गर्न बाध्य भए । त्यतिबेला सांसद सुरेन्द्र यादवलाई ‘अपहरण’ नै गरेको आरोप ओलीमाथि लागेको थियो । उता उपेन्द्र यादवले तत्कालै राजपासँग एकता गरेर विभाजन रोकेका थिए । 

ओली नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका इस्तियाक समूह देउवा नेतृत्वको सरकारमा जान खोजेको थियो । तर अध्यक्ष उपेन्द्रले इस्तियाक समूहका सबै सांसदलाई मन्त्री बनाउन नसकेपछि उनी बाबुराम भट्टराई कित्तामा उभिए । इस्तियाक समूह बाबुराम कित्तामा उभिएपछि सो गुटले उपेन्द्रलाई अध्यक्षबाटै हटाउनेसम्मको कसरत गरेको थियो । 

उपेन्द्रले आफूलाई हटाउने योजना बुझे लगतै तीन सदस्यीय सचिवालय बनाएर सामूहिक निर्णयमा जान सहमत भए । केही समय विवाद साम्य भए पनि स्थानीय चुनाव पछि फेरि सो गुटले पार्टी विभाजनसम्मकै तयारी सुरु गरेको थियो । अन्त्यमा बाबुराम पक्ष जसपाबाटै पार्टी नै विभाजन गरेर जाने भएपछि इस्तियाक समूहलाई उपेन्द्रले मन्त्री बनाएर आफ्नो कित्तामा उभ्याउन बाध्य भए । त्यसका लागि गठबन्धनका नेताहरूले समेत सहयोग गरेको बुझिएको छ ।

जसपाका एक सांसदले भने, ‘उपेन्द्रजीलाई जसले धम्काउँछन्, जसले धुर्की देखाउँछन् उहाँले त्यसैलाई मन्त्री बनाउनु हुन्छ । जो सोझा सिधा छन्, सधैँ साथमा हुन्छन् उनीहरुलाई उहाँले खोज्दा पनि खोज्नु हुन्न । मन्त्री बनेका तीनै जना एक हप्ताअघिसम्म बाबुरामको साथमा थिए, त्यो कुरा सबैलाई थाहा छ । तर मन्त्री पद पाएपछि फर्केर आएका छन् । मन्त्रीकै लागि उनीहरुले यी सब गरेको कुरा अब छर्लङ्ग भएको छ ।’ 

‘मृगेन्द्रकुमार सिंह यादव पनि एक पटक कृषि मन्त्री भइसकेका हुन् । पटक पटक मन्त्री भइसकेकालाई पनि मन्त्री दिएकोमा पार्टीभित्र असन्तुष्टि बढेको हो । इस्तियाक राइलाई नै किन पटक पटक मन्त्री चाहिन्छ, पार्टीले उनलाई यसअघि दुई पटक मन्त्री बनाई सकेको थियो,’ ती सांसदले भने, ’जो मन्त्री भएका छैनन्, पार्टीमा जसको योगदान छ, त्यस्ता व्यक्तिलाई मन्त्री दिनुपर्ने थियो तर पार्टी नेतृत्व यसपटक पनि चुक्यो ।’  

मन्त्री पाएपछि इस्तियाक समूह तत्कालका लागि उपेन्द्र कित्तामा उभिएको छ । तर सो समूह कहिलेसम्म यही कित्ता उभिन्छ भन्ने चाहिँ यकिन छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप