शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने

सोमबार, २० असार २०७९, १४ : ११
सोमबार, २० असार २०७९

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् ।

सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका हुन् । 

कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतालमा कोषको परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भ गरेसँगै कोषमा आबद्ध श्रमिकले  निःशुल्क रूपमा तोकिएका अस्पतालहरूमा उपचार गराउन पाउने छन् । 

स्वचालित विद्युतीय प्रणालीको शुभारम्भ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूको लागि यो सेवा थप बिस्तार गर्दै लगिने बताए । उहाँले श्रमिक वर्ग अहिले पनि सबैबाट पीडित रहेकाले सुरक्षा कोषको यो स्वास्थ्य सेवाले उनीहरूलाई सहज बनाउने दाबी गरे । 

उनले भने, ‘श्रमिकहरूले आफ्नो स्वास्थ्य उपचार गर्नको लागि अस्पतालहरूमा लाइन लागेर उपचार गर्न बाध्य छन् । उनीहरूको स्वास्थ्यमा समस्या हुँदा लाइनमा बस्दा झन् समस्या बढ्न सक्छ । तर सामाजिक सुरक्षा कोषले सुरुवात गरेको अनलाइन प्रणालीले त्यस्ता श्रमिकहरूलाई सहज हुनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले स्वास्थ्य उपचार गरे बापत अस्पताललाई भुक्तानी दिनुपर्ने रकम अस्पतालले अनलाइन माध्यमबाट गर्न सक्ने भएको छ । डिजिटल प्रविधिको तीव्र विकास भइरहेको छ । मानिसहरू डिजिटल प्रविधि प्रयोग गर्न आतुर हुनुहुन्छ । हामीले सुरु गरेको प्रणालीबाट योगदानमा आधारित सहभागी श्रमिकहरूले लाभ लिनुहुनेछ । केही स्थानमा मात्रै सुरु भएको अझै दूरजराजमा अप्ठ्यारो छ ।  अब यो सेवालाई सामाजिक सुरक्षा कोषले दायरा बढाउने, धेरै श्रमिकहरूलाई सुरक्षा कोषमा आबद्धता बढाउने र दूरदराजमा समेत यो सेवा पुर्‍याएर त्यहाँका श्रमिकहरुले पनि यो सेवा पाउने बनाउनुपर्छ । यो कुरामा सबै एक भएर लाग्नुपर्ने आवश्यकता छ । कोषलाई व्यवस्थित कसरी गर्ने,श्रमिकको हितमा कसरी काम गर्ने,श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष हाम्रो र हाम्रो लागि हो भनेर अनुभूति गराएर सबै श्रमिकहरूलाई आबद्ध गराउने काम गर्दै जाने छौँ । सामाजिक सेवा कोषको बिस्तार गरी सेवा दिने कार्यालयहरू नेपालभर कसरी पुर्‍याउने र सबै ठाउँबाट काठमाडौँ नै आउनुपर्ने कुराको अन्त्य कसरी गर्ने भन्ने सोच्न जरुरी छ ।’

कोषले परीक्षणकालमा योगदान कर्ताले औषधि उपचार गराएकै दिन सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गर्न थालिसकेको बताएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली सुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आबद्ध श्रमिकहरूले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुपर्ने थियो । तर अब अस्पतालमा सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सक्नेछन् । अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत लिएर कोषलाई जानकारी गराए पश्चात अस्पताललाई अनलाइनमार्फत नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली सुरु गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कतिपय अस्पतालले एमओयू र अनलाइन प्रणाली एकैसाथ सुरु गर्ने गरी तयारी पनि भइरहेको छ । कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालमा बागमतीका ९ अस्पताल र प्रदेश १ का ८, मधेस प्रदेशका ५, लुम्बिनीका ३ र गण्डकीका १ अस्पताल रहेको कोषले बताएको छ । अनलाइन प्रणाली जडान भएका अस्पतालहरूमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बीएण्ड सी हस्पीटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टर रहेका छन् ।  

यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सक्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप