शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हार स्वीकार्छु, तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँ :  रवीन्द्र मिश्र

सोमबार, २० असार २०७९, २० : ००
सोमबार, २० असार २०७९

विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताएका छन् । उनले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष मिश्रले आफ्नो जन्मदिनमा पाएको शुभकामना सन्देशले आफूलाई शक्ति प्रदान गरेको बताएका छन् । ‘जन्मदिनमा अरू वर्ष पनि धेरै शुभेच्छुकहरूले शुभेच्छा प्रकट गर्नुहुन्थ्यो । खुसी लाग्थ्यो । तर यो वर्ष, आज पाएका सन्देशहरूले खुसी सँगसँगै मलाई ठूलो शक्ति पनि प्रदान गरेको छ । तपाईंहरू सबैलाई नमन गर्न चाहन्छु’, मिश्रले भनेका छन् ।

साथै उनले सबैले अघि बढ्न प्रेरणा दिनुभएको भन्दै कतिपयले पछि हटेको हो कि भन्ने आशङ्का व्यक्त गरे पनि आफू पछि नहटेको बताएका छन् । ‘बरु पहिलेभन्दा अझ स्पष्ट रूपमा एक कदम अघि बढ्नेछु । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम हुँदो रहेछ, राजनीति गर्नु पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो’, मिश्रले भनेका छन् ।

उनले पछिल्लो समयमा कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर आफ्ना दृष्टिकोणहरू बनाएको पनि बताएका छन् । तत्कालको व्यक्तिगत सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो भन्नेमा दृढ रहेको पनि मिश्रको भनाइ छ ।

उनले यो देशलाई घात हुने काम गर्ने छैन भन्दै वैचारिक विमतिहरूलाई म सदा झैँ शिष्टतापूर्वक ग्रहण गर्ने बताएका छन् । ‘हार स्वीकार गर्नेछु तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्ने छैन । एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा मेरो साथ रहिरहने छ’, मिश्रले अठोट व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप