मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश : मन्त्रीकै स्वार्थमा ‘असारे विकास’ भएको प्रतिपक्षको आरोप, संसदीय छानबिन माग

सोमबार, २० असार २०७९, १५ : २५
सोमबार, २० असार २०७९

मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले चालु आर्थिक वर्षको अन्तिम महिनामा विकासे कामको नाममा ब्रह्मलुट भएको भन्दै सोको बारेमा जवाफ माग गरेका छन् । मधेस प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले यसबारे छानबिनका लागि संसदीय समिति गठन गर्न पनि माग गरे । उनले प्रक्रियागत रुपमा मन्त्री शैलेन्द्रप्रसाद साहले कार्य नगरेको र सिंचाईको नाममा रकम अनियमितता भएको भन्दै छानविनको माग गरेका हुन् ।

उनले समिति गठनका लागि सभामुख सरोजकुमार यादव समक्ष आग्रह गरेपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रमुख सचेतक साहले अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आफ्नै निर्देशनमा सरोकारवाला मन्त्रालयलाई जानकारी नै नदिई नियमविपरीत कार्य गरिरहेको भन्दै आपत्ति जनाए ।

लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले सदन नै अवरुद्ध गर्ने चेतावनी दिएपछि अर्थमन्त्री शैलेन्द्र साहले जवाफ दिँदै प्रक्रियागत रुपमै कार्यविधिको परिधिभित्र रहेर सप्तरीका नदी नियन्त्रणका लागि उपभोक्ता समिति अनुसार नै बजेट दिइएको बताए ।

प्रदेश सांसद रानी शर्मा तिवारीले मन्त्री शैलेन्द्र साहको मौखिक जानकारीले आफू सन्तुष्ट नरहेको भन्दै विशेष समितिबाट छानबिन गर्न माग गरिन् । उनले भनिन्, ‘विकास निर्माण राम्रो कुरा हो, तर यसको नाममा असार महिनामै द्रुतगतिमा विकासका नाममा मन्त्रीहरुले बजेट आफ्नो अनुकुल क्षेत्रमा लगेर दुरुपयोग गरिरहेका छन् । रेडबुकमा रहेको कुरालाई पनि बेवास्ता गर्नुले बजेट र रेड बुकमाथिको छलफल पनि बेकार हो ।’

त्यस्तै प्रदेश सांसद रमेश पटेलले विकास निर्माणको काम असार महिनामा तीव्रगतिमा भएकाले सोमाथि छानबिनका लागि समिति गठन गर्न माग गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप