मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी बैठकमा १५ बुँदे प्रस्ताव : संसदमा थकित अनुहार निषेध, भागबण्डामा काँग्रेससँग ‘जेन्टलमेन एग्रिमेन्ट’ !

सोमबार, २० असार २०७९, १५ : ३०
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा १५ बुँदे प्रस्ताव पेश भएको छ । सोमबारको बैठकमा केन्द्रीय समिति सदस्य तथा प्रदेश विशेष समन्वय समितिका अध्यक्ष ओम शर्माले पेश गरेको ‘बैठकमा सार्वजनिक महत्वका विषयमा उठेका एजेण्डा र प्रश्नहरु’ शीर्षको प्रस्तावमा आगामी संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रस्तावमा शर्माले संसदमा थकित अनुहारलाई निषेध गर्दै युवा पुस्तालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिएका छन् । ‘संसदमा कार्यसम्पादन कमजोर भएका पुरानै र थकित अनुहार, भविष्यमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई रोजगारीका लागि मात्र संसद पठाउने गल्ती गर्नु हुँदैन’, उनको प्रस्तावमा भनिएको छ, ‘यो प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशका तर्फ पनि लागू गर्नुपर्छ ।’ औचित्य पुष्टि नभएसम्म ०६३ यता चार पटक संसद भएकालाई यसपटक उम्मेदवारी नबनाउने ऐतिहासिक निर्णय लिइनुपर्नेमा पनि प्रस्तावमा जोड दिइएको छ ।  यसो गर्दा युवा पुस्तालाई संसदमा प्रवेश गर्ने बाटो खुला हुने प्रस्तावमा भनिएको छ । श्रीमान–श्रीमतीलाई त कुनैपनि मूल्यमा संसद छिराउने दुस्साहस गर्न नहुने उनको भनाइ छ ।

एउटा निर्वाचन जित्ने र अर्कोको तयारीमा लाग्ने वा निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करबाट बाहिर निस्कने र पार्टीलाई बलियो बनाएर जित सुनिश्चित गर्ने आधार तयार पार्ने हो भने पार्टीले ऐतिहासिक निर्णय लिनैपर्ने प्रस्तावमा उल्लेख छ । प्रस्तावमा पार्टीको लोकप्रिय मत बढाउने रणनीति तय गर्नुपर्ने र सशक्त चुनावी एजेन्डा तय गर्नुपर्नेमा जोड दिइएको छ । ‘संघको चुनावमा जनताले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादनको पनि मूल्यांकन गर्ने भएकाले हाम्रो पार्टीका प्रदेश सरकार, स्थानीय सरकारले जनताको मन जित्ने प्रकृतिका चुनावी कार्यक्रम ल्याउन पर्दछ’, प्रस्तावमा भनिएको छ, ‘गठबन्धन वा तालमेलमार्फत हामीले प्रत्यक्षतर्फ ठिकै सिट जित्न सक्छौँ । तर, अहिलेको मुख्य विषय समानुपातिक मार्फत हामीले हाम्रो शक्ति प्रदर्शन गर्नुपर्छ । यसका लागि समानुपातिक तर्फको सूचीमा देशले विश्वास गरेका विभिन्न क्षेत्रका १५–२० जना प्रतिष्ठित/विज्ञ व्यक्तिहरु समेट्नु पर्छ । ताकि प्रतिष्ठित/विज्ञहरु माओवादीका सम्पती हुन् भन्ने सन्देश दिनुपर्छ । यसैको बलमा हामीले चार–पाँचलाख मतसम्म बढाउन सक्छौं ।’

काँग्रेससँग ‘जेन्टलमेन एग्रिमेन्ट’ हुनुपर्छ

प्रस्तावमा तालमेलमा काँग्रेससँग मात्र भर पर्न नहुनेमा जोड दिइएको छ ।  यदि कांँग्रेससँग तालमेल गर्ने हो भने चुनाव अगाडि नै सातै प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिसम्मको भागबण्डामा पहिला नै ‘जेन्टलमेन एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरिएको छ । ‘स्थानीय तहको मोडालिटीमा तालमेल जाँदा काँग्रेस बहुमतको नजिक पुग्न सक्छ । त्यसकारण तालमेलमा अलि फराकिलो सोच राख्नुपर्छ’, प्रस्तावमा भनिएको छ, ‘काँग्रेससँग तालमेल हुन नसक्ने ठाउँमा अन्य विकल्प खुला राख्नुपर्छ । यदि काँग्रेससँग तालमेल गर्ने हो भने चुनाव अगाडि नै सातै प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिसम्मको भागबण्डामा पहिला नै जेन्टलमेन एग्रिमेन्ट गर्नुपर्छ ।’

 पार्टीको स्पेश कहाँ छ ?

प्रस्तावमा पार्टीमा सबैलाई समेट्ने गरी एजेण्डा बनाइनुपर्नेमा पनि जोड दिइएको छ । ‘राजनीतिप्रति धेरै आशक्त नभएको मानिसहरु स्वतन्त्र वा नयाँ पार्टीतर्फ मोडिन सक्छन्, हिन्दुत्वको धार्मिक मुद्दामा राप्रपा चुनाव लडन सक्छ, काँग्रेस र एमालेको बलियो संगठनात्मक शक्ति र बलियो जनआधार छ । मधेशको शक्ति सन्तुलन अझै फरक छ । यस्तो अवस्थामा हाम्रो स्पेस कहाँ हो ? यो विषयमा मन्थन गर्न पार्टी निकटका राजनीतिक विश्लेषकहरुको एउटा कार्यदल बनाउनु पर्छ’, प्रस्तावमा भनिएको छ ।  एक महिनामा प्रतिवेदन आउने गरी कार्यदल गठन र त्यसबाट प्राप्त सुझावका आधारमा चुनावी एजेन्डा तय गरिनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

ठुला शहरहरु र राजधानीमा पार्टीको अवस्था दयनीय विशेष राजनीतिक र संगठनात्मक अभियान चलाइनु पर्नेमा पनि जोड दिइएको छ । यस्तै पार्टीलाई विधिसम्मत चलाइनुपर्ने, केन्द्रीय कार्यालयलाई चलायमान बनाइनुपर्ने, पार्टीले लिने हरेक निर्णयहरु पारदर्शी र संस्थागत हुनुपर्ने, योग्यता क्षमता अनुसारको जिम्मेवारी दिइनुपर्नेलगायतका विषय पनि १५ बुँदेमा समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप