मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

मङ्गलबार, २१ असार २०७९, १५ : ४४
मङ्गलबार, २१ असार २०७९

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले फुटपाथ व्यवसायी र ठेलागाडा व्यवसायीको व्यवस्थापन राम्रोसँग गरेका छौं । जथाभावी छाडेका छैनौं ।’ विगत डेढ वर्ष यता ललितपुर महानगरमा फुटपाथ र महानगर प्रहरीबीच झगडा नभएको उनी बताउँछन् ।

सबै फुटपाथ पसलहरूलाई डेढ वर्षसम्म सामान जफत नगरीकन आदरपूर्वक ‘तपाईहरूले बाटोमा सामान राख्दा बटुवा र सवारी साधनलाई समस्या पर्छ । तपाईंको एउटा पसलले गर्दा हजारौं मानिस हिँड्न समस्या भयो’ भनेर माइकिङ गरेको उनले सुनाए ।

हाछेथु भन्छन्, ‘गाडी गुड्ने ठाउँमा र मान्छे हिँड्ने बाटोमा पसल नराख्न पटक–पटक अनुरोध गरेका छौं ।’

यस्तै, महानगरले बिहान ८ बजेसम्म ललितपुरका निश्चित ठाउँ तोकेर तरकारी बेच्न दिने गरेको छ भने बेलुका ५ बजेदेखि मात्रै त्यस्ता पसल राख्न पाउने व्यवस्था गरेको छ । फुटपाथ राख्न नदिने पक्षमा ललितपुर महानगर नभए पनि यसलाई व्यवस्थित गर्नुपर्नेमा भने महानगर स्पष्ट छ । यसैगरी, पछिल्लो डेढ वर्ष यता फुटपाथ पसले र महानगर प्रहरीबीच झगडा नभएको हाछेथु सम्झन्छन् ।

ललितपुर महानगरले सवारी गुड्ने मुख्य सडकलाई ठेलागाडा, रिक्सा र फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा यस प्रकारका व्यवसाय गर्नै पाइँदैन । यदि कोही ठेला गाढावाला र रिक्सावाला आएमा ठेलागाढालाई २००० रुपैयाँ र रिक्सालाई १००० चिट काटिन्छ । यस्तो व्यवस्था गरेपछि निषेधित क्षेत्रमा फुटपाथ पसल र ठेलागाढा नै आउँदैनन् ।

लगनखेलदेखि सातदोबाटोसम्म र कुमारीपाटी क्षेत्रमा घर भत्काएर सडक बढाइएको ठाउँमा फुटपाथ पसल राख्न पाइँदैन । ‘त्यस क्षेत्रमा प्रतिआना १ करोड रुपैयाँसम्म पर्ने सडक भत्काएर जाम घटाउन सडक बढाइएको छ,’ हाछेथु भन्छन्, ‘त्यसक्षेत्रमा फुटपाथ राख्न दिएरै हुँदैन ।’ घर भत्काएका ठाउँमा ठेला, रिक्सा र फुटपाथ राखेमा पूर्व घरधनीहरू आन्दोलितसम्म हुन सक्ने उनको आँकलन छ ।

पुल्चोक, लगनखेल, सानेपा र भैँसेपाटीका निश्चित क्षेत्र तोकेर फुटपाथ राख्न दिइएको छ । पहिलेदेखि नै फुटपाथ राखिरहेका व्यवसायीलाई महानगरले व्यवस्थित गरेको छ । नयाँ फुटपाथ पसल राख्न भने आफैले ठाउँ व्यवस्थापन गर्नुपर्ने हाछेथु बताउँछन् । महिनामा ५० हजार रुपैयाँसम्म भाडा तिर्न नसक्नेलाई सडकमा पसल राख्न दिने तर अव्यवस्थित हुन नदिने आफ्नो रणनीति रहेको उनले बताए ।

लगनखेलमा टेम्पु पार्कलाई बेलुका ५ बजेपछि हटाएर फुटपाथ राख्न दिइएको छ । बेलुका ५ बजेपछि टेम्पु नचल्ने भएकाले त्यहाँ फुटपाथ राख्न दिइएको हो । ललितपुर क्षेत्रमा फुटपाथ अतिक्रमणका समस्या आउन दिइएको छैन । यसका लागि ललितपुर महानगर प्रहरीले विदेश गएर तालिम लिनेसम्मको काम गर्ने हाछेथुले बताए । ‘काठमाडौंका महानगर प्रहरी विदेश पुगेर तालिम लिएका छैनन् । तर, हामी ललितपुरका प्रहरी समय समयमा तालिम लिइरहेका हुन्छौं,’ हाछेथुले भने, ‘यस्तै, मसँग २९ वर्षसम्म ट्राफिक प्रहरीमा सेवा गरेको अनुभव पनि छ ।’

महानगर प्रहरीका रूपमा नगरवासीको सेवा दिन आएकाले नगरमा बस्ने बासिन्दालाई दुःख नदिने पक्षमा आफूहरू रहेको उनको भनाइ छ । ‘फुटपाथलाई अस्तव्यस्त छाडेमा ललितपुरमा ठूलो समस्या आउँछ । गरिबलाई ठेला र फुटपाथ राख्न दिने निहुँमा कति जनालाई छाड्ने,’ हाछेथुले भने, ‘जसलाई पनि खुला छाड्यो भने मानिसहरू सटर छाडेर भोलिदेखि फुटथापमा आउँछन् ।’

यस्तै, ललितपुर महानगरले ठेलागाडा र रिक्साको सामान जफत समेत गर्दैन । त्यसका लागि महानगरले बोरा किनेर राखेको छ । ती बोरामा सामान राखेर व्यापारीलाई नै दिने र त्यसपछि ठेलागाडा, रिक्सा लिएर जाने र जरिवाना तिराएर छाड्ने गरेको छ । यसबाट ललितपुर महानगरको राजस्व पनि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप