अपराध

बालबालिकाका लागि काठमाडौँ पनि असुरक्षित !

चार वर्षमा ९८ जनामाथि यौन दुर्व्यवहार

person explore access_timeअसार २२, २०७९ chat_bubble_outline0

हालै ललितपुरमा आफ्नै संरक्षकबाट एक नाबालिका बलात्कृत भएको घटना बाहिरियो । बझाङको एक गाउँबाट पढाइदिन्छु भनी उनीहरुले उक्त बालिकालाई घरेलु कामदारको लागि ल्याएका थिए । तर उनी आफ्नै संरक्षकबाट तीन वर्षदेखि बलात्कृत भइरहिन् । आरोपित घरबेटी सुशील चटौतबाट बारम्बारको अत्याचार सहन नसकेपछि बालिका विद्यालयबाट घर जानै मानिनन् । त्यसपछि शिक्षिकाले प्रहरीको सम्पर्कमा पुर्‍याएका थिए । 


चैत १६ गते शिक्षिकाको सहारामा पीडितले जाहेरी दिइन् । मुद्दा प्रभावित पार्न पीडक पक्षले अनेक प्रयास गर्‍यो । जाहेरी दर्ता गर्न नदिनेदेखि पीडित बालिकालाई आफ्नै बुवाआमामार्फत् दबाब दिन लगाए । पीडक पक्षकै सहयोगमा अदालत ल्याउने र लैजाने कार्य गरे । मुद्दा हेरिरहेकी सरकारी वकिलको सरुवादेखि मुद्दामा अपनाइने बकपत्रको कार्यविधिसम्म मिचियो  । र, अन्तमा बालिकालाई बयान फिर्ता गर्न लगाइयो ।



कालीमाटी प्रहरी वृत्त महिला सेलकी इञ्चार्ज प्रहरी निरीक्षक सपना खड्काका अनुसार घरेलु कामदार राखिएको बालबालिका धेरै यौन दुर्व्यवहारको उजुरी परेको छ । साथै, सडकमा बेवारिसे भएका बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर यस्ता अनैतिक क्रियाकलापमा संलग्न गराइएको उनको भनाइ छ । 



‘शिक्षित र उच्च आयस्तर भएकाले पनि बालबालिकालाई प्रयोग गरेको पाइएका छन्, आफन्तकै छोराछोरीलाई अपराधीले सिकार बनाएका छन् । राम्रोसँग अनुसन्धान गर्ने हो भने धेरै बालबालिका यौन दुर्व्यवहारको शिकार भएको हुन सक्छन्,’ खड्का भन्छिन्, ‘हामीसँग भएको तथ्याङ्क अत्यन्त न्यून हो । घरभित्रै र आफन्तबाट हुने हिंसा सकेसम्म सेलमा आउँदैन ।’

कालीमाटी प्रहरी वृत्त महिला सेलको तथ्याङ्कअनुसार ०७५÷०७६ मा २४ बालबालिकामाथि बाल यौन दुर्व्यवहार भएको छ । त्यस्तै, ०७६÷०७७ मा २३ जना, ०७७÷०७८ मा १५ जना र ०७८÷०७९ को जेठ मसान्त सम्ममा ३६ जना बालबालिकामाथि यौन दुर्व्यवहार भएको छ । १६ वर्षभन्दा मुनिका बालबालिकालाई उनीहरूको इच्छामा वा इच्छा विपरीत कुनै वयस्क व्यक्तिले गर्ने यौनजन्य क्रियाकलाप बाल यौन दुर्व्यवहार हो ।

बाल मनोविश्लेषक सनम पौडेलका अनुसार साना बालबालिकालाई ललाइ फकाइ करणी गर्न सजिलो हुने भएका कारण यौन दुर्व्यवहारको शिकार बन्ने गरेका छन् । अर्को यो उमेरमा उनीहरू जिज्ञासु स्वभावका हुन्छन् । उनी भन्छिन्, ‘यौनका विषयमा जान्ने रुचि राख्छन् । यसैको फाइदा अपराधीहरूले उठाइरहेका छन् ।’ खानेकुरा र गिफ्ट दिएर फकाउने त्यसपछि नग्न तस्बिर खिच्ने, पछि त्यही फोटो पठाएर ब्ल्याकमेल गरी दुर्व्यवहार गर्ने गरेका छन् ।

मनोविश्लेषक पौडेलका अनुसार यस्ता घटना न्यून गर्न सबैभन्दा बढी अभिभावकले नै आफ्ना बालबालिकाको उचित रेखदेख गर्नुपर्छ । सामाजिक सञ्जालको सही प्रयोग गर्न सिकाउनुपर्छ । नचिनेको व्यक्तिलाई विश्वास नगर्ने र कोही साथी बन्न खोजेमा राम्रोसँग विचार गर्न लगाउनु पर्छ । सामाजिक सञ्जालमा चिनेको भरमा व्यक्तिगत विवरण दिने, एक्लै भेट्न जाने, आफ्ना तस्बिर साटासाट गर्ने, भिडियो च्याट गर्ने जस्ता कामबाट टाढा राख्नुपर्छ ।  त्यस्तै, अनलाइनमा यौन आशय झल्किने क्रियाकलाप गरेमा आफ्ना नजिकका व्यक्ति आमाबुवा, हजुरआमाबुवा, शिक्षक र साथीलाई सेयर गर्नुपर्छ । बालिकासम्बन्धी काम गर्ने संघसंस्थाहरुसँग सहयोग माग्ने र प्रमाणका लागि अश्लील वार्तालाप वा चित्रहरू सुरक्षित गर्न सिकाउनु पर्ने हुन्छ ।  

बाल यौन दुर्व्यवहारसम्बन्धि नेपालमा कानुन नै निकै कमजोर  छ । त्यस्तै, आर्थिक अवस्था कमजोर, शिक्षा तथा जनचेतनाको कमी, बालविवाह, लैङ्गिक असमानता, बढ्दो सामाजिक सञ्जालको प्रयोग र प्रविधिको गलत प्रयोगले बाल दुर्व्यवहार बढिरहेको छ । यसका साथै, बसाइँसराई र ‘स्वयम्सेवक–पर्यटन’ भित्रिएदेखि यस्ता प्रकारका जोखिम बढिरहेका छन् । बालबालिकाका लागि काम गर्ने संस्था इसीपीएटी इन्टरनेसनलको सूचनाअनुसार बाल यौन दुर्व्यवहार हुने ६० देशमध्ये नेपाल ३९ औं स्थानमा छ । 

दफा ६६ को उपदफा (३) बमोजिमका देहायका कार्य ‘बाल यौन दुर्व्यवहार’ ठहरिनेछ ः 

१) अश्लील चित्र, श्रव्यदृश्य वा यस्ता किसिमका सामग्री देखाउने वा देखाउन लगाउने । 

२) यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्क्याउने । 

३) अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने । 

४) यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, समाउने, अंग प्रदर्शन गर्न लगाउने वा बेहोश पार्ने ।

५) कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने । 

६) यौन सन्तुष्ट प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने । 

७) बाल यौन शोषण गर्ने वा गराउने । 

८) यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने । 

९) वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने । 

सजाय:

– कसुरदार ठहरेमा व्यक्तिले नैतिक पतन देखिने फौजदारी कसुर गरेको मानिने । 

– एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना र पन्ध्र वर्षसम्म कैद । 

– दुरुत्साहन गर्ने वा मतियार हुने व्यक्तिलाई मुख्य कसुरदातालाई हुने जरिवाना र कैदको आधा सजाय हुने । 

– एक पटक सजाय पाएको व्यक्तिले पुनः त्यस्तो कार्य गरेमा पच्चीस प्रतिशत थप सजाय हुने ।

हदम्याद

प्रचलित कानुनअनुसार कसुर भएको मितिले एक वर्ष भित्रमा मद दायर गर्नुपर्छ । मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष पुरा भएको मितिले एक वर्षसम्म कायम रहनेछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।