बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुटिनले किन भने ‘युक्रेन त्रासदी तर्फ जाँदैछ’

शुक्रबार, २४ असार २०७९, १० : २९
शुक्रबार, २४ असार २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पश्चिमी देशहरूले आफ्नो देशविरुद्ध दशकौंदेखि आक्रामक व्यवहार गरेको आरोप लगाएका छन् ।

पुटिनले बिहिबार पश्चिमी राष्ट्रहरूलाई चुनौतीसमेत दिएका छन् । पुटिनले भने, ‘रुसलाई हराउने इच्छा छ भने युद्धको मैदानमा तपाईंहरुलाई स्वागत छ । तर यस्तो गर्दा युक्रेन त्रासदीतर्फ धकेलिनेछ । ’

समाचार एजेन्सी रोयटर्सका अनुसार भ्लादिमिर पुटिनको पछिल्लो बयान शुक्रबार इन्डोनेसियामा हुने  जी–२० का विदेश मन्त्रीको बैठकभन्दा ठिक अघि आएको हो । यो बैठकमा रुसी विदेशमन्त्री सर्गेई लावारोव जी–२० को आफ्नो समकक्षीसँग बन्द कोठामा बैठक गर्ने भएका छन् ।

फेब्रुअरीमा युक्रेनमाथि हमलापछि पहिलो पटक रुसको यति ठूलो कुटनीतिज्ञले कहिल्यै पनि पश्चिमी देशको कुटनीतिज्ञसँग भेटघाट गरेका छैनन् ।

रुसी संसदका नेतालाई दिएको र टिभीमा प्रसारित भएको आफ्नो सम्बोधनमा भ्लादिमिर पुटिनले भने, ‘हामीले धेरैपटक सुनेका छौँ कि पश्चिमी देश युक्रेनका अन्तिम व्यक्ति बच्ने बेलासम्म हामीसँग लड्नेछन् । यो युक्रेनका जनताका लागि त्रासदी हो तर यस्तो लाग्छ कि स्थिति त्यता तिर नै अघि बढिरहेको छ ।’

फेब्रुअरीमा हमला भएपछि पश्चिमी देशले रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएको छ । यसले रुसलाई तनाव त दिइरहेको छ तर उसको कदम रोक्न पश्चिमी देश असफल भइरहेका छन् । पुटिनले बिहिबार भने, ‘पश्चिमी देशले चाहेको जस्तो भएन ।’

यद्यपि, युक्रेनका मुख्य मध्यस्थ मिखाइल पोदाल्याकले भ्लादिमिर पुटिनको बयान खारेज गरेका छन् । उनले पश्चिमी देशको कुनै यस्तो सामूहिक योजना नभएको बताए ।

यसैबीच युक्रेनको पूर्वी हिस्सामा लडाईँ जारी छ । यस्तै, प्रशासनले खारकिभमामा भएको हमलामा तीनजना मारिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप