शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावी अभियानका क्रममा जापानी पूर्वप्रमको हत्या–विश्व स्तब्ध

रातोपाटीको समाचारले गयो न्यायाधीशको पद
शुक्रबार, २४ असार २०७९, २२ : १२
शुक्रबार, २४ असार २०७९

आज मिति २०७९ साल असार महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ।

१. जापानी पूर्वप्रधानमन्त्रीको हत्या

शुक्रबार भएको जापानी पूर्वप्रधानमन्त्रीको हत्याले विश्व स्तब्ध भएको छ । पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी अभियानका क्रममा भाषण दिने क्रममा गोली प्रहार भएको थियो । आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि उनी त्यहाँ सम्बोधन गर्न पुगेका थिए । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ । उनले गोली प्रहार गर्नुको कारण खुलिसकेको छैन ।

चुनावी अभियानका क्रममा गोली लागेर घाइते भएका उनको शुक्रबार नै उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ताइवानका राष्ट्रपति साइ इङ वेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलवान्से, सिङ्गापुरका प्रधानमन्त्री ली सिङ लुङ, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, न्युजिल्यान्डका प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्नले पूर्व प्रधानमन्त्री आबेको निधनमा दुख व्यक्त गरेका छन् ।

यसैगरी, थाइल्याण्डका उपप्रधानमन्त्री डोन प्रमोद्विने, दक्षिण कोरियाका विदेशमन्त्री पार्क जीन, इण्डोनेशियाका विदेशमन्त्री रेण्टो मार्सुदी, फिलिपिन्सका विदेशमन्त्री इनरिक मनालो, अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङकेन, रुसका विदेशमन्त्री सेर्गेइ लाभारोभ, जापानका लागि अमेरिकाका राजदूत रम इम्यानुएलले पनि दुख व्यक्त गरेका छन् ।

२. नेपालमा शोक

नेपाल सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री  आवेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

​मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक संसदमा दर्ता गराउने निर्णय पनि गरेको छ ।

​३. रातोपाटीको समाचारले गयो न्यायाधीशको पद

न्यायपरिषद् बैठकले न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत शाहलाई न्यायपरिषद्को शुक्रबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।  योग्यता नै नपुगेकी उनी शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको खुलासा रातोपाटीले गरेको थियो ।

​४. भीआईको सुरक्षा थ्रेट कति ?

बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुकसम्बन्धी हिंसाका घटना बिरलै हुन्छन् तर, नारा सहरमा भाषण गरिरहेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार गोली प्रहार भयो । अपरिचितले हानेको दुई गोलीमध्ये पछाडिबाट एउटा गोली लागेर सिन्जो ढले । उपचारकै क्रममा उनको निधन भयो । नेपालमा पनि बेलाबेला भीआइपी र भीभीआईपीहरुमाथि भौतिक आक्रमण हुने गरेको छ । रातोपाटीले भीआईपीको सुरक्षा थ्रेटबारे एक सामाग्री प्रकाशित गरेको छ ।

​५. आइतबारदेखि भुक्तानी गर्न नपाइने

चालु आर्थिक वर्ष २०७९–८० को बजेटको ५५ प्रतिशत विकास खर्च फ्रिज हुने देखिएको छ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको हो । जुन कुल विनियोजित बजेटको ४४.७२ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो । नियमअनुसार यस आर्थिक वर्षमा आइतबारदेखि भुक्तानी गर्न पाइँदैन।

​६. ‘नैरोबी फ्लाई’ रोग

भारतसँग सीमा जोडिएका झापा लगायत तराईका जिल्लामा केही दिन यता छालासम्बन्धी रोगका बिरामीको संख्या बढ्न थालेको छ । झापास्थित दमक अस्पतालमा दुई दिन यता दैनिक ३०/३५ जना छालासम्बन्धी समस्या लिएर पुग्ने गरेका छन् ।

कतिपयले ‘नैरोबी फ्लाई’ रोग भनेर चर्चा गरिरहे पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे अध्ययन भइरहेको जनाएको छ ।

​७. माओवादी पदाधिकारीबारे

माओवादीको पदाधिकारी टुंग्याउन अध्यक्ष प्रचण्डले ४ दिन मागेका छन् । तर, त्यो समयमा माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम रहेको नेताहरुको भनाइ छ ।

८. ओलीको बोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दावी गरेका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सशस्त्र जनयुद्ध केका लागि थियो भन्ने प्रश्नको जवाफ अझै नपाएको भन्दै जनयुद्धमा राजनीतिक कार्यकर्तामात्रै मारिएको पनि बताए ।

९. यौन हिंसाका सन्दर्भमा निर्णय

बलात्कार तथा यौन हिंसाका घटनामा अबदेखि नाबालिगले ३ वर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था हुने भएको छ ।  प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरूमध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेसँगै यस्तो कानुनी व्यवस्था हुने भएको हो ।

​१०. यो पनि...

नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् । केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ ।

जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई तलव तथा सुविधा गरेर १ खर्ब ७ अर्ब ८९ करोड रहेको देखाएको छ ।

​साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ ।

​गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७–७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुव्र्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो ।

​नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

​नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । 

​पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईको निवासमा मेयर शाह र उनीबीच भेटघाट भएको हो । 

यो पनि

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप