शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमराजा खान नपाएर अमेरिका बसेको होइन’

शनिबार, २५ असार २०७९, ०९ : २४
शनिबार, २५ असार २०७९

प्रेमराजा महत नेपाली लोकसंगीतका एउटा दर्बिलो खम्बा हुन् । नेपाली सांगीतिक फाटमा ‘पानको पात’, ‘सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’, ‘सालैको पातैले’, ‘हिमचुलीमा हिउँ’ जस्ता थुप्रै चर्चित लोकगीत गाएका महत पछिल्लो समय अमेरिका बस्दै आएका छन् । उनले बेलाबेला स्वदेश फर्किएर नयाँ गीतसंगीत निकाल्ने गरेका छन् । 

१३ वर्षदेखि अमेरिकाका लागि नेपाल सरकारको अवैतनिक दूतको रूपमा समेत कार्य गर्दै आएका उनी अमेरिकाका र त्यहाँ पुग्ने हरेक नेपालीका सुख दुःखमा साथ दिने गर्छन् । महत अहिले नेपाल आएका छन् । पारिवारिक भेटघाट र नयाँ गीतसंगीत उत्पादन उद्देश्यले नेपाल आएका प्रेमराजा महतका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

आफै पकाउँछु

दालभात, तरकारी र गोलभेँडामा टिम्बुर हालेको अचार मनपर्ने खाना हो । खसी, बँदेल, बंगुर भन्दा माछा र अन्डा मनपर्छ । साथीभाई र परिवारसँग कहिलेकाहीँ रेस्टुरेन्ट जान्छु । पकाउन रुचि छ । घरमा पाहुना आउँदा आफै पकाएर खुवाउन मनपर्छ ।

छैन एक्सरसाइज

फिटनेसका लागि नियमित क्लब धाउने गर्दिन । बिहान उठेदेखि दैनिक १६ घन्टा काम गर्छु । कहिले १८ घन्टा समेत काम गर्नुपर्ने हुन्छ । कामको दौडधुपले एक्सरसाइज पुगेको छ । 

पहिरनमा सौख छैन

मनपर्ने पहिरन सर्ट पाइट, स्टकोट र टाई हो । पहिरनमा सौख छैन । फर्मल कार्यक्रम, विवाह, पार्टी र अफिसियल कामका लागि कोट–पाइन्ट, दौरा–सुरुवाल लगाउँछु ।

घरमा रहँदा टिसर्ट, ट्रयाकसुट लगायत क्याजुअल पहिरन प्रयोग गर्छु । कालो, रातो र कलेजी रंगको पहिरन मनपर्छ । लुगा राम्रो सिलाउने ठाउँ पाए सिलाएर लगाउँछु, नत्र रेडिमेट किन्छु । आफूलाई सुहाउँदो र राम्रो हुनुपर्यो, ब्रान्ड हेर्दिन ।

पुस्तक पढ्छु

अध्ययनमा रुचि छ । राम्रा लेखकका कविता, कथा र जीवनी पढ्छु । देश तथा विदेशका ठूला र प्रसिद्ध ब्यक्तिका बिषयमा पुस्तक खोजेरै पढ्छु ।

अध्ययन समय यो भन्ने छैन । कामबाट फुर्सद भयो कि पढ्छु । पछिल्लो समय पढ्दै गरेको पुस्तक कर्ण शाक्यको ‘सोच’ हो । यो पहिले पनि पढेको थिए, अहिले फेरि पढ्दैछु । 

घुमघाममा रुचि 

घुमघाममा रुचि छ । अमेरिकामा रहँदा विभिन्न राज्य र नेपाल बसेको समय विभिन्न जिल्ला घुम्छु । मलाई देशको डाँडाकाँडा, गाउँघर धेरै मनपर्छ । देशको करिब ४० जिल्ला घुमे हुँला । विदेशका ५०/६० राष्ट्र पुगेको छु । केही समयपछि स्वीटजरलयाण्ड र रसिया जाँदैछु । नेपालका रारा, डोल्पा, जुम्ला, हुम्ला जान मन लागेको छ ।

पहिले खेलाडी

खेलकुदमा धेरै रुचि छ । भ्याएँ भने भलिबल खेल्छु । पहिले म जिल्ला र अञ्चलस्तरीय भलिबल खेलाडी थिएँ । भलिबल खेलबाट विभिन्न पुरस्कार समेत जितेको छु । अहिले पनि खेल्न पाए भलिबलै खेल्छु । हेर्न भने फुटबल मनपर्छ ।

लेटेष्ट मोवाइल बोक्छु

एउटा मोवाइल, त्यो पनि लेटेष्ट बोक्छु । नयाँ ब्राण्ड आएपछि छोराछोरी, बुहारी सबैले गिफ्ट गर्छन् । मोवाइल सधैँ साथमा रहने साथी हो ।

फोन गर्नुको अलावा इमेल, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जाल चलाउँछु । मोवाइल हराएको छैन, उपहार भने दिन्छु ।

फिल्म हेर्छु

टीभी हेर्छु । टीभीमा नेपाली समाचार, लोकदोहोरी, ट्यालेन्ट शोहरु हेर्छु । फिल्म भने नेपाली, हिन्दी, अंग्रेजी लगायत हेर्छु । हल र घर दुबै ठाउँमा फिल्म हेर्छु । हलमा फिल्म हेर्न अझ आनन्द आउँछ ।

अमेरिकामा प्रायः फिल्मका शोहरु हुने गरेका छन् । त्यो कहिलै छुटाउँदिन । सामाजिक कथामा बनेका, मन छुने खालका कथामा बनेका, कमेडी र रमाइला फिल्म मनपर्छ ।

जागिर होइन

२०३६ सालमा पहिलो पटक हरिसिद्धि इँटा टायल कारखानामा जागिर गरें । त्यसपछि रेडियो नेपालमा करार सेवामा जागिर खाएँ । २०४७/०४८ मा रेडियो नेपालको अधिकृतका लागि लोकसेवा दिएर त्यहाँको लोकगीत प्रबन्धकमा नियुक्त भएँ । ५/७ बर्ष यो जागिर खाएपछि कार्यक्रमका लागि जर्मनी गएको थिए । त्यहाँबाट अमेरिका पुगेँ, त्यसपछि जागिर छुट्यो । अहिले नेपाल सरकारको महावाणिज्य दूत पनि हो । 

व्यावसायमा पनि

अमेरिकामा मेरो ‘नेपाल हाउस’ नामक एउटा रेस्टुरेन्ट छ । नेपालमा पनि दरबारमार्गमा ‘गुरु ट्राभल’ नामक एउटा ट्राभल एजेन्सी पनि चलाएको छु ।

फेरि हंगामा गर्छु

म सफल लोकगायक हुँ । गायनले मलाई सञ्चारमा चिनाएको छ । ७ बर्षको उमेरदेखि गाउने, नाच्ने गर्थे म । त्यो अहिले पनि जारी छ ।

मेरो बुबाआमा जिम्मावाल । घरमा धेरै मानिसको आवत जावात हुन्थ्यो । त्यसैले बिहानैदेखि दुइटा गन्धर्व गीत साँझसम्म गाउँथे । त्यसैले पनि मेरो गायनमा रुचि बढ्यो । स्कुल, गाउँघरका कार्यक्रम गर्दै मेलामहोत्सवमा स्टेज समेत गर्थे । त्यो क्रममा मेरो गीत सुन्न र नाच हेर्न मेलामा भित्र पनि अर्काे मेला लाग्थ्यो । 

मेरो औपचारिक गायन २०३४ मा गण्डकी अञ्चलको स्टेजबाट सुरु भएको हो । रेकर्ड भने ‘घर त टाढा बनायो जिमीले, माया टाढा नबनायौ तिमीले’ २०३७ मा रेडियो नेपालमा भएको थियो । त्यसपछि पानको पात, सिमसिमे पानीमा, बाँझो खेतमा, सालैको पातैले, हिमचुलीमा हिउँ, हरियो डलरदेखि अहिले बन्दीपुरैमा थुप्रै गीत आएको छ । 

अमेरिका जाँदासम्म ६० गीत भएको थियो । त्यसपछि नेपाल आएको बेला सधैँ निकाल्ने गरेको छु । गीत कति भए, अब त गन्ती नि गरिएन । पछिल्लो गीत ‘बन्दीपुरै’ मा अहिले भाइरल भएको छ । पहिलेदेखि अहिलेसम्म लोकगीत नै मेरो प्राथमिकता हो ।

कतिले त प्रेमराजा गीतसंगीत छोडेर अमेरिका बस्यो भन्छन् । अमेरिकामा पनि विभिन्न ठाउँमा मैले लोकगीतसंगीत प्रचार गर्ने गर्छु । नेपालमै बस्ने कतिले वर्षमा एउटा गीत पनि निकालेका छैनन् । मैले ६/६ महिनामा गीत निकाल्छु ।

अमेरिका हराउनु मेरो बाध्यता थियो । किनकि त्यो समय नेपालमा गीत संगीतको आम्दानी थिएन, नामका लागि मात्र गीत गाउनुपर्थ्यो । तर मेरो पारिवारिक ब्याकग्राउण्ड राम्रो भएकोले अमेरिका बस्नुपर्ने थिएन । स्मरण रहोस्, प्रेमराजा बाध्यताले, खान नपाएर अमेरिका बसेको होइन ।

अहिले म पहिलेको प्रेमराजा फर्काउने तरखरमा छु । त्यसैले पहिले गाउन नपाएका र ठेट नेपाली गीतहरु फेरि ल्याउँदैछु । एक पटक नेपाल फेरि प्रेमराजा फर्कियो भनेर हंगामा  हुन्छ । २०३७/०३८ सालतिर लोकगीत संगीतमा मैले हंगामा मच्चाएको थिएँ । त्यति बेलाको जोस अहिले पनि छ, त्यसैले फेरि हंगामा मच्चाउँछु । सानोमा बुबाआमा यो केटा ‘गाइने’ हुन्छ कि भन्ने चिन्ता गर्नुहुन्थ्यो । अहिले मलाई आफू गाइने भएकोमा गर्व लाग्छ । 

सपना त्यही हो

सबै नेपाली सुखी र देश राम्रो भएको देख्ने सपना छ । हाम्रो सुन्दर देशको सुन्दरता विश्वमा पुर्याएर सबैलाई नेपाल भित्र्याएर पर्यटनमार्फत् सुन्दर देश सिंगारिएको हेर्न मनपर्छ । गीत संगीतमा फेरि प्रेमराजा महत फर्कियो भनेर नयाँ पुस्तामा सनसनी फैलिएको हेर्न मन छ ।

अरेन्ज म्यारिज

२०४३ सालमा मैले अरेन्ज म्यारिज गरेको हो । मेरो एक भाई जर्नेल हुनुहन्छ, शोभित बहादुर अधिकारी । उहाँले मेरा लागि केटी खोजिदिनु भएको हो ।

म त्यो बेला लोकप्रिय गायक थिएँ । त्यसैले थुपै युवतीसँग भेटघाट हुन्थ्यो । माया गर्ने र म भनेपछि मर्ने थुप्रै थिए । म पनि थुप्रैलाई माया गर्थे । डिप्ली प्रेम र डेटिङ कोहीसँग भएन । त्यसैले जोसँग विवाह गरें, उसँगै डेटिङ र गहिरो प्रेम गरें ।

के हो दुःख 

दुःख मानसिकता हो । कहिलेकाहीँ सबै थोक भएर पनि मानिस दुःखी हुन्छ । कोहीले संसार पाएर पनि सन्तुष्टि हुँदैनन् । त्यो दुःख हो ।

राजनीतिमा रुचि छैन

देश देखेर राजनीतिप्रति दिग्दारी लाग्छ । मेरो राजनीतिज्ञहरुसँग संगत पनि छ । देश र राजनीति कसरी सही बाटोमा हिँडाउने भन्ने चिन्ता लाग्छ । ५/७ वर्ष अगाडि जिल्ला बसेर राजनीति गर्ने कि भनेर सोचेको पनि थिएँ । तर राजनीतिमा राम्रा मानिस भित्रिएर पनि उनीहरुले केही नगरेको देख्दा राजनीतिप्रति मनै मरेर आयो ।

सबै प्रकारका संगीत

गीत सङ्गीत सबै प्रकारको सुन्छु । लोकगीत गाउने प्रायःले र्याप मन पराउँदैन । म र्याप मात्र होइन, इथोपियन, सोमालियन, अफ्रिकन, चाइनिज, जापानिज लगायत धेरै देशका संगीत सुन्छु । भाषा सबै बुझ्दिन तर संगीत राम्रो लाग्छ ।

नेपाली संगीत पनि लोक, आधुनिक, पप, गजल सबै प्रकारका सुन्छु । लोकगीतबाहेक नेपालकै विभिन्न जातिको भाषा, गीत समेत लखेको छु । अंग्रेजी भाषामा लोकगीत समेत बनाएको छु ।

भूल भयो

जानी नजानी भुल त जीवनमा धेरै भए होलान् । तर सधैँलाई पछुताउनु पर्ने भुल भएका छैन । बुबाआमा गाउँका जिम्मावाल ठूला ठालु हुनुहुन्थ्यो । उहाँहरुको मलाई डाक्टर, इन्जिनियर भएको हेर्ने सोच थियो । त्यो पुरा गर्न सकिन । यसलाई के भुल भन्नु । 

खराब बानी

म सबैलाई पुरै विश्वास गर्छु । कोही कोहीले त्यसबाट आफ्नो स्वार्थ पुरा गर्दा रहेछन् । विश्वास गरेकोबाट धोका पनि पाएको छु । सबैलाई आँखा चिम्म गरेर विश्वास गर्ने मेरो खराब बानी हो । 

रोग छैन

भगवानको कृपाले अहिलेसम्म खासै केही रोग छैन । उमेर बढेसँगै हुने केही रोग अहिले देखिन थालेको छ । अहिले अलिअलि प्रेसर पनि छ । अन्य रोग केही छैन । अझै म फिट एन्ड फाइन छु जस्तो लाग्छ ।

हल्का मापसे

पहिले कहिलेकाहीँ साथीभाइ भेट हुँदा हल्का लिन्थे, अहिले त्यो पनि छोडिदिए । पहिले नेपाल हुँदा कोदाको लोकल पनि खान्थे । विदेशमा ब्राण्डेट वाइन, बियर खान्थे । घरमा कसैले मापसे नगर्ने भएकोले सजाएर, बार बनाएर राखेको छैन । त्यो मनपर्दैन । 

राशि ‘मिथुन’

मेरो राशि ‘मिथुन’ हो । ग्रहदशामा कहिलेकाहीँ विश्वास लाग्छ । किनभने संसारले यो कुरो मान्छ । हेराउने जुराउने गरेर भने  हिँड्दिन । पूजापाठमा रुचि छ । अमेरिकामा पनि मैले घरको आँगनमै मन्दिर बनाएको छु । 

मृत्यु सत्य हो

मृत्य सत्य र स्वभाविक हो । आनन्द, रमाइलो र खुसीको मृत्यु भए राम्रो । मृत्यु एक दिन अवस्य हुन्छ । हामीले त्यसलाई सकेसम्म रोक्ने प्रयास गर्ने हो । सजिलो र नर्मल तरिकाबाट मृत्यु होस् । मलाई मृत्युसँग डर छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप