आमाको जिम्मेवारी र करिअर–२

साकार हुँदैछ अरूका लागि पनि आवाज बन्ने सरिताको सपना

person explore access_timeअसार २५, २०७९ chat_bubble_outline0

अधिवक्ता सरिता तिमल्सेना ‘चौलागाई’ साथीहरुसँगको सहकार्यमा बबरमहलमा ‘मुनलाइट लिगल फोरम’ ल फर्म खोलेकी छिन् । उनका श्रीमान् माधवप्रसाद चौलागाई  सर्जिकल सप्लायर्स हुन् । दुबैको अत्यन्त व्यस्त दिनचर्या छ । ११ वर्षकी उनकी छोरी परीक्षा स्कुल पढ्न जान्छिन् भने २ वर्षको छोरा सक्षमलाई उनले घरमा सासुआमाको साथमा छोडेर अफिस धाउँछिन् । घरपरिवार, श्रीमान्, साना छोराछोरी र अफिस सबैको व्यवस्थापन सरिताले कुशलता साथ निभाइरहेकी छिन् ।


२०४६ सालका काभ्रेको नमोबुद्धमा जन्मिएकी सरिताको माध्यमिक तहको शिक्षा नमोबुद्धमै भयो । बनेपामा शिक्षा संकायमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छँदै उनी २०६६ सालमा आफ्नै जिल्लाको चौरी देउरालीमा विवाह भएर गइन् । उनको मागी विवाह थियो । बिहे गर्दा उनी जम्मा १९ वर्षकी थिइन् । सहरको नजिक हुर्किएकी उनी काभ्रेको विकट गाउँमा बिहे गरेर पुग्दा सुरुमा त निकै नियास्रिइन् । त्यतिबेला त्यहाँ फोन पनि टिप्दैनथ्यो । 



बिहे भएपछिको जीवन उनले धेरै फरक पाइन् । दुर्गममा बिहे गरेर पठाएको भनेर बुवासँग उनको गुनासोको ठूलो पोको थियो । ‘भैंसी बेच्दा त मान्छेले घर हेर्छ भने छोरीको बिहे गर्दा घर कहाँ हो ? कस्तो ठाउँमा छ ? छोरी त्यस्तो ठाउँमा बस्न सक्छे कि सक्दिन ? छोरीलाई त्यो ठाउँमा कति सहज हुन्छ भनेर हेर्नुपर्दैन ?’ यसरी बुवासँग गुनासोको पोको खोलेकी थिइन् उनले । 



भर्खरकी किशोरी त्यसमाथि माइतीघरदेखि टाढा भएर नियास्रिएकी उनको बिहेपछि पढाइ पनि बीचैमा रोकियो । पढाइ बनेपा अनि बसाइँ विकट गाउँमा भएपछि सरितालाई पढ्न आउन सम्भव भएन । माइती बसेर पढ्छु भनेर उनी आफै पनि भन्न सकिनन्, न त उनलाई घरपरिवारमा कसैले पढाइ पुरा गर नै भने । पछि उनी श्रीमान्सँग काठमाडौं आइन् । उनले घरै बसेर स्वअध्ययनमार्फत् दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षा दिइन् । फलस्वरुप उनले शिक्षा संकायबाट स्नातक तह उत्तीर्ण गरिन् । 

सन्तानबारे सल्लाहै भएन । विना योजना २० वर्षकै उमेरमा सरिता गर्भवती पनि भइन् । तर उचित हेरचाह र ख्याल नगर्दा पहिलो बच्चा गर्भमै खेर गयो । त्यतिबेला उनको तेस्रो वर्षको टिचिङ प्राक्टिस चलिरहेको थियो । सार्वजनिक बसमा आउजाउ, दुई घण्टाको यात्राले गर्दा बच्चा खेर गएको हुन सक्ने उनको अनुमान छ । 

अवस्था कतिसम्म भयो भने बच्चा पेटमा एक महिना अगाडि नै मरिसकेको थियो तर उनले इन्फेक्सन हुन थालेपछि मात्रै थाहा पाइन् । गर्भावस्थाको बारेमा के गर्न हुन्छ, के गर्न हुँदैन ? भनेर श्रीमान् र आमालाईसमेत उनले कहिले सोधिनन् । आफैपनि कतिबेला र कस्तो समयमा बच्चा चल्छ भनेर यादै गरिनन् । रगत बग्न थाल्यो, कालो न कालो रगत टुक्रा–टुक्रा भएर आएको थियो । टिचिङ अस्पताल गएर अल्ट्रासाउण्ड गर्दा एक महिना अगाडिदेखि बच्चा बढ्न छोडेको कुरा डाक्टरले बताउँदा उनी छाँगाबाट खसेजस्तो भइन् । 

सानैमा बिहे गरेकाले उनले बच्चा पेटमा आएको कुरा परिवार, आफन्तलाई सुनाइनन् । सुनाउनुपर्छ जस्तो पनि लागेन । भन्नलाई अप्ठेरो लाग्ने रहेछ । अर्को, अभिभावकले पनि सोध्नुभएन । आफ्नै आमालाईसमेत बच्चा खेर गएपछि मात्रै उनले सुनाएकी थिइन् । गर्भवती हुँदा यस्तो खानुपर्छ, धेरै हिँड्नु हुँदैन भनेर कसैले सिकाएन् । उनी आफै पनि कसैलाई सोधिनन् । गर्भ बस्यो, अब समय पुगेपछि जन्मिन्छ भन्ने लाग्यो । तर हेरचाह र सुरक्षामा धेरै ध्यान दिनुपर्ने रहेछ । उमेरले परिपक्व नहुनुको कारणले धेरै दुःख र समस्या झेल्नुपर्यो । त्यतिबेला इन्टरनेटको पनि खास सुविधा थिएन, गर्भावस्थाको बारेमा खोजेर अध्ययन गर्नलाई । सरिताको बुझाइमा परिपक्व नभई बच्चाको योजना बनाउन चाहिँ नहुने रहेछ । 

साढे पाँच महिनाको गर्भ क्युरेट गरेर फाल्नुपर्यो । तर पछि ५ महिनासम्म रगत बग्न छोडेन । डाक्टरको सिफारिसमा औषधी खाइरहँदा पनि नरोकिएपछि डा.मीरासिंह श्रेष्ठले अर्को गर्भ बस्यो भने यो समस्या आफै समाधान हुने सुझाव दिइन् । त्यसपछि डाक्टरकै सल्लाहअनुसार उनीहरुले बच्चाको योजना बनाए । नभन्दै बच्चा बसेपछि डाक्टरले भनेझै रगत बग्न छोड्यो । यसरी उनले २०६८ सालमा छोरी जन्माइन् । 

आफैले केही गर्नुपर्छ भन्ने सानैदेखि उनकोे मनमा थियो । घरमा कसैले जागिर गर वा काम गर नभने पनि उनलाई मैले गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । त्यसैले छोरीलाई उनले २७ महिनाको हुँदै मन्टेश्वरीमा भर्ना गरिदिइन् । त्यहाँ छोरीलाई ढुक्कले छोडेर हिँड्न सकिन्थ्यो । मन्टेश्वरीमा छोरीलाई  हालिदिएर उनी  आफै जागिर खोज्न दौडधुप गर्न थालिन् । तर जागिर भनेजस्तो सजिलो कहाँ पो थियो र ?

अरूका लागि पनि आवाज बन्ने सपना

२०७१ सालतिर कानुन विषय धेरै लोकप्रिय थियो । कुनै समय उनी आफू नै अति अन्यायमा पर्दा न्याय पाउन नसकेको ईखले उनलाई कानुन विषयले तान्यो । हरेक कुरामा एक्लै लड्नुपर्ने बाध्यताले उनले जागिर खोज्ने कामलाई भन्दा फेरि पढ्न थालिन् । अनि एलएलबी गरिन् । आफ्नो लागि मात्रै होइन, अन्यायमा परेका अरूका लागि पनि आवाज बन्छु, लड्छु भन्ने उद्धेश्यले २०७६ मा लाइसेन्स लिएर वकालत सुरु गरिन् । 

सरिता पुनः २०७७ सालमा तेस्रोपटक गर्भवती भइन् । छोरी जन्मिदा खासै समस्या भएको थिएन । तर यस पटकको गर्भ २९ हप्तामै निकाल्नुपर्ने अवस्था आयो । डाक्टरहरुले सकेसम्म बच्चा भित्रै राख्ने कोसिस गरेपनि उनको ‘वाटर ब्रेक’ हुन थाल्यो । त्यसपछि अन्य कुनै उपाय नलागेपछि सात महिना पनि नपुगेको बच्चा निकाल्नु पर्यो । त्यतिबेला उनलाई सुगर पनि देखियो । बच्चा जम्मा १४२० ग्रामको जन्मिएको थियो । जन्मिएको एक सातामै रगतमा इन्फेक्सन भएपछि छोरालाई रगत चढाउनुपरेको थियो । ३५ दिन बच्चालाई आइसीयुमा राखेर हस्पिटलले डिस्चार्ज गरेको थियो । 

अहिले सरिताको छोरा २५ महिनाको भयो । त्यति संघर्ष गरेर हुर्किएको छोरा बाँच्छ जस्तो उनलाई लागेको थिएन । अहिले भने शारीरिक र मानसिक रुपमा चुस्त, दुरुस्त छ । समय पुगेर जन्मिएको अन्य बच्चा सरह नै छ । उनको उचित हेरचाह र उपचारले त्यो सम्भव भयो । 

सासु–ससुरा, देवर–देवरानीसँग बसेपनि सरिताको नाबालक छोरा दिउँसो सासुआमाको रेखदेखमा हुन्छ । सासुआमाको सहयोगले उनले आफ्नो काममा समय दिन पाएकी छन् । स–साना बच्चाहरु प्रायः बिरामी भइरहन्छन् । कहिले स्कुलबाट नानी बिरामी भइ भनेर फोन आउँछ । काममा हुँदा नि मन छोराछोरीतिरै पुगिरहन्छ । तर काम गर्ने भएपछि बच्चा भन्दा काम प्राथमिकतामा पर्ने रहेछ । त्यस्तो बेलामा श्रीमान्लाई छोराछोरी हेर्नु भनेर आफू काममै हुन्छिन् । कहिलेकाँही भाइहरुले पनि भान्जाभाञ्जी हेर्छन् । आफ्नो कारणले अरुको मुद्धा नबिग्रियोस् भन्ने उनलाई हुन्छ । 

जीवनसाथी र आफिसका साथीहरुको साथ

यहाँसम्मको सफतताको लागि उनले श्रीमान्को महत्वपूर्ण भूमिका रहेको सरिता बताउँछिन् । श्रीमान्ले घरभित्रको काममा मात्रै सीमित रहनु हुन्न भनेर प्रेरणा दिन्छन् । कहिलेकाँही बच्चा हेर्ने मान्छे कोही भएन भने उनी आफै घर बस्छन् तर सरितालाई अफिस पठाउँछन् । छोराछोरीको हेरचाह र घरभित्रको काम उनीहरु मिलेरै गर्छन् । तर पनि यो पितृसत्ताको असर कही कतै देखिन्छ । गर्दा गर्दै पनि पुरुषलाई कहिलेकाँही घरभित्रको काम श्रीमतीको प्राथमिकता हो भन्ने ह्याङले छोडिरहेको हुँदैन । श्रीमान्ले साथ दिएपनि धेरै कुरामा छोरी मान्छले कम्प्रोमाइज गर्नुपर्छ । महिलाको हकमा परिवार बच्चा र कामको व्यवस्थापन असम्भव छैन तर धेरै गाह्रो छ । यी सबै कुरालाई सहज मान्न सकेमा मात्रै महिला सफल हुन्छन् । 

वकालत पेशा नै यस्तो हो, हरेक मुद्धामा अध्ययन गरिराख्नुपर्छ । उस्तै मुद्धा भएपनि भित्री पाटो फरक हुन्छ, त्यसैले स्वअध्ययन महत्वपूर्ण छ । हरेक विषय नयाँ कानुनमा अप टु डेट भई राख्नुपर्छ । कहिलेकाँही बच्चा हेर्ने मान्छे कोही भएन र अफिस आउन पाइनन् भने अफिसका साथीहरुले अदालतको पेशीसम्म हेर्दिने गरेको सरिता बताउँछिन् ।  

कतिपय अवस्थामा त उनी बच्चा बोकेरै पनि अफिस आउँछिन् । छोरीको स्कुल छुट्टी हुने र हेर्ने अरुलाई फुर्सद भएन भने उनी दुवै बच्चा लिएर आउँछिन् । कतिपयले यसरी नै हो सिक्ने भनेर उत्साह जगाउँछन् तर कतिपयले दुःख देखाएकी जस्तो गर्छन् । बोल्दा पनि बच्चा समाइदिन पर्ने हो कि जस्तो व्यवहार गर्छन् । दुःखको कुरा असहयोग गर्नेमा पुरुष भन्दा महिलाहरु नै हुन्छन् । महिलाको समस्या नजिकबाट बुझ्ने महिलाले किन यस्तो व्यवहार गर्छन्  भन्ने उनलाई लाग्छ । 

बच्चा र घरपरिवार महिला एक्लैको कर्तव्य होइन । श्रीमान् र श्रीमती दुवैको उत्तिकै बराबर कर्तव्य हो भनेर बुझ्नुपर्छ । पालैपालो बच्चाको जिम्मेवारी सम्हालेर एकअर्काको प्रगतिमा रमाउनुपर्छ । सरिताको बुझाइमा पढेलेखेपछि हरेक महिलाको पनि सपना हुन्छ, केही लक्ष्य हुन्छ । कोसिस गर्दागर्दै पनि असफल हुन सकिन्छ तर सपना देखेर त्यसलाई पुरा गर्न पाइला पनि चाल्न पाएन भने मान्छे मानसिक रुपमा कमजोर हुँदै जान्छ । त्यस्तै, श्रीमान् एक जनाले मात्रै काम गरेर अहिले आर्थिक रुपमा धानिन गाह्रो छ । बच्चा हेर्नकै लागि सबै काम छोडेर बस्यो भने यो अवस्थासम्म आइपुग्न फेरि अर्को धेरै वर्ष लाग्छ । 

एलएलबीको तयारी कक्षामा छोरीलाई उनले धेरैपटक बोकेरै कक्षामा गइन् । पढाइ हुँदा छोरीलाई नबोली बस्न सम्झाउँथिन् । छोरी ज्ञानी हो वा उनलाई पढ्न लेखेको त्यति सानी छोरी पनि नबोली बस्थिन् । खेल्ने केटाकेटीलाई त्यसरी चुप लागेर बस्न कति गाह्रो भयो होला । त्यसरी पढेको भएर उनलाई त्यो संघर्षले जुनुन पैदा गथ्र्यो मनमा । केही त गर्छु भन्ने दह्रो अठोट थियो । त्यही अठोटले अहिले व्यस्तताका बावजुद सफल अधिवक्ताको पखेटा हालेको छ ।

श्रीमान् र घरपरिवारले बुझिदिने हो भने काम गर्न कुनै समस्या हुँदैन । बच्चा हुर्काउनको लागि संयुक्त परिवार उपयुक्त हुन्छ । बच्चाले हजुरआमाबुवासँग बस्दा धेरै कुरा सिक्छन् । टोल छिमेकी हामी अभिभावकले भन्दा धेरै बच्चाहरुले चिनेका छन् । हामीले ‘काउ’ सिकाउँदा आमाले ‘गाई’ भन्न सिकाउनु हुन्छ । अहिलेको अभिभावकले बजारको ट्रेन्ड हेर्छ तर हजुरबुवाआमाले पुराना कुरा सिकाउँछन् । आफ्नो संस्कार सिकाउन अग्रजहरुको भूमिका  महत्वपुर्ण हुन्छ । उहाँहरुले बच्चाहरुलाई असल संस्कार सिकाउनुहुन्छ । हजुरबुवा र आमासँग गाउँ डुल्दै मान्छे, छिमेकी बुझ्ने अवसर पाउँछन् । सरिता भन्छिन्, ‘म त भाग्यमानी । छोरालाई सासुले गाउँ डुलाउँदै संस्कार सिकाइ रहनु भएको छ । । जबकि अहिलेको अभिभावकलाई गाउँ डुल्ने फुर्सद छैन ।’ 

परिवारमा सबैले उत्प्रेरणा दिने हो भने महिलालाई काम गर्न धेरै गाह्रो छैन । सरिताको बुझाइमा परिवारले बुहारीलाई छोरीको रुपमा हेर्ने हो भने बुहारीको प्रगतिमा कसैले बाधा पुर्याउन सक्दैन । कामकाजी बुहारीको लागि सासु ससुराले छोरी सम्झिदिए पुग्छ । बुहारी पनि आफ्नो छोरी सरह हो । हाम्रो सामाजिक संरचना र चलनचल्तीमा खाना बनाउन, लुगा धुन बुहारी नै कुरेर बस्ने संस्कार छ । त्यो कत्तिपनि राम्रो होइन । आफ्नो छोरी अर्काको घर जान्छिन्, हामी अर्काको छोरी ल्याउँछौ । सबैको छोरी उस्तै त हो । बुहारीका रुपमा कसैको छोरीले परीक्षा दिइराख्नुपर्ने संस्कार राम्रो होइन ।  

काममा निस्केपछि बच्चाप्रति बिस्तारै अन्यले पनि दायित्व बोध गर्छन् । पहिलो कुरा आफैले काम गर्छु भनेर हिम्मत गर्नुपर्छ । श्रीमान्सँग सल्लाह गर्नुपर्छ, त्यसपछि परिवारसँग पनि । आफ्नो समस्या पहिचान गर्ने र समाधानको उपाय खोज्नुपर्छ । आफूले के गर्न सकिन्छ, के गर्न मन छ ? त्यो निर्क्यौल गर्नुपर्छ । 

सरिताका अनुसार तमाम महिलासँग पार्लर जाने, पार्टी गर्ने, बजारमा नयाँ के आयो ? हेर्ने समय हुन्छ । तर आफ्नो करिअरको बारेमा सोच्ने समयमा बच्चासँग जागिर वा अन्य काम कसरी व्यवस्थापन गर्ने भन्ने दोधार हुन्छ । जसको कारण हामीले आफ्नो करिअरलाई धेरै पछाडि धकेलिरहेका हुन्छौ । हामीले धेरै काम गर्न सक्ने हुँदाहुँदै पनि सानो उपलब्धिमै रमाएर बस्ने बानीको विकास गर्छौ । त्यस्तो नहुनबाट महिलाले आफूलाई रोक्नुपर्छ । आफ्नो सपनाको छाल कहाँसम्म पुर्याउन सकिन्छ, हरदम कोसिसरत हुनुपर्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।