निरा जैरूः बालीघरेदेखि सांसदसम्मको कठिन सङ्घर्ष
कैलालीका जमिनदार मोहनसिंह परियारकी छोरी निरा बाल्यकालमा सुखशयलमा हुर्केकी मान्छे हुन् । डोटीबाट कैलाली झरेका परियार यहाँको हुने खाने वर्गका मान्छे हुन् ।
बाल्यकालमा जातीय विभेद र दुःखको असहज परिस्थिति नभए पनि बिहे गरेर डडेल्धुरा पुगेपछि उनले विभेदको जाँतोमा पिसिनुपर्‍यो । अपमानको विष पिउनु पर्यो । दुःखको पहाड उक्लनुपर्‍यो । तर राजनीतिक रूपमा सचेत र कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले दुःख सहने, अन्यायको विरोध र प्रतिरोध गर्ने अनि सङ्घर्षलाई जीवन ठान्ने राजनीतिक दर्शनका कारण आत्तिने स्वभाव उनको थिएन ।
डडेल्धुरा अर्थात् शेरबहादुरको देउवाको गृहजिल्ला । जताततै काँग्रेस मात्र देखिनु त्यो जिल्लाको विशेषता नै थियो । त्यही कारण २०४८ को संसदीय निर्वाचनदेखि हालसम्म देउवा पराजित भएका छैनन् । त्यहाँ कम्युनिस्ट पार्टीको सदस्य भएर काम गर्नु, त्यो पनि एक दलित महिलाका लागि सहज हुने कुरा नै भएन । जे होस् उनले पहाडसँग कुहिनो ठोक्काएर प्रतिरोध गर्न छोडिनन् । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने जसले सामथ्र्य राख्छ, जीवनमा सफलता उसैले पाउँछ ।
तत्कालीन सरकारको विरोध गर्दा थोरै मान्छेका साथले राँके जुलुस प्रदर्शन गरेको स्मृति बोकेर एक ग्रामीण दलित परिवारकी सदस्य निरा अहिले राज्यले दिने मर्यादाको नवौँ श्रेणीमा आफूलाई राख्न सफल छन् । नवौँ मर्यादामा राष्ट्रले निरालाई सलाम गर्छ ।
जन्मदै मान्छेको श्रेणीमा नपर्ने सामाजिक संरचनाको घेराबन्दी छल्दै निरा जहाँ पुगेकी छन्, त्यो उनको निरन्तर राजनीतिक सक्रियता, सामाजिक सुझबुझ र निष्ठामा अविचल रहेको कारण प्राप्त गरेको उपलब्धि हो । वर्तमान प्रधानमन्त्री देउवासँग जिल्लामा पार्टीगत राजनीतिक प्रतिस्पर्धामा रहने निरा अहिले ‘नीति अनुगमन मूल्याङ्न समिति’को सभापति रहेर प्रधानमन्त्री सरकार र सम्बद्ध निकायलाई निर्देशन दिने, नियम कार्यान्वयन गर्न लगाउने र नीतिगत निर्णय लागू नगर्दा किन नगरेको ? भनेर प्रश्न सोध्ने ठाउँमा छिन् । प्रधानमन्त्री, मन्त्री र राज्यका अनेक निकायलाई प्रश्नको सुइरोले घोच्ने कामको अगुवाइ विगत चार वर्षदेखि निराको नेतृत्वमा रहेको संसद्को समितिले गरिरहेको छ ।
सधैँ काम तामेल गर्नुपर्ने, मालिक विष्टको बालीमा जीवन निर्वाह गर्नुपर्ने, मान्छेको दर्जासमेत नपाएको एउटा समुदायको महिला सदस्य आज राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नु खुसीको कुरा हो । हाम्रो लोकतन्त्र र समावेशी सिद्धान्तले गरेको विशिष्ट व्यवस्था हो । यद्यपि राज्यको निकायमा केही मान्छेको प्रतिनिधित्व र उपस्थिति मात्रै सबथोक होइन । त्यो सिम्बोलिक अर्थ मात्रै हो । राज्यले कोही कसैको अनुपस्थितिमा पनि उपस्थितिको ग्यारेन्टी गर्नुपर्छ ।
जुन समुदाय आज पनि निर्धक्क आफ्नो स्वाभिमान र स्वत्व लिएर बाँच्ने स्थिति बन्दैन, तबसम्म लोकतन्त्र र समावेशी प्रतिनिधित्वमा सुगन्धको वासना आउँदैन । मर्यादा, समता र स्वाभिमान सबैको बराबर त्यहीबेला मात्र सम्भव हुन्छ, जतिबेला निरा जस्ता करिब ६० लाख दलितको स्वाभिमान उँचो र गर्विलो बन्छ । सबै जातजातिको सामाजिक हैसियत समान हुन्छ । कहीँ जन्मेको कारण कोही ठूलो र कोही सानो बन्नु पर्दैन ।
आजको हाम्रो मूल सामाजिक समस्या जातीय छुवाछूत र विभेद हो । छुवाछूतजन्य कुप्रथा हाम्रो सभ्यता र समाजको धब्बा हो । समाजका हरेक विशिष्ट र लब्धप्रतिष्ठित गैरदलित दलित दुवै समुदायका मान्छेले आफ्नो निधारमा मानवअधिकार उल्लङ्घनकर्ता र जातीय विभेदको दुर्नाम छाप लिएर हिँडेको छ । दलित दलितमा पनि आन्तरिक छुवाछूतको अभ्यास छ । म ठूलो, त्यो सानो भन्ने भाव छ, छेकबार छ, वञ्चिति छ ।
जानअन्जानमा समाज व्यवस्थामा आजपर्यन्त जातीय छुवाछूत विकराल छ, जसको उपचार खोज्ने दायित्व राज्य सञ्चालकहरूको हो । तिनीहरू दलितलाई दयाको त्यान्द्रो थमाएर समस्या विस्तारै समाधान हुन्छ । आज र अहिल्यै यसको निदान सम्भव छैन भनेर क्रमशः हुँदैछ, हुन्छ भन्ने । अहिल्यै होइन भोलि भन्ने भोलिवादको उधारो चेक थमाएर वर्तमानमा समस्या समाधानमा उदासीन छन् । जातीय छुवाछूतका घटनाका कारण जीवन गुमाउनेको परिवारप्रति असंवेदनशील बनेर राज्य सञ्चालक समेतले पटक पटक अन्याय गरेका उदाहरण प्रशस्त छन् ।
जात व्यवस्था नेपालका दूरदराजका गाउँहरूमा हुनु सामान्य कुरा हो । अन्धविश्वास हो तर जात व्यवस्था हाम्रा नेताहरूको दिमागमा पनि गहिरोसँग जकडिएर बसेको छ । त्यसको नतिजा उपल्लो स्तरका मान्छेका निर्णय र व्यवहारमा आएको छैन र ? तसर्थ ठूलाठूला पार्टी, ठूलाठूला नेताहरू सबैमा चेनाताको विकास अपरिहार्य देखिन्छ । जातीय छुवाछूतको शिकार बनेका मान्छेहरूप्रति राज्य संवेदनशील बन्नुपर्ने र त्यस्ता घटनाका कारण खोजेर हल गर्न राज्यले विलम्ब गर्नुहुँदैन भन्नेमा निराको विशेष आग्रह छ ।
राजनीति र सङ्घर्ष
राजनीतिक रूपमा सचेत, सामाजिक छवि भएका व्यक्ति मोहनसिंह परियार २०४३ मा प्रधानपञ्चमा उठेका थिए । तर झिनो मतान्तरले उनले पराजय बेहारो । बुबा पराजित बन्नुको कारण त्यतिबेला निरालाई थाहा थिएन तर आज उनी बुझ्दैछिन् । बुबाजत्तिको मान्छे पराजित हुनुको कारण जात व्यवस्था थियो । बुबाको सामाजिक व्यक्तित्व र राजनीतिक सचेतता अरूको भन्दा उपल्लो स्तरको थियो । बुबा हार्नुपर्ने देखिने कारण केही थिएन । बुबालाई नराम्रो मान्ने मान्छे कमै थिए तर बुबाले चुनाव ८ मतले हार्नुभयो । पछिपछि बुझ्दै जाँदा थाहा भयो । बुबाको सम्पत्ति, इज्जत र सामाजिक व्यक्तित्व राम्रो भए पनि कथित जात तल्लो मानिन्थ्यो । उहाँ एक दमाई हुनुहुथ्यो । तसर्थ जात बाधक भएको रहेछ, निराको ठहर छ ।
आफ्ना बुबाको सामाजिक सक्रियता र कैलाली हाई स्कुल पढ्दा रत्नप्रसाद सन्जेल सरको प्रभावले निरा राजनीतिको मैदानमा आइन् । राजनीतिको अनेक आरोह अवरोह देखेकी निरा २०४७ मा खगेन्द्र जैरूसँग बिहे भएर डडेल्धुरा पुगेपछि इन्सेक, सामुदायिक वनलगायत सामाजिक र मानवअधिकारवादी सङ्घ सङ्गठनमा लाग्दै नेकपा एमालेको राजनीतिमा आबद्ध भइन् ।
डडेल्धुरामा दलित, महिला र नेकपा एमालेको राजनीति गर्नु त्यति सहज थिएन । घरपरिवारलाई समेत सामाजिक कामको बहाना बनाएर राजनीतिमा उनी लागेकी थिइन् । २०४९ मा अनेमसङ्घ डडेल्धुरामा आबद्ध २०५४ सालमा एमाले पार्टी जिकस, २०५४ मा उपाध्यक्ष, मुक्ति समाज जिल्ला अध्यक्ष, नेकपा जिल्ला सहइन्चार्ज २०७५ लगायत थुप्रै पार्टीगत पदीय भूमिका निर्वाह गरेकी निरा क्रियाशील राजनीतिकर्मी हुन् । २०६४, २०७०, २०७४ मा समानुपातिक उमेदवार सिफारिस निरा २०७४ मा बल्ल समानुपातिक तर्फबाट सांसद निर्वाचित बनेकी हुन् । पार्टीले अवसर दिए प्रत्यक्ष चुनाव लड्ने धोको समेत निराको छ ।
हाल मुक्ति समाजको केन्द्रीय सदस्य र नेकपा समाजवादीको पोलिटब्युरो सदस्य रहेकी निरा माधव–झलनाथ पक्षकी खम्बा हुन् । सतहमा उनको नाम नदेखिएर हाइलाइट अरूकै भए पनि उनको सक्रियता र माधवलाई काँध थाप्ने निर्णयमा निराको साथ अविचल रह्यो । निर्वाचन आयोगमा माधवलाई रामकुमारी झाँक्रीले तानिरहेको बेला निरा पनि तन मन र वचनले निष्ठापूर्वक समाजवादी बनाउने अभियानमा दरिलो टेको बनेर उभिएकी थिइन् ।
आफ्नो मान्यता र अठोटमा दृढ निरालाई नयाँ पार्टी नेकपा समाजवादी गठन गर्दा त्यता नलाग्न धम्की तथा लोभको आश्वासन नआएको होइन । हक्की र निडर निरालाई पार्टी टुक््रयाउन लागेकोमा कुनै खिन्नता छैन । त्यो आवश्यकताको सिद्धान्तले माग गरेको घटना हो । संविधान च्यात्ने र चपाउने निर्णयविरुद्ध विधि र पद्धतिको वकालत गर्दा लिएको निर्णय हो । यस्तो बेला नचाहेर पनि कठोर बन्नुपर्ने हुन्छ । राजनीतिलाई अवसरवादमा रूपान्तरण गर्दा माधव–झलनाथ समूहबाट पुनः ओलीमा समाहित हुने १० कमरेडहरू योगेश, घनश्याम, सुरेन्द्र र अष्टलक्ष्मी लगायत जसले ओलीलाई सत्तामा बस्न र माधवलाई एमालेमा टिक्न दिएनन् । त्यस्ता विरोधाभास भएका मान्छेका कारण राजनीतिले लय पक्रिन नसकेको निराको निष्कर्ष छ ।
विचौलियावाद हाबी भएकै कारण राजनीति सुकिलो नदेखिएको हो । राजनीति र सत्ता कसले कताबाट चलाएको छ भन्ने देखिन्न । बाह्य रूप एउटाको देखिए पनि विचौलिया र दलाल प्रवृत्ति व्याप्त भएको कारण भित्रभित्र सत्ताको चाबी र निर्णायक अवस्थामा नेताहरूको बोलीमा आउने आकस्मिक परिवर्तनले देश हाम्रो हात र नियन्त्रणमा छैन कि जस्तो लागेको उनी सुनाउँछिन् । एमसीसी र एसपीपी कान्ड यसैका जल्दाबल्दा उदाहरण हुन् । विधि र पद्धति नमान्ने क्रममा आफ्नो नवगठित पार्टी पनि चुकेको असामयिक मन्त्री फेरबदल गरेको र समानुपातिक न्यायिक प्रतिनिधित्व नभएकोमा उनको रोष छ ।
पार्टी सङ्क्रमणकालीन स्थितिमा भएको कारण समस्या भएको होला तर त्रुटि गर्दै र थप्दै जाने, सच्याउन नसकिने स्थिति भयो भने नेकपा समाजवादी पनि भिरतिर जाने निश्चित छ । दम्भ, हैकम, जात र लिङ्गका आधारमा पार्टी चलाउने हो भने त्यसले निम्त्याउने सङ्कट नेताहरूलाई थाहा होला । जात नपुग्ने र पैसा नपुग्ने कारण नभएको भए सायद मन्त्री हुने एउटा महिला र दलितको नाममा निराको नाम नपर्नुपर्ने कारण थिएन । तसर्थ मुद्दा विधि र पद्धति निर्माण गर्न सुरुवातीदेखि नै कठोर बन्न सकिएन भने विद्रोहको औचित्य स्थापित गर्न मुस्किल हुन्छ । त्यसैले उनी सधैँ विधिको पक्षमा छिन् ।
अपमान र पीडाबोध
आफ्नो जन्मघर कैलालीमा खासै अपमान र पीडा भोगेको अनुभव नभए पनि कर्मघर डडेल्धुरामा भने तीता घटना छन् उनका । कति खाटा बसेका छन्, कति एँेजेरु बनेर मनमस्तिष्कमा बसेका छन् । जब जातको कारण देखाएर मान्छे मारिएको अपमान गरिएको खबर सुनिन्छ, देखिन्छ तब निराको आफ्नै घाउमा नुनुचुक दलिएको जस्तो लाग्छ । पटक पटक मारिँदै बच्नु परेको दलित हुनुको पीडाले दुखाउँछ बेस्सरी । राजनीतिको यात्रा तय गर्दा आफ्नै पार्टीका कमरेडहरूबाट पनि जातका कारण बास बस्दा अपमान खेप्नु परेको र आफ्नै समुदायको मान्छेको घर खोजेर बास बस्नु परेको नमीठो अनुभवहरू छन् ।
एमालेको ८औँ महाधिवेशनमा प्रतिनिधि छनोट हुँदा जसको घरमा बालीघरे बस्नुपरेको थियो, सोही घरकी सदस्य र निरूको बीच पार्टीमा आन्तरिक प्रतिस्पर्धा भयो । जित निराको भागमा पर्यो तर पराजित कमरेडले बालीघरेकी छोरीले जिती भनेर अपमानित महसुस गर्दै निरालाई पनि अपमान गरिन् । निराको उद्देश्य आफ्नो प्रतिस्पर्धीलाई आफ्नो परिवार उनकोमा बालीघरे बसेकोमा बदला लिनु थिएन । तर उनको जित बदला देखिन पुग्यो ।
आजसम्म निराले जहाँ जहाँ प्रतिस्पर्धा गरेकी छन्, त्यहाँ लोकप्रिय मत उनको पक्षमा परेको छ । कम्युनिस्ट पार्टीले जातीय छुवाछूत र विभेद गर्दैन भनेर पार्टीमा लागेकी निरालाई आफ्नै पार्टीका कमरेडहरूले पनि विभेद गरेकोमा खेद छ । कम्युनिस्ट कम्युनिस्ट जस्तो नभएकोमा दुःख लाग्छ ।
डोटीको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर प्रवेशको विषयमा दलितलाई निषेध गर्न गैरदलितले आक्रमण गरेको घटनामा निरा जैरू आन्दोलनको नेतृत्व गर्दा सख्त घाइते बनेकी थिइन् । त्यस्तै उदयदेव मन्दिर बैतडीमा गरिएको सङ्घर्षमा निकै ठूलो जोखिम उठाएर आन्दोलनको आँधीबेहेरी सिर्जना गरिन् । कैलालीको दुर्गा मन्दिरमा दलित प्रवेश र समग्र सुदूरपश्चिमका गरिब, दलित, सीमान्तकृत, किनारमा परेका, भूमिहीनको आन्दोलनमा निराले नेतृत्व लिएकी छन् । त्यस क्रममा कुटिने, अपमानित बन्ने घाइते हुने शृङ्खलाबद्ध समयहरू भोगेकी छन् । घाउ भएर दुःखेकी छन् । त्यो घाउ उनलाई राज्यले हुर्काएर प्रश्रय दिएको सामाजिक अव्यवस्थाले दिएको थियो ।
सार्वजनिक मन्दिरमा पूजा गर्न डोटी आसपासका जिल्लामा पनि दलितले ५० वर्ष सङ्घर्ष गर्नुपरेको स्थितिबाट नेपाल चरम जातीय विभेद गर्ने मुलुकमा दर्ज भएको देखाउँछ भन्ने जैरूको तर्कमा विमति गर्न सकिन्न ।
सांसद् र नीति अनुगमन मूल्याङ्कन समितिको सभापति बनेर जाँदा पनि आफ्नो जातका कारण प्रमुख अतिथिका रूपमा कार्यक्रम उद्घाटन गर्न वञ्चित गरी कुनै अरू नै मान्छेलाई उमेर हद देखाएर लगाइएको छ । फेरिएको विभेदको रूप समेतले उनी खिन्न छन् । बालक, वृद्ध रोगी र असहायसँग प्रोटोकल दाँज्न हुँदैन तर मेरो जातको कारण होइन जस्तो पारेर गरिएको विभेद म सजिलै बुझ्छु भन्छिन् ।
आफू राज्यको यो मर्यादामा पुग्दा पनि विभेद गरिएको उनको गुनासो छ । त्यति मात्र होइन, काठमाडौंले मोफसलबाट आउने सामान्य मान्छेलाई उसको लवाइ खवाइको कारण पनि विभेद गर्छ । निरालाई पनि २०५६ सालमा हिमालय होटेलमा सार्क राष्ट्रका महिला प्रतिनिधिहरूको एक सेमिनारमा डडेलधुराबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको थियो । साधारण वेषभूषाको कारण प्रवेश निषेध गरेकाले साथीकोमा गएर कपडा फेरेर जानु परेको घटनाले पनि निरालाई चस्काउँछ यदाकदा ।
निरा भन्छिन्, “मान्छेको मूल्य आवरणमा देखाउने संस्कारले हामी मूल्यहीनतालाई प्राथमिकता दिइरहेका छौँ । मान्छे कस्तो हो, उसको व्यवहार, संस्कार, अनुशासनबाट थाहा हुन्छ, लवाइबाट होइन ।” काठमाडौंमा डेरा खोजेर सर्न सामानसहित लिएर जाँदा नागरिकता देखाउँदा बुबाको थर परियार देखेपछि घरबेटीले हुँदैन भनेर पठाएको अत्यन्तै नमीठो अपमान पनि सहेकी छन् निराले ।
सांसद्लाई समेत यसरी विभेद गरेर कोठा भाडामा नदिने काठमाडौंले मिलन विश्वकर्मा, दीपा नेपाली, करुणा दर्नाल, रूपा सुनार र मुना दयाललाई विभेद गर्न किन छाड्थ्यो र ? हामी विभेदमा मात्रै पर्‍यौँ । यहाँ हजारौँ वर्षदेखि दलित भएकै कारण ज्यान गयो । दुई वर्षअघि रुकुममा ६ जना भाइहरूको निर्ममतापूर्वक हत्या भयो । फरक त्यति छ मर्नेहरू एक पटक मरे तर बाँच्नेहरू पटक पटक निरन्तर मरेर बाँच्नु परेको छ ।
राजनीति र आर्थिक जीवनको व्यवस्थापन
आफ्नो परम्परागत पेसा कपडा सिलाउने व्यवसायबाट निराको परिवार र राजनीति चलेको छ । श्रीमान् खगेन्द्रले डडेल्धुराको अमरगढीमा नवीन सिलाई सेन्टर खोलेर राम्रै आम्दानी गर्छन् । सिलाई सेन्टर नै मुख्य आयस्रोत हो । उनीहरूको राजनीति र जीवन धान्ने व्यवसाय हो । एक छोरी, एक छोराको शिक्षा सबै कुरा अहिले आफ्नो संसद्को पारिश्रमिक र श्रीमान्को व्यावसायिक कर्मका कारण सहज छ । खगेन्द्रको साथ र सहयोगका कारण आफ्नो बाटो सरल भएको स्वीकारोक्ति छ निराको ।
पेसा छोडाएर मात्रै सशक्तीकरण सम्भव हुन्न । दलितहरूले कतिपय अवस्थामा पुख्र्याैली पेसा छोडेको कारण पनि अप्ठ्यारोमा परेको निराको बुझाइ छ । कुनै पनि वैकल्पिक सीप, पेसा र व्यवसाय नभई परम्परागत पेसा त्याग्नु गलत हो । पेसालाई बलियो बनाउन सकियो भने यसले अब आम्दानी मात्र दिँदैन, इज्जत पनि दिन्छ । त्यसैले दलितहरूले पैतृक पेसाबाट पलायन हुनुअघि वैकल्पिक पेसा सुनिश्चित गर्नुपर्छ । आर्थिक अवस्था राम्रो हुँदा समाजसेवा, राजनीति र दलित आन्दोलनको कामलाई सँगसँगै लैजान सकिन्छ । अन्यथा दुःखका दिन घट्ने होइन, बढ्ने छ । त्यसैले जुन पेसा र व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ, त्यता लाग्नुपर्ने निराको आग्रह र सन्देश छ ।
भ्रमण, पुरस्कार
नेपालका प्रायः सबै जिल्ला र विश्वका अमेरिका, बेलायत, भारत, पाकिस्तान लगायत मुलुकको संसदीय भ्रमण गरेकी छन् निराले । प्लस टुसम्मको औपचारिक अध्ययन गरेर राजनीतिमा सक्रिय छन् । समाज व्यवस्था, सामाजिक मुद्दा, जात व्यवस्था र संसदीय अभ्यासबारे गहन अध्ययन भएकी उनी भीम राव अन्तर्राष्ट्रिय अम्बेडकर पुरस्कारले समेत सम्मानित छन् ।
माननीय सांसद निरा जैरुलाई कुनै विशेष सम्बोधन विशेषण र संज्ञाको आवश्यकता पर्दैन । नेपालको जुनसुकै मुक्ति आन्दोलन हलिया, कमैया, दलित, चमार आन्दोलनलगायत सबैमा निराको रगत पसिना श्रम र लगानी छ । नेपालको राजनीतिमा अब निराको नाम नै काफी छ ।
पार्टी अनुशासन भनेर पार्टीको गलत रवैयामा पनि चुप बस्नु किमार्थ ठीक होइन । गलत गर्दा गलत भयो, अन्यायमा परियो भनेर बोल्ने हिम्मत राख्नुपर्छ । पार्टीमा नेता होइन, नीति हाबी हुनुपर्छ भन्ने माननीय सांसद निरा आफ्नो पार्टीले आफ्नो इतिहास र सङ्घर्षलाई उपेक्षा गरेकोमा केही असन्तुष्ट छन् । यद्यपि उनका असन्तुष्टि आफ्ना लागि कम, नीति सिद्धान्त र दर्शनका लागि ज्यादा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु
-
भारतमा लोकसभाको निर्वाचन सुरु