शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : शीर्ष नेताहरुलाई भेट्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता, देउवामाथि कोइराला समूहको दवाव

बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी
आइतबार, २६ असार २०७९, २१ : २७
आइतबार, २६ असार २०७९

आज २०७९ असार २६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा देउवालाई दबाब बढाउँदै कोइराला समूह, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख राजनीतिक भेटवार्तामा व्यस्त, बाबुराम भट्टराईले फेरि गर्लान् नयाँ प्रयोग ?, राप्रपा निकट महिला संघको बैठकमा कुटाकुट, बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी, ‘असारे विकास’मा लम्किँदै मधेस प्रदेश लगायत छन् ।

१. देउवालाई दबाब बढाउँदै कोइराला समूह
सत्तारुढ दल नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवालाई शेखर कोइराला समूहले दबाब बढाउने भएको छ । सोही क्रममा कोइराला समूहले पार्टीको भ्रातृ संस्थालाई पूर्णता दिन माग गर्दै पार्टी कार्यालयमै प्रदर्शन गर्ने भएको छ । आइतबार पार्टीको पदाधिकारी बैठक बसिरँदा कोइराला पक्षले छुट्टै बैठक राखेर आफ्नो रणनीति बनाएको हो ।

२. चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख राजनीतिक भेटवार्तामा व्यस्त
चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन् । चार दिने बसाईका क्रममा उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

३. बाबुराम भट्टराईले फेरि गर्लान् नयाँ प्रयोग ?
नेपाली राजनीतिमा नयाँ प्रयोग गर्दै आएका डा. बाबुराम भट्टराई अहिले जसपाभित्र आफ्नो गुटको भविष्यलाई लिएर योजना र रणनीति बनाइरहेका छन् । उनले जसपाको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बोलाइसकेका छन् । सोही समय पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । एउटै पार्टीभित्र एउटै मितिमा दुई अलग बैठक आह्वान भएबाटै पार्टी दुई धारमा विभाजित रहेको प्रस्ट हुन्छ । त्यसैले पनि बाबुराम भट्टराईले अब कस्तो राजनीतिक कदम चाल्छन् भन्नेतिर धेरैको ध्यान केन्द्रित हुन थालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संघको बैठकमा आइतबार कुटाकुट भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा असन्तुष्ट पक्षले ‘बाहिरको मान्छे ल्याएर अध्यक्ष बनाइएको’ भन्दै विरोध गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।  

५. बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी
बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार सम्पन्न मतगणना अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा मायाकुमारी खड्का विजयी भएका हुन् ।

६. ‘असारे विकास’मा लम्किँदै मधेस प्रदेश
‘असारे विकास’ प्रवृत्ति मधेस प्रदेशमा मौलाउँदै गएको छ । बजेट सक्ने चटारोकाबीच मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयले असारमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस्तै, भौतिक संरचना निर्माणमा पनि असारमै चटारो देखिएको छ ।

७. प्रदेशसभामा छलफल नै नगरी बजेट पारित गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार
आगामी आर्थिक वर्षको बजेटमाथि सत्तारुढ दलमात्र नभई मन्त्रीले नै असन्तुष्टि जनाएको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा छलफल नै नगरी बजेट पारित गर्ने तयारी थालेको छ ।

८. एकै दिन साढे २५ अर्ब भुक्तानी
चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो परिमाणमा रकम भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो ।

९. यसरी बन्यो हेटौंडामा ‘मामाघर’
सडक बालकको उद्धार तथा उनीहरुको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले हेटौंडामा स्थापित संस्था हो ‘मामाघर’ । अर्पण पराजुलीलाई एक सडक बालकले ‘मामा’ भनेदेखि नै ‘मामाघर’ स्थापनाको योजना बनेको हो । सडकबाट उद्धार गरिएका कयौं बालकका लागि अहिले ‘मामाघर’ बरदान नै साबित भएको छ ।

१०. र यो पनि,
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्नको लागि आह्वान गरेका छन् ।

हिन्दु धर्मावलम्बी आज घरघरमा तुलसीको बिरुवा रोपेका छन् । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप