शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : देउवा सरकारको एक वर्ष पूरा, चुनावकै मुखमा उपसभामुख निर्वाचन घोषणा

बुधबार, २९ असार २०७९, २१ : ४८
बुधबार, २९ असार २०७९

आज २०७९ असार २९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा रोकिएन बेरुजुको रफ्तार, एमालेका ‘एम अधिकारी’बारे सडकदेखि संसदसम्म प्रश्न, संघीय चुनावकै मुखमा उपसभामुख निर्वाचन घोषणा, बालुवाटारको नजरमा यी हुन् देउवा सरकारका उपलब्धि, तेस्रो कार्यकाल पनि सभापति बन्ने देउवाको चेतावनी, जसपाको बैठक दुईतिर, बाबुरामलाई पार्टी पुनर्गठन गर्न सुझाव लगायत छन् ।

१. रोकिएन बेरुजुको रफ्तार
महालेखा नियन्त्रकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा यो वर्ष बेरुजु एक खर्ब १५ अर्ब रुपैयाँले बढेर ४ खर्ब ८३ अर्ब ५९ करोड पुगेको छ । संघीय मन्त्रालयमा सर्वाधिक बेरुजु सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा देखिएको छ ।

२. एमालेका ‘एम अधिकारी’बारे सडकदेखि संसदसम्म प्रश्न
नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा मनोनित गरेका ‘एम अधिकारी’ बारे सडकदेखि संसदसम्म चासो बढेको छ । कतिपयले ‘एम अधिकारी’ भनेको गभर्नर महाप्रसाद अधिकारी रहेको आशंका गरेका छन् । यही विषयलाई लिएर बुधबार प्रतिनिधिसभा बैठकमा केही सांसदले प्रश्न उठाए भने केहीले त्यसको बचाउसमेत गरे । यद्यपि ‘एम अधिकारी’ को हुन् भन्ने रहस्य खुल्न सकेको छैन ।

३. संघीय चुनावकै मुखमा उपसभामुख निर्वाचन घोषणा
सरकारले संघीय संसद र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेकै समयमा उपसभामुखका लागि निर्वाचन हुने भएको छ । असार ३१ गते उपसभामुख पदका लागि निर्वाचन हुने भएको हो ।

४. बालुवाटारको नजरमा यी हुन् देउवा सरकारका उपलब्धि
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । सोही अवसर पारेर बालुवाटारले देउवा सरकारका उपलब्धिको सूची सार्वजनिक गरेको छ । 

५. तेस्रो कार्यकाल पनि सभापति बन्ने देउवाको चेतावनी
प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तेस्रो कार्यकाल पनि सभापति बन्न सक्ने चेतावनी दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आफूलाई असहयोग जारी रहेमा विधान संशोधन गरेर तेस्रो कार्यकाल पनि सभापति बन्न सक्ने चेतावनी दिएका हुन् । 

६. भानुभक्तप्रति ओलीको आशंका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भानु जयन्ती तथा गुरु पूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्तको आलोचना गरेका छन् । उनले घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले भन्ने प्रश्नसमेत गरे ।

७. जसपाको बैठक दुईतिर, बाबुरामलाई पार्टी पुनर्गठन गर्न सुझाव
विभाजनको सँघारमा पुगेको जसपा नेपालको दुई गुटको बैठक दुई तिर चलिरहेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा चलिरहेको छ भने संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्ट पक्षको बैठक काठमाडौंको जडिबुटीमा चलिरहेको छ । बाबुराम भट्टराई पक्षको बैठकमा भने पार्टी पुनर्गठनका लागि सुझाव आएको छ । 

८. पार्टीविरुद्ध नबोल्न नेता–कार्यकर्तालाई राप्रपाको निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीविरुद्ध नबोल्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । राप्रपाले नेताहरु दिलनाथ गिरी र श्याम तिमल्सिनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । 

९.भृकुटीमण्डपमा भीषण आगलागी 
राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

वीरगञ्ज चिनी कारखानाको गोदाम घरमा उच्च अदालत वीरगञ्जका कर्मचारीले आफूखुसी ‘कभर्ड हल’ निर्माण गरेका छन् । सरोकारवाला निकायसँग अनुमति नै नलिई अदालतका कर्मचारीले चिनी कारखानाको गोदामलाई ‘कभर्ड हल’को रुपमा निर्माण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप