शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विवादमा बालेनदेखि एमालेद्वारा नागरिकता विधेयकको विरोधसम्म

बिहीबार, ३० असार २०७९, २१ : ००
बिहीबार, ३० असार २०७९

आज मिति २०७९ साल असार महिनाको ३० गते बिहीबार । रातोपाटी डट कमको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ–

१. उपसभामुखमा गठबन्धन भर्सेस एमाले

प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल  र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । 

संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समय सीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ ।

​२. कोरोना संक्रमित बढ्दै

नेपालमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८४४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २१४ जना तथा एन्टिजेन विधिबाट ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा १३७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

​३. नागरिकता विधेयक

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो ।

एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा सरकारले बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था गर्न खोजेको भन्दै आपत्ति जनाए ।

४. छानबिन समितिमा हेरफेर

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानविन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानविन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो । जस अनुसार सो समितिमा अव नेपाली काँग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् ।

​५. काँग्रेसको अर्को बैठक शनिबार

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक शनिबारका लागि तय गरिएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अर्को बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जानकारी दिए ।

​६. उपेन्द्र यादव पक्षको बैठक

जनता समाजवादी पार्टी नेपालले स्थानीय तह चुनावमा गठबन्धनबीच तालमेल गर्दा पार्टीलाई घाटा भएको निष्कर्ष निकालेको छ । गठबन्धनले केही ठाउँमा पद प्राप्त भएपनि त्यसले दिएको अन्यौल, अपमान, तिरस्कार, जटिलताले पार्टी निर्माणको दीर्घकालीन लक्ष्यमा क्षति भएको निष्कर्ष जसपाले निकालेको हो ।

उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा जारी केन्द्रीय समितिको बैठकमा जसपाका वरिष्ठ नेता अशोक राईले स्थानीय चुनावको समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै सो निष्कर्ष निकालेका हुन् । पार्टीमा भएको क्षतिलाई आगामी दिनमा कम गर्न प्रयत्न गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।

​७. आलोचना खेप्दै बालेन

काठमाडौँ महानगरपालिकाले ई–स्पेट्र्सका लागि बजेट छुट्याएको भन्दै आलोचना भइरहेको छ । मेयर बालेन शाहले ई–स्पेट्र्स प्रवद्र्धन र प्रतियोगिताका लागि एक करोड बजेट छुट्याएका छन् । मेयर शाहले ई–स्पोट्र्सको नाममा उनलाई सहयोग गर्ने ‘रुटिन अफ नेपाल बन्द’ लाई सो रकम दिन लागेको आरोप छ । त्यसो त शाहले मेयर बन्नु पूर्व नै ई–स्पेट्र्सको क्षेत्रमा पनि लगानी गर्ने विषयलाई समावेश गरेका थिए ।

​यसैबीच बालेन शाहले ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसङ्गका बिषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै ई–स्पोर्टस्लाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट गरेका छन् ।  सामाजिक सञ्जालमार्फत उनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट गरेका छन् ।

​८. एम अधिकारी प्रकरण

नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ ।

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो ।

​९. महालेखाको प्रतिवेदन

महालेखा परीक्षकको प्रतिवेदनले संघीयता कार्यान्वयनको समग्र अवस्था सन्तोषजनक नरहेको उल्लेख गरेको छ । ५९ औं वार्षिक प्रतिवेदनमा संघीयता कार्यान्वयनको समग्र अवस्था नै सन्तोषजनक नरहेको महालेखा परीक्षकले जनाएको हो ।

अधिकार क्षेत्र अनुरूप कानून निर्माण नभएको एवं वित्तीय संघीयताले मूर्तरूप लिन नसकेको बताइएको छ । अधिकार क्षेत्र अनुरूप संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक ढङ्गले कानून निर्माण गर्न ध्यान दिनुपर्ने समेत औंल्याइएको छ । संघले प्रदेशले सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोकेर सशर्त अनुदान उपलब्ध गराउने परिपाटी अन्त्य गरी क्षेत्रगत शर्त र लक्ष्य तोकेर उपलब्ध गराउने व्यवस्था हुनुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

१०. यो पनि...

काठमाडौंको नागार्जुन नगरपालिका ८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।

​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। 

भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ ।

​राप्रपाको असन्तुष्ट पक्षले पार्टी संस्थापनले सोधेको स्पष्टीकरण आपत्तिजनक भएको जनाएको छ । असन्तुष्ट समूहको तर्फबाट दिलनाथ गिरी, दिलविकास राजभण्डारी र श्याम तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा  पार्टीको परिधिभित्रै बसि छलफल तथा बिचार विमर्श गर्दा स्पष्टीकरण सोधिनु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद सम्बन्धि विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभामा बोल्दै नेता श्रेष्ठले तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएको त्यस्तै विधेयक फिर्ता गर्न लगाएको भन्दै अहिले सरकारमा रहेका दलहरुले त्यसबेला विरोध गरेको सारतत्वको विधेयक कसरी ल्याउन मिल्छ भन्दै प्रश्न गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुने बताएका छन् ।  बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।

​बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि हुँदै २ हजार अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १४.७१ अंकले बढेर २००१.५३ अंकमा उक्लिएको हो ।

​नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा नदिएसम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने भएको छ । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको खुलेपछि उनका विरुद्ध अखिल क्रान्तिकारी र वाइसिएल चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको हो ।

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप