भगत र अजयको यात्रा : गोजीमा मात्र २/२ हजार, घुमे संसार

लक्ष्य १६० देश, पुग्यो शतक

person explore access_timeअसार ३२, २०७९ chat_bubble_outline0

विश्व घुम्ने चाहना कसको पो नहोला र ? तर जो कोहीको लागि यो सम्भवको विषय भने होइन । आकाशको फल आँखा तरी मर भनेझैं खर्च धेरै लाग्ने भएकोले प्रायःले आफ्नो घुमघाम गर्ने चाहना मनमै साँच्छन् । धेरैका लागि कठिन र असम्भव बिषयमा भगत खत्री र अजय मिश्र दुइ दौँतरीले भने सहज उपाय निकाले साइकलबाटै विश्व घुम्ने । अनि निस्किए, ‘विश्व साइकल यात्रा’मा । 


भगत र अजय ‘विश्व साइकल यात्रा’ का सहकर्मी मात्र होइनन्, उनीहरु बाल्यकालकै लंगौटिया यार हुन् । २०६१ सालबाट १६० देशको यात्रा गर्ने लक्ष्यसहित यात्रा थालेका उनीहरुले अहिलेसम्म सय देश घुमिसकेका छन् ।





प्रशस्तै पैसा भएर उनीहरुले यस्तो यात्रा थालेको भने होइनन् । ‘राष्ट्रका लागि केही गरौ र आफ्नो नाम पनि रहोस् भन्ने उद्देश्यले यात्राको बिषयमा सोचेका थियौ,’ दुबैले एकै स्वरमा भने, ‘जहाँ इच्छा त्यहाँ उपाए भनेझैँ यात्राको थालनीपछि पैसा जुट्दै गयो ।’ 

दुबैको गरी जम्मा ४ हजारमात्र जुटाएर उनीहरुले यात्रा सुरु गरेका थिए । ‘यात्राको लागि भनेर हामीले बिभिन्न माध्यमबाट एक लाख जुटाएका थियौ र त्यो पनि साइकल लगायत यात्राका लागि आवश्यक सामान किन्दा सकियो,’ अजयले भने, ‘विदाइको बेला आफन्तले टीका लगाएर दिएको दुई दुई हजार थियो । त्यही लिएर यात्रा थाल्यौ ।’ 

अहिलेसम्म सय देशको यात्रा गरिसकेका उनीहरुले पैसाले भन्दा पनि आँटले यात्रा सम्भव भएको बताउँछन् । अजयले भने, ‘अवको ६० देशको बाँकी यात्रा पनि यसै गरेर पुरा हुनेछ ।’

बालापनको मित्रता

भगत र अजयको मित्रता साइकल यात्राले जुराएको भने होइन । साइकल यात्रा करिब १८ बर्ष अगाडि सुरु भएको थियो तर मित्रता ११/१२ वर्षकै बालापनमा ।

करिव ३० वर्ष अगाडि भक्तपुरको गठ्ठाघरमा अहिले जस्तो बाक्लो बस्ती थिएन । त्यो समय त्यस वरपर गरेर ३०/४० घरमात्र थिए । सडक पनि अहिले जस्तो ब्यस्त थिएन । त्यहाँको दुई बस्तीलाई बीचमा रहेको सडकले वारीपारी गरेर छुट्याएको थियो ।

त्यतिबेला भगत र अजय दुबै त्यस्तै ११/१२ वर्षका थिए । सडक काटेर वारीपारी डुल्थे । सोही क्रममा उनीहरुको दोस्ती जम्यो । त्यो दोस्ती अहिलेसम्म पनि कायम छ ।

त्यसो त चिनजानपछि अजय र भगत एउटै स्कुलमा पढेनन् । अजयले आदर्श माध्यमिक विद्यालय सानो ठिमीबाट एसएलसी दिएका हुन् भने भगतले रातोपुलको सरस्वती कुञ्ज बोर्डिङ स्कुलबाट ।

त्यो समय अहिले जस्तो इन्टरनेट, फोन लगायतको जमाना पनि थिएन । त्यसैले उनीहरु केही कुरा गर्नुपर्दा स्कुलबाट फर्किएपछि, फुटबल खेल्ने, लुकामारी खेल्ने क्रमको भेटमा गर्थे ।

‘साथी त धेरै थिए हाम्रा । बैचारिक हिसावले भने हामी दुई एकअर्काको नजिक भयौ’ अजयले भने, ‘विचार मिल्ने, एक अर्काेलाई बुझ्ने भएपछि मित्रता झाँगिदै गयो ।’

त्यसो त सानोमा अन्य बालबालिकाझैँ उनीहरुको झगडा नहुने पनि होइन । एकअर्काको कुरो मन पर्दैनथ्यो । तर पनि एकअर्काेसँग टाढा भने कहिलै भएनन् उनीहरु । 

‘बाल्यकालमा मात्र होइन, अहिले पनि सानातिना असहमति हुन्छन्’ अजयले भने, ‘हामी दुई जना नै सँगै बसेर असहमतिको हल छलफलबाट निकाल्छौ ।’

अजयको कुरामा भगतले थपे, ‘हामी झगडा गरेपनि लामो समय एकअर्काेसँग नबोल्ने, नभेट्ने कहिलल्यै भएन । झगडा पछिको मित्रता झन् बलियो पाएका छौ हामीले ।’

साइकलबाट विश्व यात्राको योजना

२०५९/०६० तिर दुबैले एसएलसी भर्खर सकाएका थिए । त्यो समय फुटबल खेल्थे । खेल सकिएपछि अन्य साथीहरु आ–आफ्नो घरतिर लाग्थे । उनीहरु भने एक ठाउँमा बसेर घण्टौं छलफल गर्थे, कामका योजना बनाउँथे । भविष्यको सपना बुन्थे ।

त्यही क्रममा राष्ट्रका लागि केही गरौ, नाम होस् र धेरैले पनि चिनोस् भन्ने बिषयमा उनीहरुबीच धेरै छलफल हुन थाल्यो । छलफल कामका धेरै बिषयमा हुन्थ्यो । तर आफूमा क्षमता देख्दैनथे । त्यसपछि निरास हुन्थे । दिन यसरी नै बित्दै थियो ।

प्लस टु पास भएपछि  उनीहरु एकदिन छलफलमा बसे । त्यो समय भगतले साइकलबाट विश्व यात्राको कुरो निकाले । अनि साइकलबाट विश्व यात्रा जोखिम भए पनि नेपालमा कसैले पनि नगरेकोले यही गर्ने ठहर गरे ।  त्यसका लागि आवश्यक अध्ययन, अनुसन्धानमा लागे । यो क्रममा ६/७ महिना त्यसै बित्यो ।

‘हामीले अनुसन्धानबाट दुई कुरो थाहा पायौ,’ अजयले भने, ‘पहिलो यात्राको क्रममा देशको झण्डा बोकेर हिँड्दा विदेशमा देशको पहिचान हुन्थ्यो । दोस्रो विदेश घुम्दा धेरै कुरोको ज्ञान हासिल गर्न सकिन्थ्यो ।’

भगतले भने अन्य भन्दा जोखिम र संघर्षको यात्रा यसमै देखेर जोडिएको बताए । ‘साइकल यात्रा आइडिया कसैको देखेर वा भनेर आएको होइन । फरक कामबाट समाजमा कसरी चिन्न सकिन्छ भनेर सोच्दै जाँदा निस्किएको हो ।’ भगतले थपे, ‘पुस्तकबाट हासिल गरेको ज्ञानभन्दा हरेक देशमा पुगेर गरेको अनुभव राम्रो हुने भएर यसलाई अगाडि बढाएका हौँ ।’ 

साइकल यात्रा गर्ने निश्कर्षमा पुगेपछि उनीहरु यस बिषयमा बुझ्न र आवश्यक खर्च जुटाउन थाले । त्यो क्रममा उनीहरुले ठिमी नगरपालिकाका मेयरलगायत धेरैलाई भेटे, छलफल गरे । यो जोखिमपूर्ण काममा घरबाट अनुमति नदिनेर र रोकतोक हुने डरले यात्रा थालनी अगाडि घरमा थाहा दिएनन् ।

परिवारको आँखाबाट धरधर आँसु

‘हामी २०, २१ बर्षका अल्लारे थियौ । त्यो उमेर घरकाले बच्चै सोच्थे । अर्काे कुरा देश छोडेर कहिलै कोही नहिँडेका हामीलाई बाहिर जान दिने कुरै थिएन,’ अजयले भन्दै गए, ‘खल्तीमा एक पैसा नबोकी विश्व साइकल यात्रामा निस्कने अनुमति घरबाट पाइने सवालै थियो । सल्लाह दिने त परको कुरो ।’

घरमा केही नभनी उनीहरुले बाहिरबाटै कागज पत्र जुटाएर, पैसाका लागि काठमाडौं भ्यालीका स्कुल, कलेज लगायत धेरै ठाउँमा आग्रह गरे । त्यो क्रममा ५ सय, हजार गर्दै ६५ हजार जम्मा भयो । मध्यपुरठिमी नगरपालिकाका तत्कालनि मेयर मदनकृष्ण श्रेष्ठले ३५ हजार थपी दिए ।

‘हामी सल्लाह लिन मेयरकहाँ पुगेका थियौ । तपाईंहरुको काम राम्रो छ । हाम्रो ठाउँको नाम राख्दै हुनुहुन्छ भन्दै मेयर श्रेष्ठले ३५ हजार दिनुभयो,’ भगतले भने, ‘त्यसले हाम्रो हौसला बढ्यो । यात्राका लागि उर्जा थपियो ।’

जम्मा भएको १ लाख रुपैयाले साइकल सहित जे जस्तो सामान पुग्थ्यो, उनीहरुले किने । यात्रा सुरु गर्ने  मिति र यात्राबारे मिडियामा पनि समाचार आयो । मिडियामा आएपछि उनीहरुको टोल, घर सबैतिर थाहा भयो । सबै ब्यवस्था भएर जाने मिति मिडियामा आएपछि घरबाट पनि रोकतोक भएन । 

धरधरी आँसु झार्दै आफूहरुलाई परिवारले यात्राका लागि बिदा दिएको अजयलाई अहिले जस्तै लाग्छ । दुबैको कहानी एउटै हे भन्दै भगतले थपे, ‘सबै तयारी गरिसकेपछि परिवारले रोकेन । यात्राको सफलताको शुभकामना आँसुको भेल बगाएर दियो ।’

यात्राको पहिलो पाइला

विश्व साइकल यात्राको पहिलो थालनी उनीहरुले भारतबाट गरे । जसका लागि काठमाडौँबाट बुटवल, भैरहवा, सुनौली हँुदै गोरखपुर पुगे । त्यसपछि दिल्ली । त्यहाँबाट फर्किदा नेपालका विभिन्न भाग घुम्दै बंगलादेश, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, मलेसिया र सिंगापुर गरेर ७  राष्ट्र घुमे ।

पहिलो ७ देशका यात्रामा करिव ७ महिना लगाएका उनीहरुसँग यात्राका क्रममा खल्तीमा दुई दुई हजार भन्दा बढी थिएन । त्यति थोरै पैसाले यतिका देशका यात्रा कसरी भयो सम्भव ? प्रश्न राख्न नपाउँदै भगत बोले, ‘जहाँ इच्छा त्यहाँ उपाय । जहाँ जहाँ पुग्थ्यौ, त्यही आश्रय माग्दै, निःशुल्क खाँदै अगाडि बढ्यौ । विदेशमा रहेका एनआरएनलगायत अन्य नेपालीको सहयोग पनि रह्यो ।’

पहिलो चरणको यात्राले उनीहरु उत्साहित भएका थिए । केही समयपछि उनीहरुले दोस्रो यात्रा थाले । दोस्रो यात्रा सिंगापुरबाट थालेका उनीहरुले पूर्वी एसियाका देश इन्डोनेशिया, फिलिपिन्स, ब्रुनाई, ताइवान, चीन, कोरिया, जापान, गल्फ लगायत धेरै देश घुमे । यात्राको क्रममा जहाँ जहाँ नेपाली समुदाय भेट्थे, त्यहाँबाट सहयोग जुटाउँदै अगाडि बढ्थे ।

पूर्वी एसिया गल्फ राष्ट्र पुरै सहयोग जुटाएर भ्रमण गरेका उनीहरुले यात्राको क्रममा विदेशमा भेटेका विभिन्न प्रोडक्ट नेपाल भित्र्याएर ब्यवसाय समेत गर्थे । यो ब्यवसायले यात्रामा सहयोग, परिवारिक खर्च र समाजसेवामा समेत भरथेग हुन्थ्यो ।

करिब ५५ देश साइकल यात्रा गरेपछि उनीहरुमा पैदल यात्रा गर्ने इच्छा भयो । ४५ राष्ट्र उनीहरुले पैदल हिँडेर गरे ।

‘साइकल यात्रा कठिन । यो भन्दा कठिन पैदल रहेछ,’ भगतले भने, ‘साइकलमा ४०/५० किलोमिटर दिनमा यात्रा हुन्थ्यो । पैदल बढमिा १५/२० किमिभन्दा नसकिने रहेछ ।’ एकसय ६० देश यात्रा गर्ने निधो गरेका उनीहरुले अव बाँकी ६० देशको यात्रा भने साइकलबाटै गर्ने सोच बनाएका छन् ।

यात्राका क्रममा लुटपाट, दुर्घटना, भोकै बस्नुपर्ने, अन्य मानिसले दुःख दिनेलगायत अनेकौ दुःखका किस्सा पनि छन् उनीहरुसँग । कतिपय देशमा सबथोक चोरी हुँदा दूतावासको सहयोगले नेपाल फर्किएको समेत उनीहरुले सुनाए । यात्राका क्रममा भोगेका, पाएका दुःख सम्झिदा अहिले पनि शरीर जिरिङ्ग हुने भगतले सुनाए ।

करिब १८ वर्ष विश्व यात्रामा बिताएका उनीहरुले यो अवधिमा सबै देशका यात्रा सक्नुपर्ने हो । सहयोग जुटाउँदै  यात्रा गर्नुपर्ने भएकोले धेरै समय लागेको भगतले बताए । ‘हामीसँग पैसा हुन्थ्यो भने हाम्रो यात्रा पहिले नै सकिन्थ्यो,’ दुबैले स्वरमा स्वर मिलाए, ‘सहयोग जुटाउँदै हिँड्दा समय लाग्दो रहेछ ।’ अबको केही वर्षमा बाँकी यात्रा सक्ने उनीहरुको योजना छ । 

अब युरोपदेखि अमेरिका

अवको यात्रा युरोप हुँदै दक्षिणा अमेरिका सम्मको हुनेछ उनीहरुको । करिब दुई तीन महिनामा उनीहरु यात्रामा निस्किनेछन् । ‘साइकलबाट विश्व यात्रा तरवारको धारमा हिँड्नु जस्तो रहेछ,’ अजयले गम्भीर हुँदै भने, ‘हामीले सुरु गरिहाल्यौ । पुरा गरेर मात्र छाड्ने निधो गरेका छौं ।’ 

यात्राको थालनी गर्दा अजय २१ र भगत २२ वर्षका थिए । अहिले दुबै ३८ र ३९ मा लागेका छन् । यात्रा थाल्दा अविवाहित उनीहरु अहिले विवाहित छन् । यात्राबाट फुर्सदको समय  परिवारले खोजिदिएको केटीसँग उनीहरुले घरजम गरे । अहिले उनीहरुको बच्चाबच्ची समेत छन् । यात्राको बिषयमा श्रीमतीलाई बुझाउन बुबाआमालाई जस्तो सजिलो पक्कै पनि थिएन उनीहरुलाई ।

‘हाम्रा कैयौं दाजुभाई विदेशका विभिन्न ठाउँमा कामको सिलसिलामा छन् । १० वर्षभन्दा लामो समयदेखि कैयौंजना घर फर्किएका छैनन् । हामी त देशको नाम र आफ्नो परिवारको नाम राख्दै हिँडेका छौ । जति बेला मन लाग्यो, नेपाल आउन सक्छौ भनेर श्रीमतीलाई बुझाउँथ्यौ,’  अजयले भने, ‘केही ब्यवसायमा शेयर छ । त्यसैले घर चलाउनु भन्थ्यौ ।’

विवाहको समय आफूले आफ्नो यात्राको सर्त नै राखेको भगतले सुनाए । ‘यात्रा र उद्देश्य बुझाएर विवाह अगाडि मञ्जुरी लिएकाले समस्या आउन पाएन,’ भगतले थपे ।

त्यसो त यात्राको समयका मौसम, खानपिन, भाषा,  लुटपाट, जंगली जनावरको डर लगायत धेरै कठिनाइको सामान गर्नु परेको छ उनीहरुले । यस्तो समय यात्रा छाड्ने विचार पनि कयौ पटक उनीहरुको मनमा नउठेको होइन ।

‘त्यो समय यात्राका लागि सहयोगसहित ढाडस दिनेहरु सम्झन्थ्यौ । घरपरिवारले आफ्नो कारणले पाएको नाम र सम्मान सम्झन्थ्यौ । त्यसैले यात्रा छोड्न सकेनौ’ दुबैले बताए ।

यात्रासँगै समाजसेवा पनि

साइकल यात्राको खर्च जुटाउन मुस्किल भएको समय उनीहरु समाजसेवामा लाग्छन् । अहिलेसम्म ६ जिल्लाका करिब एक हजार ६० बढी विद्यार्थीलाई उनीहरुले विभिन्न सहयोग गरिसकेका छन् । 

आफ्नै यात्रामा सहयोग जुटाउदै हिँडेका उनीहरुको समाजसेवा प्रतिको रुचिको कारण पनि छ । 

‘यात्राका लागि देश बुझ्ने क्रममा ४७ जिल्ला घुम्यौ । त्यो क्रममा नेपालीहरुकै घरमा पनि आश्रय लियौं । उनीहरुको घरमा खायौं,’ अजयले भने, ‘हामी यस्ता ठाउँमा पनि पुग्यौ कि जुन ठाउँका बच्चाहरु एक छाक मुस्किलले खाएर बाँचेका रहेछन् । उनीहरुको लगाउने लुगा छैन, खुट्टामा चप्पल छैन ।’ असाध्यै दर्दनाक दृश्यले आफूहरुलाई छोएकोले यात्रामा उठेको रकम बचाएर समाजसेवा गर्दै आएको अजयले बताए ।

यात्राको क्रममा उठेको पैसाको अलावा उनीहरु विभिन्न समयमा आयुर्वेदिक औषधी, ह्यान्डी क्र्याफ्ट लगायतका ब्यवसाय समेत गर्दछन् । त्यो पैसा पनि घरपरिवारको खर्चबाट अलिकति कटाएर उनीहरु समाजसेवामा लगाउँछन् ।

‘हामी बच्चाहरुलाई सहयोग मात्र गर्दैनौ । उनीहरुलाई भाइचारा, सरसफाइ, स्वास्थ्य लगायत कुरा समेत सिकाउदै सचेत गर्दै आएका छौ,’ प्रफुल्लित हँुदै भगतले भने, ‘हाम्रो सहयोगमा उनीहरुको अनुहारमा देखिने खुसीले संसार जिते जस्तो लाग्छ ।’ आगामी दिनमा पनि आफ्नो समाजसेवा निरन्तर जारी रहने उनीहरुले सुनाए । र, जाँदाजाँदै गुन्गुनाए, ‘ए दोसती, हम कभी नछोडेंगे । तोडेंगे दम मगर, साथ नहीं छोडेंगे ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।