समाज

‘लिभिङ टुगेदर’मा बस्ने बढ्दै, कानुन नबन्दा समस्या

कालीमाटी महिला सेलमा मात्र मासिक १० जनासम्म युवतीको उजुरी

person explore access_timeसाउन १, २०७९ chat_bubble_outline0

२७ वर्षीया संगीता तिमल्सिना (नाम परिवर्तन) स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहँदा एक युवकसँग मायाजालमा परिन् । युवकको दाइ साथी भएकाले उनीहरूको पारिवारिक जमघटमा चिनजान भएको थियो । भेटघाटमा उनीहरू कतिबेला प्रेममा परे पत्तै पाएनन् । 


कलेज पढ्ने बेला रिलेसनमा बस्न संगीताको रत्तिभर मन थिएन तर युवकको केयर गर्ने बानी, सोधीखोजी गर्ने, दुःख सुख सोध्ने बानीले उनी नचाहेर पनि युवकसँग नजिकिइन् । एक अर्कालाई नजिकबाट चिनजानको आधारमा एक वर्षपछि उनीहरू सँगै बस्ने निर्णय गरे । 



दुवैजना काठमाडौँमा एक्ला एक्लै थिए । बिरामी हुँदा पनि हेरचाह गर्न गाह्रो, भेट भएपनि घर फर्किने हतारो । खर्च उस्तै हुने । सबै कुरा मध्यनजर गर्दै एकै ठाउँमा बसे उचित हुने ठहर गर्दै सँगै बस्न थालेका थिए । 



बिहे नभएपनि उनीहरू श्रीमान् श्रीमतीजस्तै भएर बसे । युवक अफिस जान्थे भने संगीता कलेज पढ्दै थिइन् । पढाइ सकेर कुनै सानोतिनो जागिर गरेपछि घरमा भनेर बिहे गर्ने संगीताको योजना थियो । त्यसमा युवकको पनि सहमति थियो । 

यसैबीच स्नातकोत्तर सकेर संगीताले स्कुल पढाउन थालिन्  । साथसाथै उनले शिक्षक सेवा आयोगको तयारी गर्न थालिन् । 

सम्बन्धको डोरी कसिलो थियो । र, त लिभिङ टुगेदरमा बसेको ६ वर्ष भैसक्दा पनि खासै नोकझोक थिएन । तर, संगीतालाई अब भने घरजम गर्नु हतार हुन थालेको थियो । किनकि वरपरका मान्छेहरूले उनीप्रति हेर्ने नजरियाले उनलाई गाह्रो भएको थियो । 

संगीतालाई बिहेको प्रस्ताव प्रेमीले नै राखोस् भन्ने थियो । तर ६ वर्ष हुँदा पनि प्रेमीले बिहेको कुरा ननिकालेपछि उनी आफैले बिहेको कुरा गरिन् । त्यतिबेला युवकले आफ्नो मात्र जागिरले गुजारा गर्न मुस्किल भएको बताए । पहिले तिमीले शिक्षक सेवा आयोगमा नाम निकाल र त्यसपछि बिहे गरौँला भनेर टारे । 

तर संगीतालाई जागिर सके सरकारी, नभए प्राइभेट भएपनि खाइहालिन्छ भन्ने थियो । उनलाई त्यतिबेला बिहे नै प्राथमिकतामा परेको थियो । बिहे नगर्दा यही जागिरले पुग्ने, बिहे गरेपछि यही जागिरले नपुग्ने हुन्छ र ? सुख दुःख जे जसो सँगै गरौंला भन्दै उनले आफ्नो हठ छाडिनन् । 

संगीताले जब बिहेको कुरा बारम्बार उप्काउन थालिन्, तब प्रेमीले केही दूरी बनाउँदै गएको उनलाई अनुभूति हुन थाल्यो । तिमीलाई एक वर्षसम्म छोड्न सक्दिन भनेर उ अन्तर्राष्ट्रिय मिसनमा समेत नगएको मान्छे । आजकाल अफिसको काम भन्दै कहिले बुटवल, कहिले पोखरा त कहिले धरान जान थाले । 

घरदेखि दुई दिन बाहिर बस्न नसक्ने मान्छे हप्तौँसम्म अफिसको काम भन्दै बाहिर बस्न थाले । यस्तै खालका धेरै बहाना बन्दै जान थालेपछि झगडा  हुन थाल्यो । त्यसपछि उ घर आउनै छाड्यो । एक दिन अचानक एउटा नयाँ नम्बरबाट संगीतालाई फोन आयो । उसले आफूलाई भाइ बताउँदै भन्यो, ‘दाइ मिसनमा हाइटी जानु भयो । हतारमा हुँदा खबर गर्न नपाएको कुरा गर्दै हुनुहुन्थ्यो । मलाई खबर गर्न भन्नुभएको छ ।’ 

कोही अनजान मान्छेसँग श्रीमान्को विशेष खबर आउला भनेर संगीताले कल्पना पनि गरेकी थिइनन् । उनी त्यो भाइसँगै फोनमा रुन थालिन् । त्यसपछि भाइले दिदी मलाई माफ गर्दिनु मैले झुट बोले । दाइले हाइटी मिसनमा गयो भनेर भन्दे भन्नु भएको थियो । तर तपाईंले दाइलाई कति माया गर्नु हुँदो रहेछ । तपाईं रोएपछि मैले आफूलाई सम्हाल्नै सकिन । मलाइ माफ गर्दिनु दाइ हेडक्वार्टर नै हुनुहुन्छ भनेर फोन राख्यो । 

यसरी कुरा झुट बोल्ने अवस्थासम्म पुगेपछि संगीतालाई केही गडबड छ भन्ने शंका लाग्यो । उनले आफ्नै तरिकाले सोधखोज गरिन् । फाटेको लुगा र झुट कुराले धेरै समय छुप्न सक्दैन भनेजस्तै युवकको वास्तविकता लुक्न सकेन । उ विवाहित रहेछ । घरमा एक छोरी रहिछिन् । काठमाडौँमा संगीतालाई त उसले स्वार्थको लागि राखेको रहेछ । तर संगीताले यी सबै झुटलाई प्रेम ठानेर बसिन् । जसलाई सर्वस्व जीवन सम्झेर बसिन्, तिमी विना बाँच्नै सक्दिन भन्ने मान्छेको त दुई वर्षकी छोरी पो थियो । 

उसँग बिताएका ७ वर्षमा संगीतालाई अन्य केटाहरूले विवाहको प्रस्ताव नराखेका होइनन् । तर उनी आफ्नो सबथोक उही हो भनेर बसिन् । त्यही मान्छे अपराधी निस्केला भनेर उनले सोच्न पनि सकिनन् । उसले दिएको धोका सहन नसकेर पटक पटक आत्महत्या गर्ने मन नआएको होइन तर घरका बुढा बाआमा सम्झेर सम्हालिने गर्थिन् । 

संगीता अदालत जाने विचारमा थिइन् तर साथीले लिभिङ टुगेदरबारे नेपालमा कुनै कानुन नभएकाले न्याय पाउने सम्भावना नभएको बताएपछि उनी झनै टुटिन् । त्यसपछि केटासँग उनी एक्लै लड्न थालिन् । तर केटाले उनलाई आफ्नो बेइज्जत गरे मारिदिने धम्की दिन थाल्यो । हिजो एकअर्काको अंगालोमा बाँधिएर सँगै जीवन जिउने सपना देखेका पात्र तँलाई मार्छु, काट्छु भन्ने अवस्थासम्म पुगे ।

आफू लिभिङमा बसेर पाउनु दुःख पाएपछि संगीताले आजकाल आफूभन्दा साना बहिनीहरुलाई लिभिङमा नबस्न सल्लाह दिन्छिन् । लिभिङमा बस्दा मान्छेहरूले आफ्नो परिचय लुकाएर बस्छन् । साथै बसेको कुरा कसैलाई सुनाउँदैनन् । समाजले नस्वीकारेको कुरा लुकाउन बाध्य हुन्छन् । लिभिङमा बस्दा हुन सक्ने समस्याबाट केटी मान्छे धेरै पीडित हुनुपर्ने संगीताको बुझाइ छ । 

संगीताको जस्तै दुःख सिर्जनाको पनि

त्यस्तै, अर्की पात्र २५ वर्षीया सिर्जना खड्का (नाम परिवर्तन) पनि एक युवकसँग तीन वर्ष लिभिङमा बसिन् । गाउँबाट काठमाडौं पढ्न आएकी उनी आफ्नी विदेशमा बस्ने साथीबाट प्रभावित भएर लिभिङमा बसेको सुनाउँछिन् । 

खर्च कम गर्न मन मिल्ने साथीसँग आफू विदेशमा विदेशी केटा साथीसँग लिभिङमा बसेको सुनाएपछि सिर्जनालाई पनि यो आइडिया मन पर्यो । त्यहीबेला उनी एक युवकसँग प्रेममा परेकी थिइन् । उनीहरुबीच प्रेम भएपनि पछि गएर बिहे गर्ने र घरजम गर्ने कुनै योजना थिएन । जति समय एकअर्कासँग खुसी भएर बस्न सकिन्छ, त्यति दिनसम्म सँगै बस्ने कुरा थियो । तर सँगै बस्ने क्रममा उनी गर्भवती भइन् । गर्भवती भएपछि उनलाई मातृत्वले तान्यो । उनले प्रेमीलाई बिहे गर्न दबाब दिँदै आफूले बच्चा जन्माउन चाहेको बताइन् । 

तर उनको प्रेमीले बच्चा जन्माउन र उनीसँग बिहे गर्न ठाडै इन्कार गरे । उनले आमाबाबुले नै रोजेको केटीसँग बिहे गर्नुपर्ने आफ्नो बाध्यता रहेको सुनाए । बच्चाको बाबुले नै बच्चा नचाहेपछि सिर्जनाले हार खाइन् । र, उनैको पछि लागेर गर्भपतन गर्न बाध्य भइन् । 

केटालाई केटी मान्छेको शरीरसँग मात्रै मतलब हुने रहेछ । जब जिम्मेवारी लिनुपर्ने अवस्था आउँछ । उसले असली रूप देखाउने रहेछ, आफ्नो पुरुषत्व देखाउने रहेछ । उनी त्यो दिन आमालाई सम्झिएर धेरै रोइन् । यदि बिहे गरेको श्रीमान्बाट गर्भवती भएको भए यो दिन देख्नुपर्ने थिएन भन्ने लाग्यो ।

उनले आफू उपर परेको बज्रपात आमालगायत कसैलाई सुनाउन सकिनन् । कसैसँग आफ्नो पिडा सुनाउन नसक्दा मान्छे भित्रभित्रै मर्ने रहेछ । गर्भपतन गरेपछि उनलाई प्रेमीसँग बस्न मनै लागेन र छुट्टै बसिन् । केटाले पनि सहजै स्वीकारेर छुट्टै बस्न थाल्यो । 

समयसँगै ती घाउ पुरिदै गएका थिए । बिर्सन आवश्यक पनि थियो । त्यसै क्रममा उनी फेरि अर्को एक पुरुष साथीसँग नजिक हुन पुगिन् । तर उनलाई पहिले जसरी सम्बन्ध बनाउने कुरामा रुचि थिएन । गर्भपतन गर्नुपरेको पीडाले उनी हरेक दिन आफूलाई दोषी ठह्याउँथिन् । त्यसैले नयाँ प्रेमीसँग उनलाई सम्बन्ध बनाउन मन थिएन । 

उता प्रेमीले यौन सम्बन्धको लागि प्रस्ताव गरिरहन्थे । प्रेमीले फकाइरहँदा पनि उनी ‘कन्भिन्स’ हुन सकिनन् । त्यो दिन उनको प्रेमी रिसाए । तर रिसको झोकमा उनले त्यस्तो कुरा बोल्लान् भन्ने सिर्जनालाई लागेको थिएन । पहिलेको प्रेमीसँग सम्बन्ध बनाउन हुने मसँग नहुने भनेर उनले प्रश्न पो गरे । 

पहिलेको प्रेमीको बच्चा फालेको समेत कुरा उसलाई थाहा रहेछ । पहिलो प्रेमीकै उनी साथी रहेछन् । उनी त्यो कुरा सुनेर छाँगाबाट खसेझैँ भइन् । शारीरिक सम्बन्धको लागि पुरुष यो हदसम्म गिर्न सक्ने कुरा उनले त्यो दिन मात्र थाहा पाइन् । 

मासिक ७ देखि १० जनासम्म युवतीको गुनासो

यी त केही प्रतिनिधि घटना मात्र हुन् । कालीमाटी प्रहरी वृत्त महिला सेलकी इञ्चार्ज प्रहरी निरीक्षक सपना खड्काका अनुसार पछिल्लो समय महिला सेलमा सबैभन्दा बढी मुद्दा  लिभिङ टुगेदरमा बसेर अन्यायमा परेको भन्दै युवतीहरू आउने गरेको बताउँछिन् । 

उनका अनुसार महिनामा कम्तीमा ७ देखि १० जनासम्म महिला लिभिङमा बसेर अन्यायमा परेको समस्या लिएर आउने गरेका छन् । महिला सेलको तथ्याङ्कअनुसार वर्षमा करिब सय जना भन्दा बढी महिला लिभिङकै समस्या लिएर आएको पाइन्छ । 

लामो समय लिभिङमा बसेर बिहे गर्न आनाकानी गर्ने गरेको पीडितहरुको गुनासो छ । कोही गर्भवती बनाएर पार्टनर भागेको भन्दै दुःखेसो पोख्न आउँछन् । कानुन नै नभएपछि धेरैलाई मेलमिलाप गरेर पठाएको खड्काले जानकारी दिइन् । केहीले थोरै क्षतिपूर्ति दिएर आ–आफ्नो बाटो लागेको उनको भनाइ छ । 

लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रूपमा अघि बढिसकेको र त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको उपसभामुख पुष्पा भुसालको भनाइ छ । हामीसँग वैवाहिक र घरेलु कानुन छन् । त्यसलाई पनि यसले प्रभावित पारिरहेको भन्दै उनले भनिन्, ‘लिभिङ टुगेदरको बारेमा कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने सन्दर्भमा पनि यसलाई स्पष्ट रुपबाट कानुन बनाउन जरुरी छ ।’ 

लिभिङ टुगेदरको बारेमा सरकारले छिटो भन्दा छिटो एउटा स्पष्ट खाका कोरेर सदनमा छलफल गराउन आवश्यक छ । विवाहित पुरुषले बाहिर लिभिङ टुगेदरमा महिला राखेको भन्ने कुरालाई विद्यमान कानुनले सम्बोधन गर्दैन । तर विवाह नभइकन कोही सँगै बसेका छन् भने लिभिङ टुगेदर रजिस्ट्रेसन हुनुपर्ने उनले बताइन् । 

विदेशमा लिभिङको विषयमा स्पष्ट कानुन छ तर नेपालमा कानुनको अभाव हुँदा यस समस्यामा जो छ, उसले न्याय पाउने सम्भावना धेरै कम हुने समाजशास्त्री निर्मला ढकालको भनाइ छ । 

ढकाल भन्छिन्, ‘प्रेम हुञ्जेल त ठिकै हुन्छ । सम्बन्धमा खटपट सुरु भएपछि के गर्ने ?’ विश्व एक गाउँमा परिणत भइसकेको अवस्थामा अन्य देशमा के कस्ता चलन छन, जान्न सजिलो भएको उनको भनाइ छ । धेरै देशमा उमेर पुगेका मानिसहरू लिभिङमा बस्ने प्रचलन छ । ‘त्यही सिको गर्दै नेपालीहरु पनि लिभिङमा बस्छन्,’ उनले भनिन् । एक पक्षले अन्यायमा परेको महसुस गर्दा न्यायको लागि ढोका ढक्ढकाउने ठाउँ नै छैन, त्यसैले   पीडितले सहनुबाहेक अरु विकल्प नभएको उनले बताइन् । 

हाम्रो समाजको संरचना, संस्कृति अनुरूप लिभिङमा नबस्नु भनेर परामर्श दिनु उचित देखिने ढकालको जिकिर छ । तर आधुनिक समाज स्थापित हुँदै गर्दा यो सम्भव पनि नरहेको उनको बुझाइ छ । सरकारले स्वतः कानुन बनाउन नसकेर लिभिङमा नबस भनिरहेको छ । जुन अबको आधुनिक समाजमा करिब करिब असम्भव देखिन्छ । 

ढकालका अनुसार विवाहको विषयमा नयाँ पुस्ताको नयाँ अवधारणा छ । पहिले पार्टनरलाई राम्रोसँग चिनेर जानेर मात्र बिहे गर्ने निर्णय गर्ने पुस्ता निस्किँदै छ । लिभिङलाई गलत भनेर व्याख्या गर्नुभन्दा राज्यले कानुन बनाएर व्यवस्थित गर्नु उचित हुने ढकालले बताइन् । राज्यको दायित्व नागरिकलाई सहजीकरण गर्नु पनि हो । अन्तर्राष्ट्रिय संस्कृति अबलम्बन गर्दै गर्दा त्यही अनुरुपको कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले समेत सुझाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा सांसदहरूले पनि स्पष्ट कानुन बनाउनु पर्ने धारणा बारम्बार राख्दै आएका छन् । तर,कानुन नबन्दा महिला पीडित हुने क्रम बढ्दो छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।