विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

राष्ट्रिय जनावर गाईलाई किन हैरानी ?

आइतबार, ०१ साउन २०७९, १२ : ०९
आइतबार, ०१ साउन २०७९

केही समय पहिले गोरुको मासु ओसारपसार गरेको अभियोगमा तीन जना पक्राउ भन्ने समाचारले मेरो ध्यान तान्यो । देश नै धर्म निरपेक्ष भएपछि गोरु र खसीमा के फरक ? कि त हिन्दू मुलुक बनाउनुपर्‍यो कि त सबैलाई आआफ्नो अधिकार प्रयोग गर्न दिनुपर्‍यो । 

संविधानको धारा धारा ५१ को उपधारा (ग)  अन्तर्गत पर्ने सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको ५ नम्बर बुँदाले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने घोषणा गरिसकेको छ । 

त्यसैले, अब कुनै समुदायले परम्परादेखि नै गोरुको मासु पितृलाई चढाउने परम्परा मान्दै आएको छ भने उसले गोरुको मासु कहाँबाट ल्याउने त ? 

आफू कृषि सञ्चारमा आबद्ध भएका कारण देशैभरिका गाई फार्म डुलेको छु । हरेक गाई फार्ममा बहरको एक प्रकारले हत्या हुन्छ । त्यसको कारण हो– गोरु जोत्ने प्रथाको कमी । त्यसमा पनि विकासे गाईका बाच्छा जोत्न योग्य हुँदैनन् । जुरो हुँदैन र जुवा अड्किँदैन । 

अझ भन्ने हो भने अहिलेका आधुनिक र प्रयोगशालामा उत्पादन गरिएका गाईहरू गाई नभएर गाई जस्ता अनुहारका जनावर मात्र हुन् । न त यिनीहरूको गहुँत शुद्ध छ, त न गोबर नै । दाना नखाई यिनीहरूबाट दूध झर्दैन र दानामा अन्न मिसाइने हुनाले यिनीहरूको गोबर गोबर नभई दिसा बनेको छ । 

जन्मिनासाथ बाच्छो जन्मियो भने दूध खानै नदिएर एक दुई दिनमै मारिन्छ । विकासे गाईले दूध दिने बेलामा बाच्छो पनि खोज्दैन । उसको फाँचो चर्केको हुन्छ, मजाले दूध दिन्छ । यदि खोजिहाले परालको नक्कली बाच्छो बनाएर दूध दुहिन्छ । अब यसरी जन्मिएको बाच्छो राम्ररी हुर्काएर मासु खानेलाई दिए हुन्न ? कमसेकम बाच्छाले केही समय नै भए पनि बाँच्न त पाउँथ्यो । हो, गाई राष्ट्रिय जनावर भएकाले उसका छोरा बाच्छालाई पनि राज्यले मार्नबाट जोगाएको हो र सत्य कुरो पनि हो । तर खानै नदिएर मार्नु र काटेर मार्नुमा तात्त्विक अन्तर के छ र ? 

अर्को कुरा दूध दिउन्जेल दुहुने र बूढो भएपछि गाईलाई बाटो या जङ्गलमै छोडिदिने प्रचलन छ । यसकारण राज्यले बूढा गाई तथा बाच्छाका लागि कि हरेक वडा र टोल टोलमा गाईबाच्छा पालनपोषण केन्द्र खोल्नुपर्‍यो कि काटेर दिनुपर्‍यो । 

एउटा सानो घटना सुनाउँछु । एक दिन चितवनको पदमपुर क्षेत्रमा एकजना मानिसले बाच्छो पिट्दै खेदेको देखियो । मैले सोधेँ, “ए दाइ यसको पनि बाँच्ने अधिकार होला नि ?” ती मानिसले जङ्गिएर लैजानुहोस्, तपाईं नै यसको संरक्षण गर्नुहोस् भनेर दाम्लो भिडाए । मैले बाध्य भएर दाम्लो समातेँ । बाच्छोको ढाडमा तातो पानी खन्याएर बिजोक पारिएको थियो । म रिपोर्टिङको सिलसिलामा थिएँ । बाच्छो डोर्‍याएँ र क्यामेरा म्यान भाइलाई धपाउन लगाएँ । मुस्किलले एक किलोमिटर हिँड्यो र बस्यो । संयोगवश खोला नजिकै पुगेका थियौँ । बाच्छोलाई त्यही किनारमा किलो ठोकेर बाँधिदियौँ र रिपोर्टिङ गर्न नजिकको टर्की फार्ममा छिर्‍यौँ । 

फार्मका मालिकले चिया खाने अफर गरे । हामीलाई बाच्छाको पीर थियो । हामीले पनि भनिहाल्यौँ, हामीलाई चिया नदिनोस्, बरु एउटा बाच्छो छ, त्यसका लागि खानपानको व्यवस्था गरौँ । सय पचास हामी पनि हालौँला । 

ती मानिस बाध्य भए । उनले एउटा उपाय निकाले । छेवैमा हिउँदे मकै पाकेको रहेछ, मकै बेचेर हरियै ढोड रहेछन् । एक कट्ठाको ढोड पाँच सयमा खरिद गरिदिए । त्यसै दिन निकाल्नुपर्ने सर्तमा । उनकै फार्ममा काम गर्ने कामदारलाई लगाएर त्यस्तै एक ट्रक जति हरियो ढोड खाली जमिनमा थुपारे र त्यो बाच्छो ल्याएर बाँधिदिए । 

उनको कामले हामीलाई पनि शान्ति मिल्यो । ती सज्जनले आफ्नो फार्ममा आउने चिकित्सकमार्फत् स्थानीय पशुसेवा केन्द्रबाट औषधि पनि मगाएर बाच्छो निको पनि पारेछन् । अर्को महिनासम्म बाच्छो त्यतै उनको फार्ममा चर्थ्यो । राम्रो भएको थियो । फार्म वरिपरि जग्गा बाँझो थियो । काँस घारीमा हरियो पलाएपछि बाच्छो त्यहीँ बस्यो । एक वर्षपछि जाँदा पनि बाच्छो थियो । स्वस्थ बाच्छो पछि हरायो भन्थे, सायद पक्राउ पर्नेहरूकै भागमा पर्‍यो होला । 

राज्यसँग म एउटा माग गर्छु । मलाई जग्गा दिइयोस् । गोठ बनाउने पैसा पनि दिइयोस्, म सारा बूढा गाई बाच्छा पाल्छु । त्यसको गोबरबाट नै उनीहरूलाई पुग्ने खानाको व्यवस्था हुन्छ । सरकारले जुन ठाउँमा जग्गा दिन्छ, सोही पालिकासँग स्वास्थ्य सुविधा मागौँला । सरकारले दिएको पैसाले मल उपलब्ध गराएर तिरौँला । मलको हाहाकार छ देशमा । बरु गँड्यौला पालेरै मल बनाउँला । यसरी बनाएको मल विश्वमा सबैभन्दा राम्रो मानिन्छ । त्यसैले गाई र बाच्छालाई राष्ट्रिय जनावरको नाममा यसरी दुःख नदिऔँ । 

भारतमा गाईले अक्सिजन दिन्छ भन्ने हल्ला फिँजाइएको छ । त्यसको असर यता पनि छ । एक जना सामाजिक अभियन्ताका रूपमा चिनिएका पूर्वसचिव पनि गाईले अक्सिजन दिन्छ भन्दै हिँडेको सुनेको छु । फेसबुकमा उनको भनाइ पनि पढेको छु । 

मलाई पनि यसमाथि अनुसन्धान गर्न मन लागेर अमेरिकामा पशुपन्छीमै पोस्ट डक्टरेट गर्दै गरेका एक जना वैज्ञानिकलाई सोधेँ । उनले मेरो सातो लिए । सञ्चार क्षेत्रका मान्छेले पनि यस्तामा विश्वास गर्ने ? अक्सिजन त फोटोसेन्थेसिस प्रक्रियाबाट निस्कने हो । यो काम बिरुवाले मात्र गर्न सक्छ । गाईमा त्यस्तो कुनै गुण छैन । 

एक जना जनजाति महिला जो नेपाली साहित्यमा विद्यावारिधि गरेकी छिन् ।  उनलाई सोधेँ “तपाईं त नेपालीको विद्वान्, पक्कै संस्कृतको ज्ञान होला । गाईको पूजा कहिलदेखि सुरु भएको हो ?” उनले त वैदिक कालमा  ऋषिआश्रममा पाहुनालाई सत्कार गर्दा बाच्छो काटेर ख्वाउने प्रचलन रहेको बताइन् । आवश्यक परेको बेला आउनु प्रमाण पनि दिउँलासमेत भनिन् । संस्कृतको श्लोक नै दिउँला, संस्कृत जान्नेसँग सोध्नु भन्ने जवाफ दिइन् । 

यस्तै यस्तै कारणबाट मलाई पनि गाईको पूजाको वैज्ञानिक आधार भए जस्तो लागेन । हो, परम्परादेखि मानिआएको संस्कृतिको जगेर्ना गर्नुपर्दछ तर एउटा संस्कृति जगेर्ना गर्दा अर्कोलाई थिच्नु भएन । 

कतिपय आचार्यहरूले स्थानीय गाईको गहुँत, गोबर र दूधबारे विश्लेषण गरेको पाइन्छ । हामी पनि घरमा यसैअनुसार संस्कृति मान्छौँ तर हाल ती स्थानीय प्रजातिका गाई लोप भइसकेका छन् । 

ती अमेरिकामा बस्ने पोस्टडकले त गाईको गहँुत र गोबर मिसिएपछि निस्कने मिथेन ग्यासले जलवायु परिवर्तनमा अत्यन्त नकारात्मक असर पार्ने पो बताए । पछि कुरो बुझ्दा त्यो सत्य रहेछ । यही तथ्यका कारण पश्चिममा गाईगोठको मलमूत्र खुला ठाउँमा फाल्न नपाइने रहेछ । 

जेसुकै होस्, पशुपन्छीको अधिकार हनन् नगरौँ । उनीहरूलाई उचित व्यवहार गरौँ । यो संसार उनीहरूको पनि हो । मानिसले आफू मात्र जान्ने सम्झनु भएन । त्यसै गरी आफ्नो प्रचलन मान्दा अरूमाथि दुरव्यवहार नगरौँ । 

लेखक ओझा कृषि सञ्चारमा विद्यावारिधि हुन्  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप