शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशलाई गाँजाबाट सम्पन्न बनाउने उडानमा क्याप्टेन पवनराज

साबुनदेखि थरी थरीका औषधीसम्मका उत्पादन (भिडियोसहित)
सोमबार, ०२ साउन २०७९, ०६ : ४८
सोमबार, ०२ साउन २०७९

क्याप्टेन पवनराज जोशी जसले १७ वर्ष अकासमा राष्ट्रिय ध्वजावाहक विमान उडाए, तर विगत ११ वर्षदेखि भने उनी गाँजाबाट देशलाई सम्पन्न गराउने सपनाको उडानमा छन् । उनको सपनाको उडानले गति लिन सरकारी नीति बाधक बनेको छ ।

विमान उडाउन छोडेपछि उनी गाँजाको रहस्यहरू पत्ता लगाउन लागिपरे । त्यसका लागि देश तथा विदेशका थुप्रै व्यक्तिसँग भेटघाट, छलफल, अध्ययन, अवलोकन गर्दै गाँजाबाट विभिन्न सामग्रीको उत्पादनका लागि परीक्षण गर्न लागिपरे । हाल गाँजाबाट महिला तथा पुरुषले दैनिक जीवनमा लगाउने विभिन्न डिजाइनका तयारी कपडाहरूको उत्पादनका साथै सौन्दर्य प्रशोधनका विभिन्न वस्तुहरू साबुनदेखि औषधीय गुणले भरिपूर्ण सामग्रीहरू उत्पादन गरिरहेका छन् ।

काठमाडौँको अन्नपूर्ण होटल नजिकै दरबारमार्गमा ‘डाभा’ ब्राण्डमा गाँजाबाट उत्पादित सामग्रीहरूको सोरुम सञ्चालन गरिरहेका उनले हामीलाई आफूले उत्पादन गरेको सामग्रीहरू देखाएका छन् । तिनीहरूको गुण, उत्पादन गर्ने तरिका र गाँजालाई खुला गर्दा नेपाल र नेपालीले पाउने लाभबारे हामीलाई वर्णन गरेका छन्, जुन तपाईले यसै सामग्रीको मुनी राखिएको भिडियोबाट थाहा पाउन सक्नुहुन्छ ।

क्याप्टेन जोशी गाँजाबाट सामग्री उत्पादन र बजारीकरण गर्नुका साथै नेपालमा मेडिकल प्रयोजनका लागि गाँजा उत्पादन तथा बिक्रीलाई कानुनी मान्यता दिनुपर्छ भनेर वकालत गर्न थालेका छन् । उनले अध्ययन अनुसन्धान गरेर ‘गाँजाको खेती धनको वर्षा’ नामको पुस्तिका समेत प्रकाशन गरेका छन् ।

जोशीले सन् २०११ देखि गाँजाको क्षेत्रमा अध्ययन गर्न थालेका हुन् । उनले सुरुमा अमेरिकाको क्यालिफोर्नियामा गाँजाको बारेमा अध्ययन गरेका थिए । उनले त्यहाँ गाँजा खेती तथा व्यापारमा लागेका धेरैलाई साथी बनाएका थिए । त्यसपछि उनी स्वेदेशमै पनि गाँजालाई प्राथमिकता दिएर केही गर्नुपर्छ भनेर नेपाल फर्किएका थिए ।

शाही नेपाल वायु सेवा निगममा जागिर छोडेपछि उनी अमेरिका जाने–आउने गरिरहन्थे । अमेरिकामा उनले गाँजाबाट बनेका धेरै उत्पादनहरू देखेका थिए । उनले भने–‘गाँजाबाट बनेको सामान भनेर त देखेँ तर कसरी बन्छ थाहा थिएन । त्यसपछि म अध्ययन अनुसन्धान गर्न थालेँ । म नेपाल फर्किएपछि फेरी त्यहाँको एकजना साथीले गाँजाको बारेमा जानकार मान्छे भेटाइदिन्छु भनेपछि फेरी म अमेरिका गएँ । त्यहाँ पुगेपछि एकपछि अर्कोसँग चिनजान बढ्यो । अहिले मेरो अमेरिका र क्यानडाका ३० जना गाँजा व्यापारीसँग राम्रो सम्बन्ध छ ।’

थाइल्याण्ड लगायतका मुलुकमा पनि गाँजा व्यापार गर्ने उनका साथीहरूले  नेपालमा पनि गाँजा उत्पादन भइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेको उनले सुनाए ।

नेपालमा गाँजा बन्द भनिए पनि पूर्ण रूपमा बन्दको अवस्थामा भने नरहेको उनले बताए । गाँजालाई लागू औषध हैन भनेर नेपाल र भारतले सँगै भोटिङ गरेका कारण पनि अब लागू औषधको रूपमा नरहेको उनले बताए ।

उनले भने–‘नेपालमा चरेसलाई लागू औषधको रूपमा राखिएको छ तर गाँजालाई राखिएको छैन । अहिलेका बिचौलियाहरूले यसलाई जबरजस्ती बन्द गराउन खोजिरहेका छन् । जब तपाईले रक्सी बेच्न पाउनुहुन्छ भने त्यसलाई सेवन गर्न पनि पाउनुपर्‍यो नि ।’

गाँजाका ३५ बढी बहुउत्पादनहरु : कपडा, साबुन, स्याम्पुदेखि औषधीसम्म

दरबारमार्गमा रहेको उनको ‘डाभा’ शोरुममा उनले आफूले गाँजाबाट उत्पादन गरेका विभिन्न सामग्रीहरू थिए । तिनमा कपडादेखि साबुन, औषधीय गुणले भरिपूर्ण सामग्रीहरू थिए । उनले उत्पादन गरेका सामग्रीहरू निम्न रहेका छन् :

हेम्स सलुसन : गाँजाको फूलबाट बनाइएको अत्तर बनाउँदा निस्किएको पानी जसले अनुहारको चाया पोतो हटाउन मद्दत गर्छ ।

तेल : जसले दुखाइलाई कम गर्न मद्दत पुर्‍याउँदछ । शरीर दुखेको, हात मर्केको आदिका लागि लाभदायक हुन्छ ।

हेम्प मसाज तेल : जुन शरीर दुखेको हटाउनका लागि मसाज गर्न प्रयोग गरिन्छ ।

हेम्प मदर अइल : महिलाको पेटमा देखिने धर्सा हटाउनका लागि प्रयोग गरिन्छ ।

हेयर बाम : नुहाउनुभन्दा अगाडि कपालमा लगाइन्छ । पातलो कपाल भएकोलाई बाक्लो बनाउन मद्दत पुर्‍याउँछ ।

हेम्प बढी स्प्रे : नुहाउनु भन्दा १५ मिनेट अघि शरीरमा स्प्रे गरेपछि नुहाउँदा शरीर सफा राख्न मद्दत पुर्‍याउँछ ।

हेम्प फेस स्क्रब : मुख धुन प्रयोग गरिन्छ जसले अनुहार सफा गर्न, स्वस्थ राख्न मद्दत गर्छ । यो पूर्ण रूपमा प्राकृतिक हुन्छ । जसले कुनै पनि ‘साइड इफेक्ट’ गर्दैन ।

हेम्प बढी वास : यो तरल साबुनको रूपमा रहेको हुन्छ । यो नुहाउनका लागि प्रयोग गरिन्छ ।

हेम्प फेस वास : यो मुख सफा बनाउनका लागि प्रयोग हुन्छ । बजारमा सर्वाधिक बिक्री हुने गरेको छ । यसमा कुनै पनि केमिकल नहुने र कुनै पनि साइड इफेक्ट नगर्ने जोशीले बताए ।

गाँजाको फल डोल्पा नेपालगञ्ज ल्याएर त्यसलाई पेलेर तेल निकालेर काठमाडौं ल्याएर उत्पादन गरिने उनले बताए ।

लिप बाम : जाडोयाममा ओठमा लगाउने बस्तु जुन बिहान लगाएर हिँड्यो भने दिनभरिका लागि काम गर्ने उनी बताउँछन् । ओठमा लगाउँदा मुखभित्र गयो भने पनि कुनै असर नहुने उनले बताए ।

बाथ साल्ट : नुहाउनुभन्दा अगाडि बाथटबको मनतातो पानीमा एक बिर्को राख्ने र बाथटबमा बसेपछि यसले थकान घटाउन मद्दत पुग्दछ ।

गाँजाको शुद्ध तेल : अधिकांश उत्पादनहरूको आधार यो तेल हुन्छ । यो तेल सर्वगुण सम्पन्न हुने गर्छ । यो टाउकोमा लगाउन पनि मिल्ने, निद्रा नलाग्ने समस्या भएकाले खान पनि सक्ने, अल्जाइमर, हात खुट्टा काम्ने जस्ता समस्या भएका मानिसले सेवन पनि गर्न सक्ने क्याप्टेन जोशी बताउँछन् । बेलुका सुत्ने बेलामा ५ एमएल पानीमा मिसाएर पिउन सकिने उनले बताए । यसले कुनै साइड इफेक्ट नगर्ने र राम्रोसँग निद्रा लगाउने उनले बताए । गाँजा जस्तो नलाग्ने र बिहान उठ्दा फ्रेस हुने उनको भनाई छ ।

अहिलेसम्म डाभा ब्राण्डमा ३५ प्रकारका सामग्री उत्पादन गरिरहेको उनले बताए । अर्को साता देखि नेचुरल सन्चोको उत्पादन गर्ने तयारी समेत गरिएको छ ।

डोल्पा–नेपालगञ्ज–काठमाडौँ दौडधुप : यसरी सुरु भयो उत्पादनको काम

क्याप्टेन जोशीले अहिले जति पनि गाँजाबाट सामग्रीहरू उत्पादन गरेका छन्, यसको विधि प्रक्रिया उनले विदेशमा रहेका साथीहरूबाट पाएका हुन् । नेपालमा गाँजा सेवन गर्न प्रतिबन्ध छ भने त्यसबाट अरू सामग्री त उत्पादन गर्न सकिन्छ भने किन नगर्ने भनेर सुरु गरेको उनले बताए ।

यो–यो तरिकाबाट गाँजाको तेल निकाल्न सकिन्छ भनेर उनीहरुले दिएको तरिकालाई अपनाउँदै आफूले उत्पादन सुरु गरेको उनले सुनाए । विदेशी साथीहरूले दिएको उत्पादन सूत्रका आधारमा आफूले उत्पादनहरू थालेको क्याप्टेन जोशीको भनाई छ । उनले भने–‘मेरो एकजना साथीले विज्ञ रहेका एकजना जापानीसँग जोडिदिए । उनले गाँजाबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी प्रविधि सहयोग गरेर बसेका रहेछन् । उनीसँग सल्लाह गरेर हामीले विभिन्न सामग्रीहरू बनाउन थालेका हौँ ।’

उनले गाँजाबाट मेकअपका लागि आवश्यक पर्ने अधिकांश सामग्री उत्पादन गरिरहेको बताए । गाँजाको तेलबाट बनेको साबुन जुन नुहाउन तथा मुख धुन सकिन्छ । साबुनमा प्रयोग गरिएको तत्त्वहरूमा गाँजाको तेलको मात्रा धेरै हुने उनले बताए । जुन साबुनको प्रयोगले मानिसको शरीरमा हुने खटिरा, डन्डिफोर तथा चाया पोतो रोकथाम गर्न सकिने क्याप्टेन जोशीले बताए ।

उनले गाँजाको तेल प्रयोग भएको ४ प्रकारका साबुन बनाएका छन् । कुनै साबुनमा बास्ना प्रयोग गरिएको छ । साथै  स्याम्पु बारको रूपमा पनि साबुन रहेको छ । स्याम्पु केमिकल मिसिएकोले कपालमा असर गर्ने भन्दै आजभोलि विश्वमा स्याम्पु बारको प्रयोग हुने गरेको उनले बताए ।

तरल स्याम्पुलाई ठोस स्याम्पुमा बदलिएको र सो सामग्री बनाउन झन्डै १ महिनाको प्रक्रिया हुने उनले बताए । कोठाको तापक्रममा राखेर सुकाएर गाँजाको स्याम्पु बार बनाइने उनले बताए । हातले नै सबै सामग्री बनाउने भएकोले समय धेरै खर्च हुन्छ । फ्याक्ट्रीमा जस्तो तुरुन्तै उत्पादन गरेर तुरुन्तै पाउन सक्ने अवस्था भने हुँदैन ।

गाँजाका सामानसँग परिचित हुँदै उपभोक्ता 

 विदेशीहरू गाँजाबाट बनेका उत्पादनहरूमा परिचित हुने र नेपालीहरू पनि बिस्तारै परिचित हुँदै गएको उनले बताए । विदेशीहरू गाँजाबाट बनेको सामान खोज्दै आउने र नेपालीहरू कसरी बन्छ भनेर धेरै सोधपुछ गर्ने गर्छन् । नेपालमा उल्लेखनीय रूपमा बिक्रीको अवस्था भने छैन ।

उनले भने–‘गाँजाबाट बनेको सामानबाट कसरी विदेशी मुद्रा आर्जन गर्ने, सरकारले उत्पादकलाई कसरी सहयोग गर्ने भन्ने कुरामा हामी लागिरहेका छौँ ।’ नेपाली उपभोक्ताहरूले पनि गाँजाबाट बनेको सामग्री मन पराउँदै गएको उनले बताए ।

एउटै माग : नेपालमा गाँजाले कानुनी मान्यता पाउनुप¥यो

सरकारले गाँजालाई कानुनी मान्यता दिने हो भने सरकार, किसान तथा लगानीकर्ता सबैलाई फाइदा हुने क्याप्टेन जोशीले बताए ।

उनले भने–‘नेपालमा गाँजाले कानुनी मान्यता पाउनुप¥यो । खुल्लम खुल्ला यसलाई हामीले व्यापार गर्न पाउनुप¥यो । गाँजाको धुवाँ सेवन गर्ने पक्षमा म छैन तर गाँजाबाट बहुआयामिक रूपमा विभिन्न लाभदायक सामग्री उत्पादन गर्न सकिन्छ, मैले यो कुरालाई उठाउँदै आइरहेको छु । गाँजाका धेरैथरी बोट हुने गर्छन्, कुनै बोट हामी क्यान्सरका बिरामीलाई उपचारका लागि प्रयोग गर्छौ । कुनै बोट धुवाँ पिउनका लागि हुन्छ । सरकारले गाँजाको धुवाँ पिउने काम रोक्नका लागि प्रतिबन्ध लगाएको हो भने हामीलाई मेडिकल प्रयोगका लागि त खुला गर्नुप¥यो ।’

उनले मेडिकल प्रयोजनका लागि नेपालमा ठूलो परिमाणमा गाँजा खेती गर्ने हो भने विदेश निर्यातका लागि आफूसँग एउटा टिम रहेको उनले बताए । सरकारले गाँजा रोप्न दिने हो, गाँजाले कानुनी मान्यता पाउने हो भने त्यसको ५ वर्षमा ५ खर्बको राजस्व सरकारलाई तिर्न सक्ने उनको दाबी छ ।

उनले भने–‘एउटा टिमले थाइल्याण्डको बैंककमा काम गरिरहेको छ । उनीहरूलाई विश्वास गरेर त्यहाँको सरकारले काम गर्न दिएको छ । हाम्रो टिमसँग काम गर्दा किसानले एक पैसा पनि खर्च गर्नुपर्दैन । किसानबाट हामी जमिन लिन्छौँ, हामी उनीहरूलाई गाँजाको बिउ, मल, जल दिन्छौँ । उत्पादन भएको गाँजा हामी आफै काटेर उनीहरूलाई पैसा दिन्छौँ । किसानलाई लागत पर्छ । उनीहरूलाई तालिम पनि दिन्छौँ, पैसा पनि दिन्छौँ, सरकारलाई ट्याक्स पनि दिन्छौँ भने पनि सबैलाई फाइदा हुन्छ । नेपालमा जंगलका छेउछाउ यति धेरै जग्गा बाँझो छ, हामीलाई त्यो दिए पनि भयो । किसानहरूले खेती गर्न नसकेर बाँझो रहेको जग्गा दिए पनि भयो ।’

सरकारले जुन जिल्लामा जमिन दिए पनि करिब २० हजार हेक्टर जमिन चाहिने उनले बताए । यति ठूलो परिमाणको जमिनमा गाँजा खेती गर्ने हो भने ६ वर्षमा सरकारले ५ खर्ब कमाउन सक्ने उनको दाबी छ । सन् २०२५ सम्म विश्वलाई ७० देखि ७२ बिलियन डलर रुपैयाँ बराबरको गाँजाबाट उत्पादित वस्तुहरू चाहिने प्रक्षेपण अनुसार गाँजा खेती गर्दा अधिक फाइदा लिन सकिने उल्लेख गरे । 

नेपालमा हाल व्यक्तिगत प्रयासमा गाँजाबाट भइरहेको कपडा उत्पादनको काम राम्रो हुँदै गरेको र बजार बढ्दै गइरहेको बताए । उनले सरकारलाई नेपालमा अन्तर्राष्ट्रिय स्तरको गाँजाको एक्स्पो अर्थात गाँजा प्रदर्शनी मेला गर्न आग्रह गरे ।

उनले भने–‘कोभिडका कारण नेपालमा पर्यटक घटेका छन् । मेरो सरकारलाई के आग्रह छ भने ६ महिनाभित्रमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको गाँजा एक्स्पो गरौँ । म ३ लाख पर्यटक भित्राइदिन सक्छु । विश्वका ठूला गाँजा व्यापारीहरूलाई म नेपालमा ल्याउँछु । गाँजाबाट के के फाइदा लिन सकिन्छ त्यो बेला हामी छलफल पनि गर्न सक्छौँ ।’

सन् १९९६ देखि अमेरिकाले पनि मेडिकल प्रयोजनका लागि गाँजा माथिको प्रतिबन्ध खुला गरेकोले नेपालले पनि अब मापदण्ड बनाएर खुला गर्नुपर्नेमा  उनको जोड छ । भारतमा सन् २०२० देखि गाँजाको धुवाँ पान बाहेक मेडिकल प्रयोजनका लागि गाँजा खुला भएको उनले बताए ।

उनले भने–‘गाँजालाई अब कानुनी मान्यता दिनुपर्छ । हामी धेरै पछाडि परिसकेका छौँ । मेडिकल प्रयोजनका लागि मात्रै कानुनी मान्यता दिने कि धुवाँ सेवन गर्नेलाई पनि कानुनी मान्यता दिने ? यो सरकारको कुरा हो । संसारमा धेरै प्रकारका गाँजाका प्रजातिहरू छन्, तिनको प्रयोग कि धुवाँ सेवन कि मेडिकल प्रयोजनका लागि प्रयोग हुने गरेको छ । गाँजाको धागोबाट स्वास्थ्यमैत्री कपडाहरूको उत्पादनमा पनि ठूलो हिस्सा रहेको छ । यदि सरकारले गाँजा खुला गरिदिने हो भने गाँजाको औषधीबाट उपचार गर्ने एउटा हस्पिटल नै पनि चलाउन सकिन्छ ।’

भारतमा लाइसेन्स लिएर टाटा कम्पनीले ५ हजार हेक्टर जमिनमा मेडिसिन प्रयोजनका लागि गाँजा खेती गरेको, रिलायन्स कम्पनी लगायतले गाँजा भाङको खेतीबाट राम्रो आम्दानी गरिरहेको उनले सुनाए । नेपालमा पनि मेडिकल प्रयोजनका लागि सरकारले गाँजा खेती गर्न दिनुपर्नेमा उनको माग छ । सरकारी निकायमा गाँजा चिन्ने मान्छेको अभाव भएको भन्दै उनको गुनासो थियो । सरकारलाई गाँजा खेती खुला गर्न माग गर्दै निश्चित भूभागमा  सरकारको निगरानीमा रहेर एउटा टिमसहित ठूलो परिमाणमा गाँजा खेती गर्न तयार रहेको उनले बताए । यसबाट सरकार, किसान र आफ्नो टिम सबैलाई फाइदा पुग्ने जोशीले बताए ।

उनले भने–‘हामीले लगाउने प्रजातिको गाँजामा फूल फुल्दैन, धुवाँको रूपमा सेवन गर्न मिल्दैन, विशुद्ध मेडिकल प्रयोजनका लागि खेती गर्न चाहन्छौँ ।’

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप