ad
x

जीवनदर्शन : लक्ष्यमा पुग्न ध्यान दिनुपर्ने केही कुरा

person explore access_timeसाउन ३, २०७९ chat_bubble_outline0

जीवनमा कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जुन वास्ता गर्नै लायक हुँदैनन् । कतिपय विषय वा समस्या यस्ता हुन्छन, जसको वास्ता गर्न थाल्दा मुख्य विषय वा लक्ष्यमा ध्यान दिनै भ्याइन्न वा पाइन्न । अझ कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जसलाई भाउ दिन थाल्दा वा जसको वास्ता गर्न थाल्दा समस्या बढेर निकै भयावह बन्न पुगिरहेको हुन्छ । 


उदाहरणका लागि घाउ वा चोटलाई नै लिन सकिन्छ । कतिपय मानिसमा कुनै घाउचोट लाग्यो भने सानै किन नहोस् त्यसलाई मसार्ने, सुमसुम्याउने, कोट्याउने वानी हुन्छ । कतै भाइबहिनीहरूले पनि त्यस्तै गर्ने गरेका पो छौ कि ? यदि गर्ने गरेका छौ भने राम्रो होइन है । यस्तो गर्ने गर्दा के हुन्छ थाहा छ ? सानै घाउचोट पनि बल्झिँदै गएर डर लाग्दो बन्न पुग्छ । मानिलिऔँ कुनै बाँदरलाई घाउ लाग्यो । घाउ लडेर लागेको पनि हुन सक्छ साथीसित झगडा गरेका कारणले पनि हुन सक्छ । त्यतातिर नजाउँ, जसरी लागे पनि लाग्यो । घाउ हो लाग्यो, लाग्यो त लाग्यो । 



यतिबेला उसले के गर्छ थाहा छ ? यही गर्छ कि त्यसैलाई कोट्याउन थाल्छ । छामछाम छुमछुम गर्छ, चाट्छ, चिमोट्छ, कोपर्छ । बाँदरको घाउ न हो । बाँदरको घाउ भन्ने त उखानै छ । उसले घाउलाई कोपर्ने, चिमोट्ने कन्याउने भएकैले बुढापाकाले त्यस्तो उखान भनेका हुन् । जेहोस् उसले पूरा ध्यान घाउतिरै दिन थाल्छ, जसले गर्दा उसले न समयमा खान पाउँछ न आराम गर्ने नै समय पाउँछ । उनीहरूलाई खाने चीज आफैँले जुटाउनुपर्छ । आराम गर्ने समय पनि आफैँले छुट्याउनुपर्छ । कठैबरा भनेर कसैले खाना पनि ल्याइदिँदैनन् आराम गर्ने समय पनि छुट्याइदिँदैनन् तर उसको ध्यान घाउतिर गएकाले समयमा खान र आराम गर्न नपाएर दुब्लो पातलो बन्दै जान्छ र अन्ततः कुपोषणको सिकार हुन पुग्छ । उता कोपर्दाकोपर्दै घाउ बढेर पाक्न थाल्छ र अन्ततः यसैका कारण उसको ज्यानै जाने अवस्था पनि आउन सक्छ ।  

लुतो पनि त्यस्तै हो । कतिपय मानिस लुतो आयो भने कन्याउने गर्छन् तर लुतो कन्याएर निको हुने होइन । उल्टै बढ्दै गएर विकराल बन्न पुग्छ । मानौँ कुनै कुकुरलाई लुतो आयो । उसले पनि के गर्छ थाहा छ ? आफ्नो खुट्टाले वा मुखले भेटेजति कोपर्ने र चिथोर्ने गर्छ । नभेट्ने स्थानमा चउरमा लडिबढी गरी चिलाइ मेटाउन खोज्छ, जसले गर्दा उसको शरीर भरी घाउ लागेर रगत बग्न थाल्छ तर जति कन्याए पनि चिलाउन छाड्दैन । उल्टै लुतो पाकेर निकै डर लाग्दो अवस्थामा पुग्छ र त्यस्तै परे उसको पनि ज्यानै जाने अवस्था आउन सक्छ ।

मनिसकै कुरा गरौँ न । धेरै पहिलेको कुरा हो । एकपटक एक जना सज्जन कतै जाँदै रहेछन् । गर्मीको मौसम थियो, चर्को घाम । थकाइ त लागेकै थियो भोक र प्यासले पनि सतायो । यताउता हेरे केही पर एउटा चौतारो देखेर त्यतै लागे । त्यतिबेला अहिलेको जस्तो यातायातको साधन थिएन । जहाँ जान परे पनि पैदलै हिँड्नुपर्ने हुन्थ्यो । त्यसैले बटुवाहरूले थकाइ मार्न पाउन् भनेर स्थानीय मानिसहरूले ठाउँ–ठाउँमा चौतारो बनादिने गर्थे । पानी खान पाउन् भनेर सकेसम्म खानेपानीको धारो बनाइदिन्थे । धारो बनाउन सम्भव नहुने ठाउँमा माटाको भाँडोमा पानी रादिने गर्थे ।
थकाइ मार्ने उद्देश्यले जब सज्जन चौतारोमा बसे । नजिकै सानो धारोबाट पानी बगिरहेको पनि देखे । त्यसपछि उनले खुसी हुँदै चौतारो र धारो बनाइदिने मानिसलाई धन्यवाद दिँदै पानी खाएर र आराम गर्न लागे । थकाइ र गर्मीका कारण बस्ने बित्तिकै उनलाई निद्रा लाग्यो । जब आँखा ललाउन के लागेको थियो टाउकोमा एउटा झिँगा आएर बस्यो ।  

उनी तालु खुइले थिए । तालुमा एउटै पनि रौँ थिएन । सायद रौँ भएका भए झिँगा बसेको थाहा पाउने पनि थिएनन् । टाउकामा परिआउने कतिपय झिनामसिना समस्या कापालले रोकिदिन्छ । हावाबाट बचाउँछ, धुलोबाट बचाउँछ, लामखुट्टे, भुसुना वा झिँगा आदिले दुःख दिन सक्दैनन्, पाउँदैनन् । त्यसैले बुढापाकाहरूले कपालको महत्व गएका छन्, बचाउनुपर्छ भनेका छन् । उहिले उहिले कपाल काट्दा टुप्पी राख्ने गरिन्थ्यो । यस्तैयस्तै सानातिना समस्याबाट बच्न सकियोस् भनेर त्यस्तो व्यवस्था मिलाएका हुन् तर विचरा सज्जनको तालुमा त एउटै रौँ थिएन । त्यसैले झिँगा बस्ने बित्तिकै उनलाई चिलायो र आँखा नउघारिकनै झिँगा धपाए तर झिँगा न हो धपाएको भरमा किन टेथ्र्यो र । एकछिन उडेजस्तो गथ्र्यो फेरि आएर बस्थ्यो । 

उनी जतिपटक धपाउँथे झिँगा उतिपटक आएर बस्ने गथ्र्यो, जसले गर्दा उनले दिक्क भएर झिँगालाई धपाउनै छाडिदिए तर भइदियो के भने एकछिनपछि झिँगा आफैँ आउन छाड्यो । यसै पनि जहाँ भाउ पाइन्छ, जसले वास्ता गर्छन् त्यहीँ नै जाने हुन् सबै । जहाँ भाउ छैन, जसले वास्ता गरेका छैनन् त्यस्तो स्थानमा जान कसले पो रुचाउँछ र ? यहाँ पनि यस्तै भएको थियो । जति बेलासम्म उनी झिँगालाई धपाउँथे अर्थात् त्यतातिर ध्यान दिन्थे त्यतिबेलासम्म ऊ आइरह्यो । जतिबेला उनले ध्यान दिन छाडेर आफ्नो काममा लागे झिँगा पनि आउन छाड्यो । जब झिँगा आउन छाड्यो तब सज्जन एकछिन मस्तसँग निदाएर आफ्नो बाटो लागे । 

यी केही उदाहरण हुन् । वास्तावमा हरेक क्षणमा, हरेक वस्तु वा विषयमा यही नियमले काम गरेको हुन्छ । त्यसैले जीवनमा उन्नति र प्रगति गर्न चाहने हो भने यस्ता झिनामसिना कुरामा ध्यान दिनुहुँदैन । जतिबेलासम्म त्यस्ता कुरामा ध्यान दिइन्छ त्यतिबेलासम्म केही पनि गर्न सकिन्न । समय साधन र स्रोत त्यत्तिकै खेर जान्छ । जब त्यस्ता कुरा वा विषयमा ध्यान दिन छाडेर मुख्य लक्ष्य वा उद्देश्यतिर ध्यान केन्द्रित गर्न थालिन्छ तबमात्र समय, साधन र स्रोतलाई सदुपयोग गरी उन्नति र प्रगति गर्न सकिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।