शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव

बुधबार, ०४ साउन २०७९, ०९ : ०१
बुधबार, ०४ साउन २०७९

कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । 

यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको  शल्यक्रिया सेवा थालेको छ । 

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ । शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ । शय्या अभावपछि बिरामीले पालो पर्खिनु पर्छ । जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउछिन् । “ शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन मुश्किल हुने गरेको छ”, उनले भनिन् । 

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शय्या उपलब्ध गराउन थालेको छ । अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन् ।  अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शय्या थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउछन् । “५१ शय्याले धान्न मुस्किल छ । दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो”, उनले भने । 

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढि जसो उपचार गर्न आउने गरेका छन् । स्वास्थ्य वीमामार्फत सेवा लिने समेत बढेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप