बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको कुल बजेट खर्च ६६.६१ प्रतिशत

बुधबार, ०४ साउन २०७९, १८ : ०८
बुधबार, ०४ साउन २०७९

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६६.६१ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारले ३१ अर्ब ४७ करोड ५६ लाख ९० हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँमात्र खर्च गरेको हो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको जनाएको हो । मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले चालुतर्फ ९ अर्ब १ करोड ६४ लाख ४० हजार रुपैयाँ (७१.७१ प्रतिशत) खर्च भएको जनाए । उनका अनुसार पुँजीगततर्फ ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार रुपैयाँ (६४.२३ प्रतिशत) खर्च भएको छ ।

खर्च भएकोमध्ये ६० करोडभन्दा बढी रकम असार २५ गते नै सिस्टम बन्द भएकाले भुक्तानी गर्न नसकिएको पनि उनले जनाए । बचत भएकोमध्ये १ अर्ब ३९ करोड ७७ लाख ४३ हजार रुपैयाँ संघीय सञ्चित कोषमा फिर्ता हुने र ७ अर्ब ८ करोड ७९ लाख ५० रुपैयाँ प्रदेश सञ्चित कोषमा रहने उनले बताए ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा अनुमान गरेको बजेटभन्दा कम रकम प्राप्त गरेको प्रदेश सचिव बस्नेतले बताए । उनले अनुमान गरेकोमध्ये २९ अर्ब ४५ करोड १८ लाख ५ हजार रुपैयाँ प्राप्त भएको र २ अर्ब २ करोड ३८ लाख ५ हजार रुपैयाँ प्राप्त हुन नसकेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री प्रकाश रावलले यो वर्ष संघीय सरकारबाट दुई हजार २२२ वटा योजना सुदूरपश्चिम प्रदेशअन्तर्गत पारिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप