ad
x
बालकृष्ण सम स्मृति दिवस

दरबारभित्र सीमित नाटक समले नै सर्वसाधारण सामु पुर्‍याए : हरिहर शर्मा

person explore access_timeसाउन ६, २०७९ chat_bubble_outline0

‘बालकृष्ण सम’ नेपाली नाट्य क्षेत्रका एउटा ध्रुव तारा थिए । लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, निर्देशकलगायत धेरै विधामा क्रियाशील उनी रङ्गशिल्पी, नाट्यसम्राटको रूपमा समेत परिचित छन् । दरबारभित्र सीमित रङ्गमञ्चलाई सर्वसाधारणसम्म ल्याउने श्रेयसमेत उनलाई नै जान्छ । राणा परिवारमा जन्मिए पनि आफूलाई आम नेपालीसँग बराबर देखाउन उनले आफ्नो नामबाट ‘शमशेर जङ्बहादुर राणा’ हटाएर ‘सम’ राखेका थिए ।


डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा, मुकुन्द–इन्दिरा, प्रह्लाद, अन्धवेग, भक्त भानुभक्त, प्रेमपिण्ड, अमरसिंह, स्वास्नीमान्छे लगायत हुन् । बोक्सी, नालापानीमा जस्ता थुप्रै उनका उत्कृष्ट एकाङ्कीहरू समेत प्रकाशित छन् । विसं १९५९ मा जन्मिएर २०३८ साउन ६ गते निधन भएका समलाई नजिकबाट चिन्नेमध्येका एक हुन् वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा । शर्मा यसरी गर्छन् समको सम्झना :



कलाकारसँग रमाउनुहुन्थ्यो 

समजीसँग मेरो पहिलो भेट विसं २०२९ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा भएको थियो । त्यहाँको सदस्य हुनुहुन्थ्यो उहाँ । म त्यहीँको कलाकार । त्यो समयअगाडि उहाँका बारेमा धेरै सुनेको थिएँ, किताबहरू पढेको थिएँ तर भेट्ने अवसर मिलेको थिएन ।

त्यो बेला मेरो एउटा नाटकको प्रदर्शन हुँदैथियो । समजीले नाटक हेर्नु भएको रहेछ । मेरो नाटक अभिनय उहाँलाई राम्रो लागेछ । त्यो समय उहाँले भेटेर अभिनय राम्रो लाग्यो, राम्रो गर्नु भएको छ, नाटकमा परिवर्तन आउँदैछ भनेर हौसला दिनुभयो । त्यसपछि उहाँसँग मेरो सामीप्यता बढ्दै गयो । 

मैले समजी सँगसँगै नाटक अभिनय गर्ने मौका कहिल्यै पाइनँ । तर, सङ्गत गर्ने मौका पाएँ । मेरा नाटकहरू उहाँले हेर्नुहुन्थ्यो । नाटक हेरेपछि राम्रो गरेको ठाउँमा राम्रो र नमिलेको ठाउँमा त्यहाँनेर अलिकति मिलाएको भए हुन्थ्यो भन्नुहुन्थ्यो । उहाँका नाटकको मैले निर्देशन, अभिनय भने गरेँ । तर, उहाँसँगै अभिनय गर्ने अवसर भने कहिल्यै मिलेन ।

समजी सबैलाई समान दृष्टिकोणले हेर्ने, प्रेमभाव, आदरभाव र सम्मानभाव उहाँमा प्रशस्त देखिन्थ्यो । व्यक्ति सानो वा ठूलो उहाँलाई केही फरक थिएन । कलाकारहरूसँग हिँड्न पाए, बोल्न पाए र सँगै काम गर्न पाए अति प्रशन्न हुने गर्नुहुन्थ्यो । कलाकारसँग समय बिताउन रमाउनु हुन्थ्यो ।

प्रतिभाका खानी

उहाँ प्रतिभाका खानी । उहाँको प्रतिभा भनिसाध्य​ छैन । लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, निर्देशक, रङ्गशिल्पी, पेन्टर, क्यामराम्यान, निबन्धकार के मात्र होइन उहाँ ? समजी ती सबै नै हुनुहुन्थ्यो । उहाँको अभिनय बुलन्द, आकर्षक हुन्थे । उहाँको स्वर प्रभावशाली थियो ।

समजीको​ बडी ल्याङ्ग्वेयज, एक्सप्रेसनसमेत धेरै राम्रो थियो । उहाँ एकदमै अनुशासन भएको व्यक्ति हुनुहुन्थ्यो । समकक्षी, सानालाई माया गर्ने, समभाव राख्ने गर्नुहुन्थ्यो । जिस्कने, नचाहिँदो कुरो गर्ने बानी थिएन । आफ्नो काममा तल्लीन हुनुहुन्थ्यो । उहाँमा ज्ञान नभएको विषय केही थिएन ।

त्यसै नाट्यसम्राट भनिएको होइन नि समजीलाई । उहाँले अत्यन्त उत्कृष्ट नाटकहरू लेखेर हाम्रो समाजलाई दिनुभएको छ । उहाँले नाटकमा गाउँले जीवन पनि त्यतिकै चरितार्थ, सहज रूपमा प्रस्तुत गर्नुभएको छ । धनाढ्य, ऐतिहासिक पात्रहरूलाई पनि दुरुस्तै पारेर प्रस्तुत गर्नुहुन्थ्यो । उहाँका चाहे त्यो मुटुको व्यथा होस् वा अन्धवेग हरेक नाटक क्लासिक, मनछुने छन् ।

त्यो जमाना अर्कै थियो

समजीले लेखेको नाटक मैले तीनवटा भन्दा बढी अभिनय गरेको छैन । तर, अध्ययन भने सबै गरेको छु । तत्कालीन समाजका विकृति विसङ्गतिप्रति मसिनो, उत्कृष्ट र शालीन ढङ्गले उहाँ व्यङ्ग्य गर्नुहुन्थ्यो ।

निर्देशक क्षमता उहाँको कस्तो थियो भन्ने उहाँले लेखेको किताबबाट थाहा हुन्छ । उहाँलाई पेन्टिङको पनि ज्ञान थियो । पेन्टिङका लागि कलर, भेषभूषा, मेकअपलगायत हरेक कुरोमा पोख्त हुनुहुन्थ्यो । हरेक कुरोको संयोजन गरेर रङ्गमञ्चमा उत्कृष्ट ढङ्गले प्रस्तुत गर्नुहुन्थ्यो ।

समजीमा​ निर्देशक क्षमता एकदमै राम्रो थियो । उहाँको निर्देशन रहेको नाटक अभिनय गर्न पाउँदा कलाकार रमाउँथे । स्वअनुशासित हुन्थे, श्रद्धा र आदर गर्थे । त्यो जमाना अर्कै थियो ।

त्यतिबेलाको राजनीतिक अवस्था मध्यनजर गरेर नाटक बनाउने गरेको उहाँको नाटकमा पनि देखिन्छ । उहाँ त्यतिबेलाको राजनीतिक अवस्थालाई पनि मध्यनजर गर्दै सुरक्षित अवतरण गर्ने उपाय निकाल्दै प्रस्तुत र प्रकाशनसमेत गर्नुहुन्थ्यो ।

समाजमा यसले उच्छृङ्खलता ल्याउँछ कि ल्याउँदैन, विकृति ल्याउँछ कि ल्याउँदैन भन्नेमा र राजनीतिक रूपमा पनि सचेत देखिनुहुन्थ्यो समजी । काम गर्न बन्देज गरे भने के काम गरौँला भनेर  अवरोधहरू नआउने गरेर, सूक्ष्म रूपले गर्नुहुन्थ्यो । कलाका पारखी, कलाकारिता र सिर्जनशीलता मर्नु हँुदैन, प्रचारमुखी हुनुहुँदैन, कलात्मक हुनुपर्छ भन्ने कुरामा उहाँ चनाखो र सचेत हुनुहुन्थ्यो ।

जीवनशैली लोभलाग्दो

पहिले नाटक दरबारमा सीमित थियो । सर्वसाधारणले हेर्न पाउँदैन थिए । गाई जात्राको बहानामा ७ दिन फुकुका गरेर नाचगान र नाटक टोलटोलमा देखाउने प्रक्रिया उहाँले मिलाउनुभयो ।

जन्मँदै जर्नेल हुने परिवारका व्यक्तिले आफ्नो नामबाट ‘शमशेर जङ्बहादुर राणा’ हटाएर ‘सम’ राखेको र नेपाली समाजमा भिजेर, जनतालाई साथ लिएर काम गरेको शासकहरूलाई पनि थाहा थियो । तर, शासकलाई प्रत्यक्ष असर पुग्ने काम उहाँले गर्न दिनुभएन । 

समजीको जीवनशैली पनि लोभलाग्दो थियो । एकदमै अनुशासित  हुनुहुन्थ्यो । सधैंभरि चिटिक्क परेर बस्नुहुन्थ्यो । पहिरन पनि सफासँग आइरन गरेका, मैलो नभएका लगाउने, अनुहारमा हल्का मेकअप सधैँ गर्नुहुन्थ्यो ।

आफूलाई जहिले पनि आकर्षक र सुन्दर बनाइराख्नु भयो समजीले​ । आफ्नो व्यक्तित्व र सुन्दरतामा पनि ध्यान राख्नुहुन्थ्यो । बोलीमा असाध्यै मिठास थियो । बोल्दा तौलेर बोल्ने, मीठा शब्द चयन गर्नुहुन्थ्यो ।

हामीले उहाँको वार्षिकी वा जन्मदिनमा सम्झेर मात्र उहाँको सम्मान हँुदैन । अहिलेका पुस्ताले समजीलाई, उहाँका कृतिलाई पढेर, बुझ्न सक्यो भने उहाँप्रतिको सबैभन्दा ठूलो सम्मान हुन्छ । उहाँको चरित्र आफूमा ल्याउने व्यक्ति सफल हुन्छ ।

अहिलेका पुस्तालाई बालकृष्ण सम को हुन् भन्ने थाहा छैन । हरेकले आफ्ना अग्रजको कृति पढेर, योगदान सुनेर, जानेर उहाँप्रति सम्मानको भाव व्यक्त गर्नु नै सच्चा श्रद्धाञ्जलि हुन्छ ।

समजीलाई उहाँकै प्रत्येक पुस्तकबाट चिन्न र बुझ्न सकिन्छ । उहाँको विज्ञताबारे जानकारी पाउन सकिन्छ । सबैले उहाँको जानकारी राखे हुन्थ्यो । त्यो युवापुस्तामा हराएको छ ।

हाम्रो पठनपाठनको प्रक्रिया खै कहाँ नमिलेको जस्तो लाग्छ । मोतीराम भट्ट, भानुभक्तलाई पनि बिर्सिसके । भानुभक्तलाई त रामायणका कारणले चिन्छन् । यी सबै कुराका लागि अध्ययन अध्यापन गराउने काममा राज्यले ध्यान दिनु जरुरी देख्छु । 

बालकृष्ण सम मात्र होइन सबै स्रष्टालाई सम्झिनु, बुझ्नुपर्छ । सबैको एउटा प्रतिष्ठान खुलेको हुन्छ । एक दिन, दुई दिन कार्यक्रम गरेर सम्झनु साधारण कुरो हो । उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि भनेको उहाँका कृति पढेर, पढ्न लगाएर चिनाउनु हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।