शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन भएन अरुण थापा र विमलाको प्रेम सफल?

शुक्रबार, ०६ साउन २०७९, १२ : ००
शुक्रबार, ०६ साउन २०७९

तीन दशक पहिलेको प्रसङ्ग हो । झम्सीखेलस्थित एउटा घरमा रक गायक मुकुन्द के. खडका (माइक) र केही साथीको जमघट थियो । वर्षा याम । झम् झम् पानी परिरहेको थियो । एक्कासि एउटा मानिस ढुनमुिनदै र बेस्सरी ढोका बजाउँदै घरभित्र छिर्‍यो । ‘त्यो मानिस हेर्दा मलाई यो पनि गायक हुन्छ र ? भन्ने लागेको थियो’, रक गायक मुकुन्द खडका (माइक) सम्झन्छन्, ‘जब उसले कहिले गितार त कहिले हार्मोनियममा गाउन थाल्यो, म चकित परेँ । टन्न मदिरा पिएको र शरीर अनियन्त्रित अवस्थामा रहेको त्यो मानिसको गायकीमा भने कुनै असन्तुलन थिएन । पर्फेक्ट ।’

त्यो ढुनमुनिदै आउने मानिसले त्यसबेला नेपाली मात्र हैन, हिन्दी चलचित्र ‘देश परदेश’मा किशोर कुमारले गाएको ‘तु पी और जी’ पनि बडो मजाले गाएको माइक भुल्न सक्दैनन् । ‘गायक अरुण थापासँग त्यही नै मेरो पहिलो भेट थियो । त्यसपछि रातभरि हाम्रो महफिल जम्यो । त्यो पहिलो भेटपछि हाम्रो सङ्गत निरन्तर रह्यो’, माइक भन्छन् ।

मौलिक स्वर

माइक त अरुणका जिग्री दोस्त नै बने । नेपालकै प्रथम रक गायक माइकको अनुभवमा अरुणको गायन कला अद्वितीय थियो । ‘उनको स्वर पुराना कुनै पनि गायकसँग मिल्दैन । बिलकुल मौलिक छ’, माइक भन्छन् । अरुणले गायनको आफ्नै शैली विकास गरे । भाइ किरण पनि सङ्गीतमा लागेका थिए । तर अरुणले अन्य धेरै विषयमा भाइसँग सल्लाह लिने गरेको भए पनि सङ्गीतका बारेमा कुनै राय नलिएको माइक बताउँछन् । ‘उसले आफ्नै स्टाईललाई प्रधानता दियो’, माइक भन्छन् ।

माइकका अनुसार अरुण थापा बेजोड गायक त थिए, तर उनको जीवन भने अनुशासित र व्यवस्थित भएन । २००९ सालमा भारत, कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा जन्मिएका अरुण थापा ३ वर्षको उमेरमै सपरिवार नेपाल आएका हुन् । नेपालमै हुर्के बढे । केही समय दार्जिलिङमा पढे पनि २०२८ सालमा उनले ठमेलको जेपी हाइस्कुलबाट एसएलसी पास गरे । केही समय विराटनगरमा बैंकको जागिरे समेत भए । तर सङ्गीतप्रतिको अगाध अनुरागका कारण उनी जागिर छाडेर २०३० सालतिर पोखरा बस्न थाले । पृथ्वीनारायण क्याम्पसमा पढ्न थाले । कलेजमा उनी प्रख्यात भइसकेका थिए । २०३७ सालमा पहिलो गीत ‘कतै टाढा तिमीबाट’ रेकर्ड भयो । सोही सालमा ‘भुलेको कथा’ बोलको गीतमा उनी रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा प्रथम भए ।

उनको पहिलो हिट गीत ‘जति माया लाए पनि’ हो । उनका दुई सोलो एल्बम ‘अरुण’ र द ‘बेस्ट अफ अरुण’ छन् । ‘ऋतुहरूमा तिमी’, ‘भुलु भुलु लाग्यो मलाई सपनीमै’, ‘साँझको जुनसँगै’, ‘चोट के हो व्यथा के हो’, ‘जति माया लाए पनि’, ‘आँखाको नीद खोसी लाने’, ‘जिन्दगी के छ र आखिर’, ‘अरूसँग नजोख मलाई’, ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका गीत सदाबहार छन् ।

‘बागीना’ पत्रिकाका सम्पादक नारायण गोपालसँग एक पटक पाठकले सोधे, ‘तपाईंलाई मनपर्ने गायक को को हुन् ?’ नारायण गोपालको उत्तर थियो, ‘अहिले राम्रा गायक धेरै छन् । तीमध्ये चुनौती दिनसक्ने दुई जना छन् । उनीहरू हुन, अरुण थापा र दीप श्रेष्ठ ।’

अरुण थापाले गीतकार सुवाचन्द्र ढुङ्गेलका तीनवटा गीत गाए । ‘पारी गयौ किन अधुरो’, ‘अरूसँग नजोख’ र ‘चोट के हो व्यथा के हो’ । २०४३ सालतिर रेडियो नेपालमा अप्रतियोगीका रूपमा अरुणले ‘चोट के हो व्यथा के हो’ बोलको गीत गाएका थिए, जसलाई २०४५ सालमा म्युजिक नेपालले रेकर्ड गरेर बजारमा ल्यायो । ‘मेरो जीवनसँग मिल्ने भएकाले म चोट के हो नै गाउँछु भनेर अरुणले भनेका थिए’, गीतकार सुवासचन्द्र भन्छन्, ‘उनी गीत छानेर गाउँथे । उनको स्वर कसैसँग मिल्दैनथ्यो, मौलिक थियो ।’

निष्ठुरीले बाटो लाग्दा…
‘जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
मनमा पिर त पर्ने नै भयो’

अरुणले यो गीत त्यसै गाएका हैनन् । यसमा उनकै पीडा छ । त्यसबेला उनका पिता नेपाल बैंक लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालयमा कार्यरत थिए । बैंकको आवासगृहकै छेउमा थियो, विमलाको घर । विमला अर्थात् अरुणकी प्रथम प्रेमिका ।

पोखराको पिएन क्याम्पसमा पढ्दा अरुणले किशोर कुमारको ‘मेरा जीवन कोरा कागज’ गाएका थिए । त्यसबाट प्रभावित विमलाले नै अरुणलाई प्रेम प्रस्ताव राखेकी थिइन् । यो जोडीले परिवारको सहमति बिना २०३४ सालको माघमा गायक ओमविक्रम विष्ट लगायतका केही साथीहरूलाई साक्षी बनाएर गुह्येश्वरी विवाह गरेको थियो ।

माइती पक्षले उनीहरूको सम्बन्ध छुटाउने कोसिस ग¥यो । केटीका बाबुले अरुणलाई ‘तह लगाउन’ दार्जिलिङका चर्चित दादा ‘रकी’लाई काठमाडौँ झिकाएको चर्चा पनि त्यसबेला खुबै चलेको थियो । विमलाका दाइ विश्व भने अरुणका साथी थिए । बाबुले अरुणलाई तह लगाउन गुण्डा परिचालन गरेको थाहा पाएपछि विश्वले साथीलाई बचाउने कोसिस गरे । उनले अरुणलाई फकाएर ‘पछि फर्काउने’ शर्तमा विमलालाई माइतमै फर्काए । दार्जिलिङबाट आएका गुण्डा रकीलाई पनि उतै फर्काए । तर, बाबुले विमलालाई अर्कै केटासँग विवाह गरिदिए । प्रेम वियोग सहन नसकेपछि एउटा होनाहार गायक नशालु पदार्थको कुलतमा लाग्यो ।

झम्सीखेलका ती दिन

अहिले जसलाई ‘ठमेलको भाइ झमेल’ भनिन्छ, त्यही झम्सीखेलमा एउटा चर्चित घर थियो । नेपाल बैंक लिमीटेडका वरिष्ठ अधिकृत गन्जुबहादर थापाको त्यो घर त्यस भेगमा निकै चर्चित थियो । किनकि, त्यही घरमा मात्र कुनै बेला हुलाकको बाकस थियो । त्यही घरमा पहिलो पटक बिजुली बत्ती बलेको अनि टेलिफोन जडान भएको । हो, त्यही घरमा बितेका थिए, गायक अरुण थापाका सुखद साङ्गीतिक दिन ।

त्यही घरको सामुन्ने थियो, गणेश मन्दिर । त्यहाँ केही युवाहरू हातमा गितार लिएर हरेक रात साङ्गीतिक माहौल जमाउँथे । ‘अरुण थापा, उनका मित ओम विक्रम विष्ट र हामी केही साथीको त्यहाँ नियमित जमघट हुन्थ्यो’, अरुण थापाका जिग्री दोस्त मुकुन्द खड्का (माइक) सम्झन्छन् । त्यही साङ्गीतिक माहौलमा गायक दिवाकर खड्का र ‘मुटु मेरो चोरी लग्यो’का गीतकार सुध्दी नेपाली उदाए ।

माइकका अनुसार झम्सीखेलमा नेपालका एकर्डीयन वादक मदन परियार पनि पुग्ने गर्थे । अरुणको स्वर र कम्पोज सुनेर मदन छक्क पर्थे । त्यसैताक गणेश मन्दिरमा सङ्गीतको माहौल जमाउने कलाकारको टोलीमाथि कुपन्डोलको ग्याङले ‘एट्याक’ ग¥यो । त्यो ग्याङ फाइटमा अरुण र ओमविक्रम विष्ट कुपण्डोलका केटाहरूसँग जमेरै भिडे । रगतपिच्छे भएका यी दुई गायकले एक अर्काको शिरमा रगतको टिका लगाएर मित लाएका थिए ।

‘जब अरुणका बुबाको निधन भयो, त्यसपछि त्यो घरमा विग्रह आउन थाल्यो, अनि अरुणको जिन्दगी पनि व्यवस्थित हुन सकेन’, माइक भन्छन् । अहिले त्यो घरमा ज्याबीन रेस्टुरेन्ट छ । त्यही चोकमा अरुण थापाको प्रतिमा पनि बनाइएको छ । तर त्यहाँ अब अरुणको परिवारको केही बाँकी छैन ।

वेटीङ फर गडोट

अर्को एउटा घटना निकै मार्मिक छ । अरुणले धेरै गीत गाए पनि उनको एकल एल्बम बजारमा आएको थिएन । त्यसैले मगर युवा संघले उनको एकल एल्बम निकाल्ने चाँजोपाँजो मिलायो । ‘अरुण’ नामक एल्बम तयार भयो । यो २०५४ सालतिरको प्रसङ्ग हो । शंकरदेव क्याम्पस अगाडी लाफा भवनमा एल्बम विमोचनको कार्यक्रम थियो । प्रमुख अतिथि थिए, कवि बैरागी काइँला । साथमा केही मन्त्रीहरू, सङ्गीतकार प्रकाश गुरुङ, युधिर थापालगायत त्यसबेलाका सङ्गीत अनुरागी सबैको उपस्थिति थियो । सबै आए, तर गायक अरुण स्वयं आएनन् ।

एल्बम विमोचन समारोहका उद्घोषक थिए प्रकाश सायमी । उनको धैर्यले पनि सीमा नाघ्यो । ‘२ बजेको कार्यक्रम थियो, साढे तिन बजिसक्दा पनि अरुण आएनन्’, प्रकाश सम्झन्छन्, ‘त्यसपछि उनी नआए पनि कार्यक्रम सुरु गरियो । बेहुलो बिना नै विवाह सुरु भयो ।’ एल्बम विमोचनपछि कवि बैरागी काइँलाले भने, ‘यो त स्यामुल बेकेटको नाटक वेटीङ फर गडोटजस्तो भयो । भगवानले मोजा खोज्देला भनेर भगवानको प्रतीक्षा गरेको, भगवान् नै आएनन् ।’

प्रकाश सायमीलगायतका साथीहरूले एल्बम विमोचनपछि घर फर्कँदै गर्दा बागबजारमा पद्मकन्या क्याम्पस अगाडी मानिसहरूको भिड देखे । के भयो ? के भयो ? सबैको जिज्ञासा । एउटाले भन्यो, ‘अहिले भर्खर यहाँ एउटा जँड्याहा लडेको थियो । उसलाई प्रहरीले पक्राउ गरेर लग्यो ।’ प्रकाश सायमीका अनुसार भीडबाटै कसैले भन्यो, ‘त्यो पनि अरुण थापाजस्तै रहेछ ।’

नभन्दै, प्रहरीले पक्राउ गरेका मानिस अरुण थापा नै रहेछन् । भोलि पल्ट पत्रिकामा अरुण थापाका बारेमा एकै दिन दुईवटा खबर छापिए । एकातिर शीर्षक थियो, ‘अरुण थापाको एकल एल्बम सार्वजनिक ।’ अनि अर्को शीर्षक थियो, ‘गायक अरुण थापा पक्राउ ।’ जुन दिन एल्बम विमोचनको कार्यक्रम थियो, त्यसै दिन अरुण आफ्नी प्रथम प्रेमीका विमलालाई त्यो खबर सुनाउन र कार्यक्रममा निम्तो दिन बागबजारस्थित उनको घरमा गएका रहेछन्, त्यो पनि मातेको तालमा । ‘सायद विमलाका परिवारले अरुणलाई उनको घरमा छिर्न दिएनन् । उनको ताल देखेर छिमेकीले प्रहरी समक्ष बुझाए’, प्रकाश भन्छन् ।

कारुणिक अन्त्य

प्रेम वियोगपछि अरुणको जीवनमा चोटमाथि चोट थपियो । ललितपुरकी मुना केसीसँग विवाह गरे । तैपनि उनी कुलतबाट मुक्त हुन सकेनन् । २०३७ सालमा पिता र २०३९ सालमा आमाको निधन भयो । अरुणमा पारिवारिक जिम्मेवारी बढ्यो । उनले झम्सीखेलको घर बेचे । पत्नी मुनाको नाममा रहेको जग्गा २०४४ सालमा बेच्न बाध्य भएपछि उनको दाम्पत्य जीवन पनि सफल भएन । पत्नीसँग उनको सम्बन्ध विच्छेद भयो । त्यसपछि झन् उनको जीवन अव्यवस्थित हुन पुग्यो ।

२०४५ सालमा लागू पदार्थ दुर्व्यसनीको आरोपमा उनी १५ महिना जेल पनि परे । तैपनि नशाले उनको जीवनलाई छाडेन । अत्यधिक लागू पदार्थ सेवनकै कारण उनलाई कलेजोको ‘हेपाटाइटीस बी’ को सङ्क्रमण भयो । घर छुट्यो, परिवार छुट्यो । उनको जीवन ‘देवदास’ झैँ भयो । जीवनका अन्तिम क्षणमा अमृत गुरुङ, ईश्वर गुरुङ र बहिनी मिना थापाले हेर विचार गरे ।

‘म आफै पनि पब्लिक हेल्थको विद्यार्थी, मैले पनि अरुणलाई कुलतबाट मुक्त गर्ने कोसिस गरेकै थिएँ । तर उनी लाइनमा आउन सकेनन्’, गीतकार सुवासचन्द्र ढुङ्गेल भन्छन् । बागबजारको यात्री गेस्ट हाउसमा २०५६ साल साउन ५ गते उनको कारुणिक निधन भयो । रेडियो नेपाल र अन्य एफएम प्रसारणमा बजिरह्यो

‘चोट के हो व्यथा के हो

मजस्तो घाइतेलाई सोध ।’

–आर्काइभबाट  पुन: प्रकाशन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुसुम भट्टराई
कुसुम भट्टराई
लेखकबाट थप