शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पैसा भयो भने साहित्यकार भइहाल्ने प्रवृत्ति अहिले देखिएको छ’

शनिबार, ०७ साउन २०७९, १० : ४१
शनिबार, ०७ साउन २०७९

विजय चालिसे खास गरी नेपाली विज्ञान कथा साहित्यका स्थापित कथाकार हुन् । उनले विविध विधामा करिब चार दर्जन मौलिक कृति नेपाली साहित्यमा दिएका छन् । प्रौढसँगै बाल साहित्यमा पनि उनको कलम तिखो छ । पत्रकारिता क्षेत्रमा करिब  ३ दशक बिताएका उनले २०३७ जेठ १ गतेबाट सरकारी पत्रिका गोरखापत्रमा प्रवेश  गरेका थिए ।

त्यहाँको प्रधान सम्पादक भई २०६५ मा अवकाश लिएलगत्तै उनले राजनीतिक नियुक्ति पाई थप दुई वर्ष त्यही संस्थाको कार्यकारी अध्यक्षसमेत भएका थिए । त्यसअघि उनले साहित्यिक पत्रिका मधुपर्क, युवामञ्च र मुनालगायत पत्रिकाको सम्पादन गरे । उनै विजय चालिसेसँग रातोपाटीका लागि शिखर मोहनले गरेको समसामयिक कुराकानीः

अचेल केमा व्यस्त हुनुहुन्छ ?

सधैँझैँ लेख्ने, पढ्ने कार्यमै छु । कहिलेकाहीँ साहित्यिक कार्यक्रममा निमन्त्रणा आउँछन्, त्यतातिर जान्छु । 

अहिले खास गरी दुईवटा काममा लागेको छु । एउटा, वैदिक समाजमा आधारित उपन्यास लेख्दैछु । त्यसमा वैदिक समाजभित्रको द्वन्द्व, आर्य र अनार्यबीचको द्वन्द्व, आर्यहरूमा पनि यथास्थितिमा बस्नुपर्छ भन्ने र समाज परिवर्तन हुन्छ र सोहीअनुसार परिवर्तन हुनुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत छन् । त्यही सभ्यता र विचारको द्वन्द्वलाई विस्तृत बनाएर एउटा उपन्यास तयार गरेको छु । त्यसको पुनर्लेखन गर्दैछु । 

अर्को, एकजना समालोचक पुरुषोत्तम सुवेदीले ‘विजय चालिसेका छानिएका कथाहरू’ कथासङ्ग्रह तयार गर्नुभएको छ, त्यो हेर्दैछु । मेरा अहिलेसम्म ६ वटा कथासङ्ग्रह प्रकाशित छन् । नछापिएका कथाहरूमध्ये १०२ वटा कथाबाट उहाँले छानेर एउटा प्रतिनिधि सङ्ग्रह तयार पार्नुभएको छ । अहिले त्यसैलाई हेर्दैछु । 

पत्रकारिता र लेखन क्षेत्रमा लामो जीवन विताउनुभयो ? यता लाग्न केले प्रेरित गर्यो ?

पत्रकारितामा लाग्नु संयोग भयो । किनभने मैले पत्रकारिता पढेको पनि होइन । २०३२ सालमा भर्खर भर्खर कलेजमा पत्रकारिताको पढाइ सुरु भएको बेला थियो त्यो । २०३८ मा त मैले ग्राजुएसन नै गरेको थिएँ, दोहोर्याएर पढिनँ । 

त्यतिबेला म हाई स्कुलमा पढाउँथेँ । त्यही क्रममा लोकसेवा पनि दिँदै थिएँ । लोकसेवामा दुईटाको जाँच दिएको थिएँ । लिखितमा दुईटैमा निस्कियो, अन्तर्वार्तामा चाहिँ भएन । त्यतिबेला गोरखापत्रमा पनि लोकसेवाका प्रतिनिधि बसेर परीक्षा हुन्थ्यो । त्यहाँ पनि फर्म भरेको थिएँ । गोरखापत्रमा नाम निस्किन्छ भन्ने आशा नै थिएन तर निस्कियो । अनि त्यहीँबाट पत्रकारिता सिक्ने, सिकाउने काम सुरु भयो । तर पत्रकार बन्ने उद्देश्य नै राखेर गोरखापत्र प्रवेश गरेको होइन । 

करिब २६/२७ वर्षको उमेरमा गोरखापत्र प्रवेश गरेको हुँ । २०२४ सालदेखि म शिक्षण पेसामा पनि आबद्ध थिएँ । त्यस क्रममा केही समय भोलिन्टियर भएर पढाएँ । बीए पास गरेपछि हाई स्कुल शिक्षक भएर काम गरेँ । पछि अफिसबाटै पत्रकारितामा डिप्लोमा अध्ययनका लागि लन्डन गएँ । कोलम्बो प्लानअन्तर्गत अफिसले पठाएको थियो । 

साहित्य सिर्जनाको वातावरण भने कसरी बन्यो ? 

विद्यालयदेखि नै मेरो साहित्य सिर्जनाको सुरुवात भएको हो । त्यतिबेला विद्यालयले भित्तेपत्रिका निकाल्थ्यो, त्यसैमा लेख्ने गर्थें । अनि काठमाडौंको आरुबारीमै पनि ‘चारपाते क्लब’ सञ्चालन गरेका थियौँ । त्यसका हरेक बैठकमा केही न केही सिर्जना गरेर वाचन गर्ने नियम बसालेका थियौँ । त्यसमा पनि लेख्न र सुनाउन थालेँ । विभिन्न प्रतियोगितामा पुरस्कृत पनि भइयो । 

मेरो साहित्य सिर्जनाको सुरुवात कविताबाटै नै भएको हो । विद्यालयबाट प्रकाशन हुने पत्रिकामा २०२४ सालतिर विद्यार्थी शीर्षकको पहिलो कविता छापिएको थियो ।     

विज्ञान कथा लेख्ने हुटहुटी कसरी जाग्यो ? 

विज्ञान विषय त एसएलसीमा सामान्य पढेको मात्र हो, त्यसको त्यति धेरै ज्ञान त छैन । तर पनि विज्ञानप्रति मेरो अलि बढी रुचि थियो । पछि बालसाहित्य लेख्ने क्रममा नेपाली बालसाहित्यमा विज्ञानका कुराको कमी देखेँ । अनि विद्यार्थीमा वैज्ञानिक चेत आवश्यक हुन्छ, त्यो भयो भने मात्रै उनीहरूको अध्ययन राम्रो हुन्छ भन्ने लागेर विज्ञानसम्बन्धि अध्ययन गर्न थालेँ । त्यस क्रममा विज्ञान साहित्यका पिता भनिने एसी भोक लगायत विदेशी लेखकहरूका पुस्तक पनि पढेँ । तिनै पढेका कुरालाई मैले प्रौढदेखि बालसाहित्यमा पनि विज्ञान कथा लेखे । 

विज्ञान कथाका आधारभूत तत्त्व केके हुन् ?

विज्ञान कथामा दुइटा तत्त्व हुनुपर्छ । एउटा वैज्ञानिक तथ्यमा खरो उत्रिन सक्ने स्थिति  हुनुपर्छ अनि त्यसमा कल्पना पनि हुनुपर्छ । किनभने कोरा विज्ञानकै दर्शन र सिद्धान्त त्यहाँ आयो भने साहित्य भएन, त्यो विद्यार्थीहरूले रुचाउँदैनन् । विज्ञानका कुरालाई कथात्मक पाराले त्यसमा अलिकति काल्पनिकता, अलिकति वैज्ञानिक यथार्थ अथवा सत्य हुन सक्ने, पुष्टि हुन सक्ने कुरा राख्नुपर्छ । 

मैले एउटा विज्ञान कथामा ट्याक्सिकोप्टर शब्द प्रयोग गरेको छु । घरबाट ट्याक्सिकोप्टर चढ्छ, जान्छ, अफिसको छतमा हेलिकप्टरजस्तै ट्याक्सी ल्यान्ड हुन्छ ।  त्यो ट्याक्सी हो तर उड्ने खालको । अब अहिले त्यो कल्पना विदेशतिर सत्य भइसक्यो । कतिपय ठाउँमा प्रयोग पनि गरिरहेका छन् । 

यस्तै प्रलयको कल्पना हुन्छ । भोलि प्रलय भयो भने के होला, कसरी जोगिने ? भन्ने खालका कथावस्तु हुन्छन् । अब बालसाहित्यमा पनि ‘हेर्दाहेर्दै पुतली’ भन्ने कथामा पनि विज्ञान प्रयोग गरेको छु । त्यसमा हेर्दाहेर्दै प्रयोगको रूपमा देख्छन् । अर्को ‘मुस्ताङको गुफा’ भन्ने छ, त्यसमा केटाकेटीहरू आफैँ एड्भेन्चर पनि गर्छन् । तर कद्मा सरलाई दण्डित पनि गराउँछन् । त्यही क्रममा भूगोलसम्बन्धी कुराहरू आउँछन् । गुफा कसरी बन्छ, त्योसम्बन्धि ज्ञान पनि पाउँछन् । त्यो किसिमले लेख्ने प्रयास गर्छु । 

विज्ञान कथामा कति व्यावहारिक र कति स्वैरकाल्पनिक उडान हुन्छ ?

विशुद्ध स्वैरकल्पना होइन तर कल्पना नगरीकन विज्ञानको आविष्कार गर्न सकिँदैन । पहिले पहिलेका मिथकहरूमा पनि पुष्पक विमान, वायुपङ्खी घोडाको कल्पना पाइन्छ । अन्दाज गरेर शब्दका वाण हान्ने कुरा अहिलेको अमेरिकाले हान्ने मिसायल त्यही त हुन् नि । कोठाभित्र बसेर महाभारतको युद्ध हेरेका प्रसङ्ग अहिले सिद्ध हुँदै गएका छन् । 

वैदिक साहित्यमा विज्ञान प्रचुर थियो, विकास पनि भएको थियो होला । हामीले त्यसलाई कोठामा राखेर पूजा गरेर राख्ने काम मात्र गर्यौँ । अरूले त्यसलाई अनुसन्धान गरे, कल्पना गरे, उडाए । चरा उडेको कल्पना गरेर त हेलिकप्टरको आविष्कार गरेका हुन् । तसर्थ विज्ञान कथामा कल्पना हुन्छ तर त्यो कल्पना यथार्थमा आधारित हुन्छ ।      

यसको विषयवस्तु भने विज्ञानसम्बन्धि आविष्कारका समाचार, मिथक र विज्ञानको निकट आउने विषयलगायतबाट नै बनाइन्छ । 

जस्तो ‘मुस्ताङको गुफा’ पनि विज्ञान उपन्यास नै हो । ‘मङ्गल ग्रहमा विज्ञान’ भन्ने छ । त्यसमा केटाकेटीहरू कल्पनै कल्पनामा अन्तरिक्ष पुग्छन् र खगोलहरूको कुरा जानकारी लिन्छन् । 

बालसाहित्यमा धेरै कलम चलाउनुभयो, अहिले मुनाबाहेक अन्य बालपत्रिका प्रकाशन हुन पनि छाडिसके, यो अवस्था पाठक नै नभएर हो कि बालसाहित्यका सर्जक नभएर ? 

बालसाहित्यका पाठक धेरै छन् । अहिले पत्रिकाहरू प्रकाशन भने कम हुँदै गएको छ । तर बालसाहित्यका पुस्तकहरू दिनमा ४/५ वटा निस्किरहेकै छन् । सबै प्रकाशकहरूले बालसाहित्य प्रकाशन गर्न थालेका छन् । बालसाहित्यका पाठक भएर नै छापिएको हो । 

अहिले अभिभावकहरूमा पनि छोराछोरीलाई पनि केही पढाउनुुपर्ने रहेछ भन्ने खालको चेतना पनि आएको छ । सञ्चार माध्यमले बालसाहित्यलाई मात्र होइन, साहित्यलाई नै स्पेस कम दिएका छन् । 

तपाईंका मनपर्ने कृति कुन कुन हुन् ? जो अरूले पनि अध्ययन गरे हुने भन्ने लाग्छ ।

मैले धेरै अगाडि बढेको गोर्कीका आमा, माई युनिभर्सिटी, माई चाइल्डहुड, दोस्तोएभ्स्कीका  कथाहरू, नेपालीमा बीपीका उपन्यासहरू मनपर्छन् । दौलतविक्रम विष्टका उपन्यासहरू, विजय मल्ल, गोविन्द गोठाले, रमेश विकलहरूका सिर्जनाहरू मनपर्छन् । 

बुबा रमेश विकलबाट पनि त साहित्यमा प्रभावित हुनुभयो होला नि ?

स्वतः हुने भइहालेँ नि । 

तपाईंको हजुरबुवा पनि साहित्य सिर्जना गर्नुहुन्थ्यो ?

मेरा हजुरबा राणाकालीन समयमा डिट्ठा हुनुहुन्थ्यो । डिट्ठा भनेको जिल्लातिर जाँदा अदालतको न्यायाधीश सरह हो । तर लेखनतिर उहाँ लाग्नु भएन । उहाँ हारमुनियम बजाएर गाउनु हुन्थ्यो । त्यसैबाट बुवा रमेश विकलले पनि गायन सिक्नु भएको थियो । त्योसँगै सिर्जनामा लाग्नु भयो । 

बुबाको बिँडो त तपाईंले थाम्नुभयो । अब तपाईंको बिँडो थाम्ने पनि छन् होला नि ?

मेरा दुई छोरामध्ये जेठोले साहित्यमा कलम नै चलाएनन्, बैङ्किङ क्षेत्रतर्फ लागे । कान्छो छोरा आलोक चालिसे भने साहित्य लेख्छन् । उनले राम्रा कथा पनि लेखेका छन्, यात्रासंस्मरण पनि लेखेका छन् । अनि उनकै छोरी अर्थात् नातिनी पनि लेख्छिन् । मुनालगायतका साहित्यिक पत्रिकामा प्रकाशित भएका छन् । जे होस् अलि अलि पुस्तान्तरण भएको भन्नुपर्छ । 

अहिलेको साहित्यको स्तर कस्तो छ । कतातिर मोडिँदैछ ? 

पहिलेको जस्तो स्तरीय र प्रभावकारी हाम्रो पुस्ता भएन । अघिल्लो पुस्ताको जुन सशक्तता हो, त्यो अहिलेको पुस्तामा भेटिँदैन । अघिल्लो पुस्ताका साहित्यकारहरू सबै एकसे एक थिए । अहिले त्यो नहुनुको कारणमध्ये एक अहिले साधनामा पनि कमी भयो । अनि लेखनको इमानदारी पनि कम भयो । हामी थोरै लेखेर धेरै प्रंशसा खोज्छौँ । 

सञ्चार माध्यमहरूले पनि अलिअलि बिगारिदिए । किनभने हरेक सञ्चार माध्यमका आआफ्नै साहित्यका कोटरी छन् । तिनमा प्रकाशित हुने उनीहरू नै हुन्छन् । यसको मतलब समकालीन साहित्य कमजोर छ भन्ने होइन । यसले नयाँ प्रवृत्तिहरू पनि ल्याएको छ । समयको माग अनुसारका नयाँ विषय आएका छन् । लैङ्गिकता प्रवेश गरेको छ, वर्तमान समस्या त्यसमार्फत आएका छन् । 

हिजोको शोषणको रूप र आजको शोषणको रूप नै फरक छ । तर हिजोका हरेक लेखकहरू उत्तिकै सशक्त थिए, अहिले त्यो चाहिँ छैन । दिनमै १०/१२ वटा किताब प्रकाशन हुन्छन्, पाठकलाई कसको कृति स्तरीय छ भनेर पहिल्याउन कठिन भएको छ । प्रतिस्पर्धा पनि धेरै भएको छ । धेरै प्रतिस्पर्धामा खरो उत्रिन अलि गाह्रो हुन्छ । अनि हतारिने प्रवृत्ति पनि हामीमा बढेको छ । अलिकति लेख्नासाथ जिन्दगी नै लेखनमा विताउनेको पनि एउटै मूल्याङ्कन छ, आज एउटा लेखेर रातारात मिडियाले चर्चा चलाइदिनेको पनि उही हुन्छ । 

भर्खरै पोखरामा १२ वटा संस्थाले एक साहित्यकारलाई एकै मञ्चबाट सम्मान गरेको छ । तर उहाँलाई मैले पढेकै छैन । उहाँ कुन स्तरको साहित्यकार हो मलाई थाहा छैन । यसले अहिलेका धेरै साहित्यकारहरूको प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ । 

तपाईंको भनाईको अर्थ पैसाको बलमा साहित्यकार बन्ने प्रवृत्ति हावी भएको हो ?

हो, अहिले पैसा भयो भने साहित्यकार भइहाल्ने प्रवृत्ति छ । एउटा सञ्चारमाध्यम आफ्नो भएपछि ठूलो साहित्यकार भइहाल्ने प्रवृत्ति छ । पैसा छ भने घोस्ट राइटिङ गराउने, धेरै पैसा खर्च गरेर ठूलाठूला होटलहरूमा विमोचन गरायो, स्पेस किनेर साञ्चारमाध्यममा प्रचार प्रसार गर्यो । त्यसपछि सबैको आँखामा प्रचार प्रसार गर्नेहरू मात्र पर्छन् । अनि साहित्यमै समर्पित साहित्यकारहरू ओझेलमा परेका छन् । विज्ञापनको प्रभाव साहित्य क्षेत्रमा धेरै परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप